सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले छुट्याएको बजेटले महाकाली अस्पतालले खरिद गरेका उपकरण पुराना मोडल र खिइएका परेको पाइएको छ । कोरोना भाइरस (कोडिभ– १९) रोकथामका लागि मन्त्रालयले महाकाली अस्पतालको आइसियू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिदका लागि गत ११ चैतमा एक करोड रुपैयाँ बजेट दिएको थियो ।
सोही बजेटबाट अस्पतालले ५५ लाख अनुमानित बजेटमा भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो ।
आरजीले भ्याटबिनै पाँच उपकरण लागि ५३ लाख ८७ हजारमा सामान सप्लाई गरेको थियो । अनुमानित बजेटभन्दा एक लाख ३० हजार कम मूल्यमै सामान खरिदका लागि ठेक्का सदर भएको थियो । आरजीले भेन्टिलेटर २६ लाख ३९ हजार, पेसेन्ट मोनिटर दुई थान आठ लाख ७८ हजार, ग्यास एनालाइजर ११ लाख ९० हजार र ब्रिलेटर ६ लाख ८० हजारमा खरिद गरेर अस्पतालमा दिएको थियो ।
आरजी सप्लायर्सले अस्पतालमा प्रयोग भएका, सन् २०१५ (पुराना) मेडेलका, खिइएका उपकरण दिएको छ । आरजीकै ठेक्का सदर भएकाले महाकाली अस्पताल प्रशासनले सप्लायर्सलाई २८ चैतमा तीन दिनभित्र सम्झौता गर्न पत्र पठाए पनि कम्पनीले दुई दिनभित्र पुराना सामान पठायो, तर सम्झौता गरेन । कम्पनीले सम्झौताबिनै प्रयोग गरिएका सामान अस्पतालमा पुऱ्याएको भन्दै महाकाली अस्पतालले स्वीकार नगर्ने जनाएको छ । महाकाली अस्पतालका निमित्त मेडिकल मेसु डा. हरिकुमार श्रेष्ठले सामान पुरानो, खिइएको भएकाले स्वीकार गर्न नसकिने बताए । ‘एउटा स्टेनमा पूरै खिइएको छ,’ श्रेष्ठले भने, ‘यस्तो सामान हामी स्वीकार गर्दैनौँ ।’ उनले आएका सामान जडान गरेर बिरामीको उपचार गर्न नसकिने बताए ।
महाकाली अस्पतालका सदस्य कृष्णानन्द भट्टले गुणस्तरहीन, पुराना र खिइएका उपकरण दिने कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने बताए । उनले कोरोना महामारीका वेला अस्पताललाई ठगेको बताए । संयुक्त छानबिन टोली बनाएर महामारीको समयमा प्रयोग भएका सामान दिने कम्पनीमाथि छानबिन हुनुपर्ने माग राखे ।
‘यतिसम्म बदमासी गर्ने कम्पनीमाथि छानबिनका लागि माथिल्लो निकायमा पत्राचार गर्छौं,’ अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘छानबिन समिति बनाएरै भए पनि सामान पुरानो दिएको विषयमा सत्यतथ्य पहिचान गर्छौं ।’
अस्पतालमा स्वास्थ्य उपकरण सप्लार्यसको जिम्मा पाएका आरजी सप्लायर्स प्रालिका सञ्चालक ज्ञानशंकर देवले कोटेसनबाट कम्पनी छनेट भएपछि काठमाडाैंको हस्पिटेकबाट सामान खरिद गरेर अस्पतालमा पठाएको बताए । ‘हामीले सामान हेरेका छैनौँ,’ उनले भने, ‘२८ चैतमा काठमाडौंबाट सामान किनेर त्यता पठाएको हुँ ।’ सामान मन पर्छ कि पर्दैन भनेर सम्झौतासमेत नगरेको उनले बताए । लकडाउनका कारण खरिद गरेको गोदाममा रहेको सामान हेर्न नपाएको र सम्झौता गर्नसमेत नभ्याएको उनले बताए । सामान चित्त बुझे मात्रै सम्झौता गर्ने उनको भनाइ छ ।nayapatrikadaily.com बाट