काठमाडौं । नेपालका दिनहुँ कोरोना भाइरसको संक्रमित थपिँदै गएका छन् । सोमबारसम्म ३१ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ३१ जिल्लामा कोरोना फैलिँदा संक्रमितको संख्या ३५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जिल्ला पर्सा हो । पर्सामा ९१ जनामा संक्रमण देखिएको छ । यसपछि बाँकेमा ८१ र कपिलवस्तुमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुन जिल्लामा कति संक्रमित मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा २, भोजपुरमा १, धनकुटामा १ र मोरङमा तीनजनाका कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये उदयपुरका १४ र झापाका २ जना निको भएर घर फर्किएका छन् । यस्तै, प्रदेश २ को धनुषामा ७, पर्सामा ९१, बारामा ४, महोत्तरीमा ३, रौतहटमा २२, सप्तरीमा १, सिरहामा १ र सर्लाहीमा ३ जना कोरोना संक्रमित रहेका छन् । प्रदेश २ का संक्रमितमध्ये धनुषाका १, पर्साका ३ र रौतहटका १ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेका काठमाडौंमा ७, काभ्रेपलाञ्चोक १, सिन्धुपाल्चोक १, भक्तपुर २, चितवन ३, धादिङ ३ र मकवानपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस प्रदेशको काठमाडौंका ३, चितवनका २ र धादिङका १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने सिन्धुपाल्चोककी महिला संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको बाग्लुङमा २ र पूर्वी नवलपरासीमा १ जनामा संक्रमण देखिएको छ । तीमध्ये बाग्लुङका दुवै बिरामी डिस्चार्ज भइसकेका छन् । यस्तै, प्रदेश नम्बर ५ को पूर्व नवलपरासीमा १, बर्दियामा २, दाङमा ४, गुल्मीमा १, बाँकेमा ८१, रुपन्देहीमा २८ र कपिलवस्तुमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यस प्रदेशका १५९ संक्रमितमध्ये रुपन्देहीका एकजना मात्र निको भएका छन् भने बाँकेका एकजनाको मृत्यु भएको छ । यस्तै, सुदूरपश्चिमको कञ्चनपुरमा १ र कैलालीमा ४ जनामा संक्रमित फेला परको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस प्रदेशका पाँचजना बिरामी नै निको भएर घर फर्किसकेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित फेला परेको छैन ।