सुदूरपश्चिम प्रदेशको डोटी, जोरायल गाउँपालिकाबाट पोखरा आइपुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेका छन् ।
GIZ/GRAPE परियोजनाको आर्थिक सहयोगमा जलवायु उत्थानशिलता कृषि विधिहरु सम्बन्धी अध्यन गर्न जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँबासी लगायत सरोकारवालाहरु कृषि अवलोकन भ्रमणका क्रममा पोखरा आइपुगेको अवसरमा सो भेटघाट भएको हो।
उक्त अवसरमा जोरायल गाउपालिका अध्यक्ष दुर्गादत्त ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदुरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए ,साथै पालिका अध्यक्ष ओझाले जोरायल गाउपालिकामा यहि चैत्र २८ गतेदेखी हुन गैरहेको जोरायल महोत्सवमा महोत्सव उद्घाटनका लागि प्रदेश प्रमुख डिल्लिराज भट्ट लाई निमन्त्रणा समेत गरेका छ्न। सम्बोधनका क्रममा भावुक बनेका ओझाले लामो राजनीतिक योगदानको कदरस्वरुप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरे ।
उपाध्यक्ष बोहराले बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताइन् ।
प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँबासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै अग्रज तथा ज्येष्ठ नागरिकहरु जय बहादुर हमाल, मान बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरु जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु, वडाका सचिवहरु, कर्मचारी,कृषक लगायतका को सहभागीता थियो ।