नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीतिमा जंगबहादुर राणाको पालाको भन्दा पनि भद्दा भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौमा पार्टी निकटको पत्रिका विमोचन कार्यक्रममा बोल्दै महासचिव विप्लवले वर्तमान शासन व्यवस्थाबाट कोही पनि जनता सन्तुष्ट हुन नसकेको भन्दै वर्तमान शासन व्यवस्थालाई लुटेराहरूको व्यवस्थाको संज्ञा दिए । उनले अहिले दलहरुबीच आलोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिनेबाहेक अरु केही नभएको दावी समेत गरे । ‘राणा शासनमा जसरी आफ्ना भारदारहरुलाई रोलक्रम बाँड्थ्यो आज नेपालका संसदवादी पार्टीहरू, विदेशी साम्राज्यवादीका एजेण्टहरु रोलक्रम लगाउँदैछन्’, महासचिव विप्लवले भने, ‘६, ६ महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने र बेरुजु र अर्थतन्त्र तहसनहस पार्ने तर जनताप्रति उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ ।’
उनले यस्तो भद्दा मजाक कहिल्यै नदेखिएको भन्दै जनतालाई वाक्क दिक्क लागिसकेको बताए । वासिङटन, लण्डन र वर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको भन्दै मुठिभर मान्छेले मोजमस्ती उडाउने व्यवस्था भएको दावी गरे ।
‘तर यो नै लोकतन्त्र हो भनेर जबर्जस्त बन्दुक र बुटको बलमा शासन गर्ने र दमन गर्ने क्रम चलिरहेको छ नेपालमा । देश टाट पल्टिरहेको छ, महँगी आकासिएको छ । नागरिकहरुको जीवन सहज ढंगले चल्न सकेको छैन’, विप्लवको भनाइ छ । उनले विदेशी अतिक्रमणकारीहरुले देशमाथि हस्तक्षेप गरिरहेको भन्दै देशका प्राकृतिक श्रोत, जल, जडिबुटी र जमिनमाथि आँखा गाडिरहेको बताए ।
उनले अमेरिकाले एमसीसी नेपालको सहयोगको भावनाले नभइ नेपालका जनताको दुःखमा फाइदा उठाउने, लुट्ने साम्राज्यवादी नीति भएको बताए । उनले अर्बौ रकम विदेशतिर लाने क्रम चलिरहेको भन्दै यो बेलामा देशको रक्षा गर्ने सञ्चारमाध्यम चहिएको बताए ।
ratopati.com