काठमाडौं । आज पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती । सन्त नेताका रुपमा पनि परिचित भट्टराईको ९६ औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
भट्टराईको जन्म वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो । भट्टराई पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोरा हुन् ।
त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा अगुवा हुन पुगे । त्यहीँबाट भट्टराईमा ‘राजनीतिक चेत’ विकास भएको राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।
राजनीतिमा किशुनजीका रुपमा प्रख्यात भट्टराई सन् १९४२ को भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भए । त्यसबेला उनी पक्राउ परेका थिए । यसै क्रममा उनी सन् १९४५ मा बनारस हिन्दू विश्वविद्यालयस्थित नेपाल छात्र संघको उपाध्यक्ष भए ।
नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो ।
देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाको महामन्त्री भट्टराईले बनेका थिए । त्यस्तै उनले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए ।
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठन भयो । भट्टराई नेपाली कांग्रेसको सहमहामन्त्रीको बने ।
यिनले २००७ सालको सशस्त्र क्रान्तिमा भट्टराईले जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्ड गरेका थिए । भट्टराई प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भए ।
भट्टराई २०१६ सालमा प्रतिनिधि सभाको सभामुख भएका थिए । उनी नै प्रतिनिधि सभाको सभामुख बन्ने पहिलो व्यक्ति हुन् । यद्यपी उनी २०१५ को निर्वाचनमा भने पराजित भएका थिए ।
२०१७ पौष १ गते बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले १० वर्ष जेल जीवन विताए । उनी त्यसपछि पनि पटक–पटक जेल परेका थिए । भट्टराईले १४ वर्षभन्दा बढी समय जेल जीवन विताएका थिए ।
२०३४ मा सम्पन्न पटना सम्मेलनबाट भट्टराई नेपाली कांग्रेसको कार्यवाहक सभापति बने । बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यवाहक सभापति बने र करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा कांग्रेसको नेतृत्व गरे ।
उनी नेपाली कांग्रेसको आठौं महाधिवेशन (२०४८) बाट सर्वसम्मतिले सभापतिमा निर्वाचित भएका थिए । उनले २०५३ सम्म सभापतिका रुपमा पार्टीको नेतृत्व गरे ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि भट्टराई प्रधानमन्त्री बने । त्यसबखत उनकै नेतृत्वमा एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न भएको थियो । २०४८ को निर्वाचनमा भट्टराई पुनः पराजित भए ।
यसरी भट्टराईको परिचय नेपालको राजनीतिमा पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चातको पहिला प्रधानमन्त्रीका रुपमा स्थापित छ ।
२०५६ को आम निर्वाचनमा विजयी भएका भट्टराई पुनः प्रधानमन्त्री बने ।
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे ।
हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको उनका समकालीनहरुले टिप्पणी गर्ने गरेका छन् । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता भट्टराईमा थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
सरल जीवन व्यथित गर्ने भट्टराईलाई उनको आध्यात्मिक चिन्तनले थप लोकप्रिय बनायो ।
वि.सं. २०५८ मा नेपाली कांग्रेस विभाजित भएपछि भट्टराई चिन्तित बने । पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे । २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए ।
जनआन्दोलन २०६३ पछि तत्कालै राजा हटाउने पक्षमा नभएका भट्टराई गणतन्त्र स्थापनापछि भने यस विषयमा मौन बसे । कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भन्ने पक्षमा रहेका भट्टराईले राष्ट्रिय राजनीति आफूले अपेक्षा गरेअनुरुप नगएपछि सक्रियता त्यागेको कांग्रेसवृत्तमा चर्चा हुने गरेको छ ।
आजीवन अविवाहित रहेका भट्टराई बेलाबेलामा विवाहसम्बन्धी विषयलाई लिएर ठट्टा गरिरहन्थे । उनको यस्तो ठट्टा अहिले पनि चर्चाको विषय हुने गरेको छ ।
सादा जीवन विताएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे । २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र सुराही मात्र लिएर पैदलै निस्केका थिए । नेपालमा भट्टराईको उक्त छाता र सुराहीको बारम्बार चर्चा हुने गरेको छ ।
त्यसोः भट्टराई पान खान खुब मन पराउँथे । त्यसबखत उनले काठमाडौंको नयाँबानेश्वरको एक पसलबाट पान मगाएर खाने गर्दथे । उनको पानको प्रसँग पनि उनको जीवनीसँग जोडिने विषय हो ।
‘मेरो म’ नामको आत्मबृत्तान्त प्रकाशित गराएका भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति निधन भएको थियो ।