शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँ नजिकमा रहेको बैभवपूर्ण ताल फोक्सुण्डो समुद्र सतहदेखि ३६ सय ५० मिटरको उचाइमा अवस्थित छ। नेपालको सबैभन्दा गहिरो तथा नीलमर्णिजस्तै आफ्नो रुपलाई फेरिरहने यो तालको सफा स्वच्छ निर्मल पानीले सबैको मनलाई एकाग्रता बनाई दिने गर्छ।
पर्यटकीय महत्व बोकेको फोक्सुण्डो तालको महिमा र वर्णन पछिल्लो समयमा सञ्चारमाध्यममार्फत् देशविदेशमा हुन थालेपछि प्राकृतिक सुन्दरताको स्वाद पान गर्न लाखाैं खर्च गरेर बाहिरी पर्यटकहरू फोक्सुण्डो पुग्ने गरेकोमा अहिले आन्तरिक पर्यटकहरूको रोजाइमा समेत पर्न थालेको छ।
६ सय ५० मिटर गहिरो रहेको योे ताल नेपालकै गहिरो र विश्वकै एक बैभवशाली ताल हो, फोक्सुण्डो। तालको सुन्दरता र प्राकृतिक मनोरम छटाले फोक्सुण्डो तालमा पुग्ने जोकोहीलाई प्राकृतिक आनन्दमा मोहित बनाउने गर्छ।
प्रचारप्रसार अभावमा ओझेलमा परेर पनि प्रशस्तै पर्यटकीय सम्भावना बोकेको प्राकृतिक संग्राहलयको रूपमा आफूलाई स्थापित बनाउँदै लगेकाले होला, पहिलो पटक आफ्नै आँगनमा देशका पत्रकार, कवि, लेखक, साहित्यकार र चित्रकारलाई उतार्न सफल बन्यो फोक्सुण्डो ताल।
फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले कन्सेप्ट नेपालले हालैमात्र पहिलो पटक फोक्सुण्डो तालका लागि आयोजना गरेको फोक्सुण्डो काव्य यात्राका क्रममा फोक्सुण्डो तालमा पुगेका कवि दीपेन्द्रसिंह थापाले प्राकृतिक सुन्दरताको महिमागान सुनेर र टेलिभिजनमा देखेर यसको स्वादपान गर्न आफू डोल्पा आएको बताए।
पर्यटकीय महत्व बोकेको फोक्सुण्डो तालको महिमा र वर्णन पछिल्लो समयमा सञ्चारमाध्यममार्फत् देशविदेशमा हुन थालेपछि प्राकृतिक सुन्दरताको स्वाद पान गर्न लाखाैं खर्च गरेर बाहिरी पर्यटकहरू फोक्सुण्डो पुग्ने गरेकोमा अहिले आन्तरिक पर्यटकहरूको रोजाइमा समेत पर्न थालेको छ।
फोक्सुण्डो हेर्न र भौगोलिक विकटताबीचको प्राकृतिक सौन्दर्यताको स्वादपान गर्न बर्सेनि दुई हजार आठ सय ५० को संख्यामा विदेशी पर्यटक आउने गर्छन्। पछिल्लो समय फोक्सुण्डोलगायत श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिर, विश्वको अग्लो मानव बस्ती धो उपत्यका,शे गुम्बा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको जैविक विविधता हेर्न आन्तरिक पर्यटकहरू आउने क्रम सुरु भएको छ।
पछिल्लो समय फोक्सुण्डो ताल हेर्न र डोल्पा बुझ्नका लागि आन्तरिक पर्यटकहरू कति पुग्छन् भन्ने यकिन तथ्यांक छैन। यद्यपि २०७५ मंसिर ४ मा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै गएको आर्थिक वर्षमा १५ सयको हाराहारीमा आन्तरिक पर्यटकहरू फोक्सुण्डो पुगेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।
यसै गरी फोक्सुण्डोको मनमोहक दृश्यलाई बेलायतमा बसेर टेलिभिजनको पर्दामा हेरेका तर, डोल्पाको भूमि नटेकेका नेपालका अर्पण माङ्मुले पनि फोक्सुण्डोको आँगन टेके। पहिलो पटक फोक्सुण्डोको समिपमा पुगेका माङ्मुले फोक्सुण्डो साँच्चिकै सुन्दर रहेको बताए।
वातावरण विज्ञसमेत रहेका उनले फोक्सुण्डो पुगेर एकैदिन फर्कने योजना बनाएका थिए। तर, नीलमणि तालको रुपले गर्दा हेरिरहुँ लागिरहेकाले थप एक दिनको बसाइँ लम्ब्याएर प्राकृतिक स्वाद पान गरेर फर्केको बताए।
फोक्सुण्डो हेर्न आउने आन्तरिक पर्यटकहरू स्थानीय आम्दानीको स्रोत बन्ने गरेका छन्। फोक्सुण्डोको हिमालयन होटलका सञ्चालक निमा लामा आन्तरिक पर्यटकहरू आएपछि होटलमा बस्ने खानपान गर्ने गरेकाले आम्दानी हुने गरेको तर, विदेशीहरूले सबै बाहिरबाटै ल्याउने गरेकाले आफ्नो व्यापार केही नहुने बताए।
![](https://nagariknews.nagariknetwork.com/uploads/news_images/5d381cba6dd56.JPG)