काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ ।
पम्पियोले नेपालको भ्रमण नगरे पनि यी विकसित घटनाक्रमले नेपाललाई पनि पक्कै प्रभाव पार्नेछ ।
अमेरिकी निर्वाचनको पूर्वसन्ध्यामा यी घट्नाक्रम विकसित भएका छन् । तर, डोनाल्ड ट्रम्प वा जो बाइडेन जसले जिते पनि अमेरिकाको एसिया प्रशान्त रणनीतिमा परिवर्तन आउने छैन र आगामी दिनमा यस क्षेत्रमा अमेरिका–चीन द्वन्द्व झनै बढ्ने छ ।
पम्पियोको एसिया भ्रमण र उनको अभिव्यक्तिप्रति चीनले आक्रामक प्रतिक्रिया दिएको छ । तर, भारतको सम्बन्धमा भने उसले निकै होसियारीपूर्वक प्रतिक्रिया दिएको छ । भारतीय अधिकारीहरुले भने चीन लक्षित अभिव्यक्ति दिएका छैनन् । अनि पछिल्ला दिनहरुमा भारत–चीन सीमा पनि तुलनात्मक रुपमा शान्त छ ।
बाराक ओबामा प्रशासनले एसियालाई विशेष महत्व दिँदैं ‘पिभोट एसिया’को नीति अगाडि सारेको थियो । डोनाल्ड ट्रम्पले पनि त्यसलाई निरन्तरता दिएका छन् । तर, उनले त्यसलाई इन्डोप्यासिफिक रणनीति नामकरण गरे ।
अगाडि नै शक्तिराष्ट्रहरुवीचको सन्तुलित सम्बन्ध कायम राख्नका लागि संघर्ष गरिरहेका दक्षिण एसियाली साना मुलुकका लागि आगामी दिनहरु निकै कठिन चुनौतीपूर्ण हुने देखिन्छ
फेरि एसिया नीतिको नाम र फर्म जे पनि हुन सक्ला । तर, नयाँ प्रशासनको मुख्य विषयवस्तु चाहिँ एसियामा चीनको प्रभाव कम गर्न सम्भव भएसम्म सबै उपायहरुको अवलम्वन गर्नु हुनेछ ।
चुनावी अभियानका उनका सल्लाहकारको अभिव्यक्तिलाई आधार मान्ने हो भने बाइडेन पनि चीनप्रति कडा नीति नै अख्तियार गर्ने छन् । ट्रम्पको परराष्ट्र नीति ढुलमुले र अस्पष्ट देखिन्छ । तर, बाइडेन आएमा स्पष्ट र दीर्घकालीन लक्ष्यसहित आउने देखिन्छ किनभने, उनीसँग अमेरिकी विदेश नीति सञ्चालनको लामो अनुभव छ ।
अमेरिकाले एसिया प्रशान्त क्षेत्र र चीनप्रति लिने नीतिले नेपाल लगायत दक्षिण एसियाका साना मुलुकलाई प्रत्यक्ष प्रभाव पार्नेछ ।
यति मात्र होइन, यी मुलुकमा चीनको प्रभावलाई कम गर्नका लागि भारत र अमेरिका एकै ठाउँमा आउने संकेतहरु समेत देखिएको छ । यी मुलुकलाई भारतले पहिलादेखि नै आफ्नो ‘प्रभाव क्षेत्रको रुपमा लिएको छ र चीनको बढ्दो प्रभाव उसको लागि टाउको दुखाइएको विषय भएको हो । आफू एक्लैले चीनको प्रभावलाई कम गर्न नसकिने निष्कर्षमा भारत पुगिसकेको छ ।
भारत र अमेरिकाको वीचमा अहिले नै ठोस एलाइन्स नै बन्ने सम्भावना कम रहेको छ । तर, केही निश्चित एजेण्डामा दुई मुलुक एक ठाउँमा उभिने अवस्था देखिँदैछ । अनलाइनखबर बाट