गाउँमै उपचार हुन थालेपछि अछामको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । गम्भीरखाले बाहेक अन्य सबै रोगको उपचार गाउँमै हुन थालेपछि अवस्था सुध्रिएको हो । मंगलबार जिल्लाको स्वास्थ्य अवस्थाबारे समीक्षा गर्न सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा सहभागी दशवटै स्थानीय तहका प्रमुखहरूले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता कुनै पनि स्थानीय तहमा नरहेको दाबी गरे । उनीहरूले अप्रेसन गर्नुपर्ने र गम्भीर खालका बिरामीबाहेक अन्य सबै रोगीको स्थानीय स्वास्थ्य संस्थाबाट नै सफल उपचार भइरहेको बताएका छन् ।
दुई दिनसम्म चल्ने समीक्षामा दिगो विकास लक्ष्य, स्वास्थ्यका लागि संवैधानिक तथा नीतिगत व्यवस्थासहितका विभिन्न विषयमा छलफल गरेर जिल्लाभरका स्वास्थ्य संस्थामा प्रभावकारी उपचार उपलब्ध गराउनेबारे रणनीति तयार गरिने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए । उनले जनशक्ति अभावले पारेको असर, औषधि उपलब्धताको स्थिति, भौगोलिक विकटताले निम्त्याएका समस्या र त्यसको समाधान गर्न अपनाउन सकिने उपायहरू पनि रणनीतिमा समावेश गरिने बताए ।
छलफलमा जिल्लाका चार नगरपालिका र ६ वटै गाउँपालिकाका प्रमुख तथा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति छ । उनीहरूले हालसम्म आफ्नो पालिकामा देखिएका स्वास्थ्य क्षेत्रका जटिलता र त्यसको समाधानका लागि आवश्यक सामग्री, पूर्वाधार तथा जनशक्तिका बारेमा प्रदेश र केन्द्र सरकारसँग माग गर्नेगरी ठोस योजना निर्माण गर्नेछन् ।
जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ नेपाल बयलपाटा गरी जिल्लामा रहेका ८७ वटै स्वास्थ्य संस्था र सञ्चालनमा रहेका ६५ भन्दा बढी बर्थिङ सेन्टरको हालको अवस्थाबारे समीक्षा गरेर स्तरोन्नतिका लागि आवश्यक योजनासमेत निर्माण गर्ने लक्ष्यका साथ जिल्लास्तरको समीक्षा चलाइएको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले बताए ।
नामका लागि मात्रै योजना बनाएर हुँदैन
छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले नामका लागि मात्रै योजना निर्माण गरेर नहुने भन्दै योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताए । उनले विगतका कतिपय कार्यक्रम उपलब्धिहीन देखिएकाले अब नयाँ ढंगले सोच्नुपर्ने वेला आएको भन्दै स्वास्थ्य क्षेत्रमा भइरहेको सुधारलाई निरन्तरता दिनेमा जोड गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले संघीयता कार्यान्वयनपछि विगतभन्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार आएको भन्दै गुणस्तर खस्किन नदिन आफूहरूले पनि विशेष निगरानी गरिरहेको बताए ।
जिल्लामा औषधि उपलब्धताको अवस्थामा सुधार देखिए पनि दरबन्दीअनुसार चिकित्सक नहुनु र भौतिक संरचनासमेत आवश्यकता अनुसार सुधार नहुँदा अपेक्षित रूपमा उपचारमा सहजता आउन नसकेको स्वास्थ्यकर्मीहरूले गुनासो गरे । उनीहरूले हरेक स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका कर्मचारी उपलब्ध नहुँदासम्म उपचारमा सहज हुन नसक्ने बताए ।
नया पत्रिकामा यो समाचार अछाम बाट ध्रुव बीसी ले लेखेका छन्