सुदूरपश्चिम प्रदेशको डोटी, जोरायल गाउँपालिकाबाट पोखरा आइपुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेका छन् ।
जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँबासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा आइपुगेका हुन् ।
टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै अग्रज तथा ज्येष्ठ नागरिकहरु जय बहादुर हमाल, मान बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरु जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरु, वडाका सदस्यहरु, शाखा प्रमुखहरु, वडाका सचिवहरु, ईञ्जिनियर लगायतका कर्मचारी सहभागी थिए ।
उक्त अवसरमा अध्यक्ष ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदुरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए ।
सम्बोधनका क्रममा भावुक बनेका ओझाले लामो राजनीतिक योगदानको कदरस्वरुप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरे ।
उपाध्यक्ष बोहराले बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताइन् ।
प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँबासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताए ।