डोटी l जापान कराते डो. कोशीकाई सितोरियो संघ डोटीको अध्यक्षमा प्रिन्स नेपाली चयन भएका छन् । विहिबार बसेको केन्द्रीय समितिको बैठकबाट डोटी जिल्ला समिति गठन गरि नेपालीलाई अध्यक्ष चुनियको जिल्ला खेलकुद विकास समिती डोटीका कार्यालय प्रमुख हर्क बहादुर बोगटीले जानकारी दिए ।
जापान कराते डो. कोशीकाई सितोरियो संघ नेपालका केन्द्रिय कराते प्रमुख तथा महासचिव सिहान अभषेक सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले उपाध्यक्षमा ईन्दु विष्ट, दिपक बोहरा, नवराज नेपालीलाई चयन गरेको छ । त्यस्तै सचिवमा मोहन बहादुर धामी, उपसचिबमा रुपेश श्रेष्ठ, कोषाध्यक्षमा शुनिल नेपाली र अन्य सदस्यहरु चयन गरेको छ ।
जापानी शैलीको प्रतिरक्षात्मक कला मानिने सितोरियो करातेले डोटी जिल्लाको खेल क्षेत्रमा पनि ठुलो योगदान दिईरहेको कार्यक्रमका प्रमुख अतिथी दिपायल सिलगढी नगरपालीका वडा नं ६ का नवनिर्वाचित अध्यक्ष नरेश मलासीले बताए । नयाँ चयन भएका अध्यक्ष नेपालीले भाविदिनमा करातेको विकास र विस्तारमा उत्कृष्ठ काम गर्न सक्ने विस्वास रहेको जिकिर गरे ।
डोटी जिल्लाको खेलकुदकै प्रतिष्ठीत मानिने सितोरियो करातेले लामो समयदेखि बालबालीका तथा युवा जमातलाई खेल प्रति आकषित गर्दैआएको छ । कराते केवल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरको खेल भएकाले हरेक खेलाडीको भविष्य पनि जोडिएको कार्यक्रमका अध्यक्ष अभिषेक सिंहले बताए ।
डोटी जिल्लामा करातेप्रति किशोर मात्र नभई पछिल्लो समयमा किशोरीहरुको पनि आकर्षण बढ्दो देखिएको छ । करातेले विशेषगरी आफुमाथि कसैले आक्रमण गर्न खोजे त्यसको प्रतिरक्षा गर्ने सिप सिकाउने भएकाले किशोरीहरुका लागि यो अति आवश्यक भएको अध्यक्ष प्रिन्स नेपालीले बताए । साथै आफ्नो कार्यकालमा डोटी जिल्लामा खेल क्षेत्रको विकासका लागि निरन्तर लागि रहने उनले प्रतिवद्धता समेत जनाए ।