भूगोलले बलिदान गर्दैन, तर भूगोललाई आधार मानेर बलिदानको सौन्दर्यशास्त्रलाई स्थापित गर्ने प्रचलन सबैतिर सघन छ । यस्तो प्रयत्न प्रगतिवाद वा माक्र्सवादसँग मेल खान्छ/खाँदैन खासै छलफल भएको पाइँदैन । हाम्रो फलानो भूगोलले गरेको बलिदान भनेर भट्याउने, त्यस बलिदानको मर्मअनुसार आफूले नसोच्ने, तर त्यसको ब्याज खाने प्रतिस्पर्धा हिजोआज निकै फस्टाएको छ । यसै मेसोमा, नेपालको राजनीतिक इतिहास र खासगरी जनयुद्धका क्रममा गोरखा जिल्लाको महत्वपूर्ण योगदान छ ।
नेपालको राजनीतिक इतिहासका पहिलो सहिद लखन थापा र जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको बलिदानसँग गोरखाको नाम जोडिएको छ । त्यस्तै, जनयुद्धमा नेतृत्वको माथिल्लो तहबाट भएको बलिदानसँग सुरेश वाग्ले (कमरेड वासु– २३ भदौ, ०५६) र गोरखा सँगसँगै जोडिएर आउँछन् । जनयुद्धमा भएका यस्ता अतुलनीय बलिदानका घटना संस्थागत भएर भावी पुस्ताबीचमा पु¥याउने काम जसरी हुनुपर्ने हो, त्यसरी हुन सकिरहेको छैन । यसको एउटै कारण बलिदानलाई बुझ्ने वर्गीय दृष्टिकोण र वर्गपक्षधरतामा स्वयं वर्गीय आन्दोलनको नेतृत्व गरेको शक्तिभित्र जन्मिएको स्खलन हो ।
त्यो युगको सर्वश्रेष्ठ चेतनाको प्रतिविम्ब सहिद (बेपत्ता योद्धासमेत) हुन् । सहिदको सामान्य परिभाषा, देश र जनताको सुखको निम्ति संघर्षमा लाग्दा ज्यान गुमाउने योद्धा भन्ने बुझिन्छ । विशिष्टतामा वर्गीय मुक्ति आन्दोलनमा सचेततापूर्वक सहभागी योद्धा, जसलाई राज्यले कानुन कार्यान्वयनको नाममा हत्या ग¥यो, त्यस्ता योद्धालाई सहिद भनिन्छ । यस अर्थमा सहिद वर्गीय हुन्छ ।
आजसम्म आइपुग्दा को खास सहिद हो र को होइन भन्ने वर्गीय दृष्टिकोण धुमिल बनेको आभास हुँदै छ । सहिदगेट यसको एउटा ज्वलन्त उदाहरण हो ।जनयुद्धको बलमा गठित गणतान्त्रिक सरकारले जनयुद्धको बलिदानलाई कानुनी र भावनात्मक रूपमा स्विकारेको छैन । सहिदलाई सम्मान गर्ने र त्यही मार्गमा हिँड्ने कार्य दिन–प्रतिदिन फितलो बन्दै गएको छ ।
अर्को गम्भीर पाटो, जनयुद्धकालमा मारिएका प्रहरी र सेनालाई आज सहिद मान्ने कि नमान्ने भन्ने गम्भीर प्रश्न राजनीतिक वृत्तमा उठ्दै गर्दा जनयुद्धको नेतृत्व गरेको पार्टीसहित एकता भएर बनेको नेकपाको सरकारले त्यतिवेला मारिएका प्रहरी र सेनालाई सहिद घोषणा गरेको छ । तर, तत्कालीन राज्यको तर्फबाट मारिएका माओवादी नेता, कार्यकर्ता र समर्थकलाई सहिद घोषणा गर्न नमान्नु कम्ती मजाकको विषय होइन ।
वाग्लेको जन्म ०१० भदौ १० मा गोरखाको आँपपिपल रातडाँडा (हाल पालुङटार नगरपालिका)मा भएको हो । बुबा भोजराज वाग्ले र आमा दुर्गादेवी वाग्लेका सात सन्तानमध्ये दोस्रो सन्तान र जेठो पुत्र हुनुहुन्थ्यो, उहाँ । सर्वसाधारणको पहुँचमा शिक्षा नभएको त्यो समय, त्यसमाथि गरिब किसान परिवार । शारीरिक रूपमा कमजोर सुरेश वाग्ले क्षमतामा भने तीक्ष्ण हुनुहुन्थ्यो । ०२४ मा काठमाडौंको रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयमा भर्ना भएर उहाँले मध्यमा (कक्षा ८) सम्मको शिक्षा लिनुभयो ।
संस्कृत छात्रावासमा बसेर वाल्मीकि क्याम्पसबाट ०२८मा उत्तरमध्यमा र ०३०मा शास्त्री (स्नातक) तहको शिक्षा पूरा गर्नुभयो । त्यसपछि उहाँ शिक्षण पेसामा प्रवेश गर्नुभयो । वाग्ले अध्ययनका लागि काठमाडौं गएपछि वाम विचारको सम्पर्कमा पुगेको देखिन्छ ।
वाल्मीकि क्याम्पस पढ्न थालेपछि वाम विद्यार्थी संगठनमा सक्रिय हुन थाल्नुभयो । विद्यार्थी आन्दोलनमा सक्रियतासँगै माक्र्सवादी साहित्य अध्ययन गर्न सुरु गर्नुभयो । शिक्षण पेसाका दौरान उहाँ जहाँ–जहाँ जानुभयो, त्यहाँ पार्टी निर्माणमा निरन्तर जुट्नुभयो । शिक्षक संगठनमार्फत उहाँको राष्ट्रिय व्यक्तित्व बनिसकेको देखेपछि ०४१ मा पञ्चले शिक्षक संगठनको सदस्यता त्याग गरे स्थायी शिक्षक बनाइदिने वचन दिए । तर, उहाँले प्रस्ताव अस्वीकार गर्नुभयो ।
उहाँले ०३४ मा कम्युनिस्ट पार्टीको सदस्यता मोहनविक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठले नेतृत्व गरेको तत्कालीन नेकपा (चौथो महाधिवेशन)मार्फत लिनुभएको थियो । ०४७ बाट उहाँ पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभयो । त्यसलगत्तै ०४८ मा तत्कालीन नेकपा (एकता केन्द्र) गोरखा जिल्लाको सचिवको जिम्मेवारीमा पुग्नुभयो । जनयुद्ध तयारीसँगै चलेको ग्रामीण वर्गसंघर्ष, जनयुद्धको थालनी र विकास प्रक्रियामा उहाँले गोरखा जिल्लामा मुख्य नेताको भूमिका कुशलतापूर्वक सम्पादन गर्नुभयो ।
०५५ भदौबाट पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्यको जिम्मेवारीमा पुग्नुभएका वाग्ले त्यही भूमिकामा क्रियाशील हुँदै गर्दा सहादत भयो । पार्टीभित्रको विचार संघर्षमा उहाँ जहिल्यै क्रान्तिकारी लाइनमा उभिनुभयो, तर विचार संघर्षलाई मित्रवत् बनाउन उहाँको सचेत प्रयत्न निरन्तर रहन्थ्यो ।
जनयुद्धको नेतृत्व गरेको पार्टीसहित एकता भएर बनेको नेकपा सरकारले त्यतिवेला मारिएका प्रहरी र सेनालाई सहिद घोषणा गरेको छ, तर तत्कालीन राज्यबाट मारिएका माओवादी नेता, कार्यकर्ता र समर्थकलाई सहिद घोषणा गर्न नमान्नु कम्ती मजाकको विषय होइन
पार्टीभित्र लाइन संघर्ष चल्दा वाम र दक्षिण कोणबाट विषयलाई अनावश्यक तन्काउने र आन्दोलनलाई कमजोर बनाउने प्रवृत्तिसमेत देखिन्थे । त्यस्तो वेला सन्तुलित, तर क्रान्तिकारी नेता आवश्यक हुन्थ्यो । जुन भूमिका वाग्लेले निर्वाह गर्नुभएको थियो । उहाँले नेपाली समाजको विश्लेषण, माक्र्सवादको नेपाली वर्गसंघर्षमा मौलिक प्रयोग, पार्टी निर्माण सम्बन्धमा थुप्रै लेख लेख्नुभयो ।
०५६ साउनमा बसेको पार्टी केन्द्रको बैठक, त्यसले बनाएको जनयुद्धको पाँचौँ योजना र ‘आधार इलाका निर्माणको महान् दिशामा अघि बढौँ’ भन्ने नारा कार्यान्वयन गर्ने सन्दर्भ थियो । त्यसैका लागि गोरखा पार्टीको लामो र पेचिलो बैठक भुङ्लीचोकमा सम्पन्न भयो । आधार इलाकाको सुरक्षाका लागि सैन्य संरचना विकास गर्ने लक्ष्यअनुरूप मध्य क्षेत्रमा प्लाटुन निर्माणको निर्णय भएको थियो, जसको कमान्डर भीमसेन पोख्रेललाई बनाउने निर्णय भएको थियो ।
प्लाटुन घोषणा कार्यक्रम छोप्राकमा निश्चित गरिएकाले नेता र कार्यकर्ता भुङ्लीचोकबाट छोप्राकतिर हिँडेका थिए । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दैै साना टुकडी बनाएर अघि बढ्ने क्रममा सुरेश वाग्ले, प्लाटुन कमान्डर भीमसेन पोख्रेल र चिजा गर्तौला एउटा टुकडीमा थिए । नयाँ साँघु हुँदै बाँसपुरको उकालो हिँड्दै गर्दा प्रहरीको घेरामा उहाँको टोली प-यो ।
अघिल्लो दिन साँझ नयाँ साँघु बजारनजिकै वास बसेको त्यहाँ भएको टेलिफोनमार्फत हर्मी प्रहरीलाई सूचना भएको देखिन्छ । त्यो इलाकालाई राति नै प्रहरी आएर घेरा कसेको उहाँले पत्तो पाउनुभएन । बर्खा याम र कुहिरो लाग्नु, वाग्लेको कमजोर शारीरिक अवस्था र स्वास्थ्यमा देखिएको समस्या र टेलिफोन भएको बजारनजिक वास बस्नु यात्राका प्रतिकूलता भए, जसले हत्याकाण्ड निम्त्यायो । चिजा घेरा तोडेर भाग्न सफल भइन् ।
भीमसेन पनि भाग्न सक्ने पूरै सम्भावना थियो । वाग्लेले भीमसेनलाई पटक–पटक भाग्न भन्नुभयो । ‘नेताको सुरक्षाका लागि आएको मान्छे, नेतालाई छाडेर कसरी एक्लै भाग्नू’ भन्दै दुवैजनाले घेरा तोड्ने कोसिस भयो, तर दुवैजना प्रहरीको कब्जामा पर्नुभयो । सुरुमै प्रहरीले भीमसेनलाई गोली हानेर हत्या ग¥यो । सुरेशलाई कब्जामा लिएपछि आत्मसमर्पण गर्न भनियो । आत्मसमर्पण गर्न नमानेपछि गोली हानेर उहाँको पनि हत्या गरियो ।
जनयुद्धमा सहिद भएका योद्धाको बलिदानलाई संस्थागत गर्ने उद्देश्यले देशैभरि प्रतिष्ठान स्थापना भएका छन्, तर तिनीहरूको उद्देश्यकेन्द्रित परिचालन समस्याग्रस्त देखिन्छ । वाग्लेको नाममा पनि सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपाल स्थापना भएको छ ।
उहाँकै जन्मथलो आँपपिपल रातडाँडामा रहेको घरलाई केन्द्र बजाएर ४२ रोपनी जग्गा प्रतिष्ठानले आफ्नो नाममा लिएको छ । त्यहाँ दुईतले पक्की भवन बनेको छ र त्यहाँ सानो पुुस्तकालय पनि सञ्चालनमा छ । सुरेश वाग्लेलगायत सबै सहिद, मुख्यतः गोरखा जिल्लाका सहिदको योगदान र बलिदानलाई संस्थागत गर्ने, माक्र्सवाद र वर्गसंघर्षको विचारलाई भोलिको पुस्ता बीचमा हस्तान्तरण गर्न स्कुलिङ चलाउने, सहिदका रचना संकलन र प्रकाशन गर्ने एवं भावी पुस्तासम्म सहिदलाई जीवित राख्ने उद्देश्य प्रतिष्ठानले राखेको छ । तर, यति पर्याप्त होजस्तो लाग्दैन । नया पत्रिका बाट सभार