सोलुखुम्बु । सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।
मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको र त्यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए।
‘यो घटना के कति कारणले घट्यो भनेर रिपोर्ट ल्याइकन भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन भनी समिति गठन गरिएको छ,’ भेटुवालले सेतोपाटीसँग भने।
आइतबार अपराह्न आयोजनामा कार्यरत् इन्जिनियर धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर-२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो।
आयोजनाको पाइपलाइन परीक्षण गर्ने क्रममा अगाडिको वल्डिङ विस्फोट भएर थापा र रेग्मीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ। ‘पाइपलाइनले पानीको प्रेसर थेग्छ वा थेग्दैन भनी परीक्षण गर्ने क्रममा विस्फोट भएको कुरा आएको छ,’ भेटुवालले भने, ‘समितिले रिपोर्ट नल्याइकन यही हो भन्न सकिएन।’
तर, मापदण्डअनुसार पाइपलाइन बने नबनेको र पानी परीक्षणभन्दा अगाडि पाइपलाइन के कस्तो छ जाँच गरिएको नगरिएको, सुरक्षा मापदण्ड अपनाएको छ छैन सबै विषयमा समितिले काम गर्ने भेटुवालले बताए।
इन्जिनियरहरूको नियामक निकाय नेपाल इन्जिनियरिङ परिषदले भने यो घटनाको सत्यतथ्यबारे बुझ्ने काम भइरहेको बताएको छ।
‘मैले ऊर्जा मन्त्रालयसहित हाइड्रो क्षेत्रका विज्ञहरूलाई छलफलमा बोलाएको छु,’ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले भने, ‘लापरबाहीको कुरा आएको छ, त्यहाँ अरू धेरै कुरा हुनसक्छन्।’
निरौलाले परिषदको आचारसंहिता अनुसार इन्जिनियरहरूलाई काम लगाइएको नलगाइएकोबारे परिषदले मन्त्रालयलाई सोध्ने बताए।
‘के कस्तो सुरक्षा मापदण्डमा काम लगाइएको हो त्यो खोजी गरिन्छ,’ उनले भने।
नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्जले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति दिलाउन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन माग गरेको बताए।
‘हामीले परिषदसँग कुरा गरेका छौं,’ बज्राचार्यले भने। सेतोपाटी बाट