एजेन्सी । देशद्रोहको मामिलामा पाकिस्तानका पूर्व सेनाध्यक्ष तथा राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाइएको थियो । बिहीबार विशेष अदालतको यस फैसलाको पूर्णपाठ आएको छ ।
१६७ पृष्ठ लामो यस फैसलामा सजायअघि यदि मुशर्रफको मृत्यु भयो भने पनि उनको शव घसिटेर ल्याउन र शवलाई तीन दिनसम्म फाँसीमा झुन्ड्याउन भनिएको छ ।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार अदालतको फैसलामा मुशर्रफको मृत्यु फाँसीको सजाय दिन अघि नै भयो भने उनको शवलाई इस्लामावादको डी चोकमा ल्याएर तीन दिन झुण्ड्याउन भनिएको छ ।
फैसलामा भनिएको छ, ‘हामीले अभियुक्तलाई हर एक अपराधमा दोषी पाएका छौँ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वाससम्म झुण्ड्याइयोस् ।’
‘यदी उनी यसभन्दा अघि मृत पाइए भने उनको शवलाई पाकिस्तानको राजधानी इस्लामावादको डी चोकमा ल्याएर त्यहाँ तीन दिनसम्म झुण्ड्याइयोस् ।’
![](https://ratopati.prixacdn.net/media/albums/parvez_sNRpbduALJ.jpg)
पाकिस्तानमा कुनै सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो अवसर हो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१ को बहुमतले यो फैसला सुनाएको थियो । यसमा पेशावर हाइकोर्टका चीफ जस्टिस वकार अहमद सेठ, सिंघ हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करीम थिए । फैसलामा मुशर्रफलाई साथ दिने र सुरक्षा दिने सबै यस ममिलामा बराबर भागिदार भएको पनि उल्लेख गरिएको छ ।
मुशर्रफले भने, ‘सुनवाइको शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरियो’
मुशर्रफले भने, ‘मैले टेलिभिजनमा आफ्नो विरुद्ध विशेष अदालतमा फैसला सुनेँ । वादी या उसको वकिललाई आफ्नो पक्षमा बहस गर्ने मौका दिइएन । यसअघि पाकिस्तानमा यस्तो कहिले पनि भएको थिएन । म यो फैसलालाई संदिग्ध मान्छु । सुनवाइको शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरियो ।’
उनले विशेष कमीशन दुबई आएर बायन लिए आफू बयान दिन तयार रहेको पनि बताए । उनले बयान दर्ज गर्नका लागि अनुरोध पनि गरेका थिए तर त्यसलाई अस्वीकार गरिएको थियो ।
७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।