डोटीको जोरायल गाउँपालिकाका विभिन्न वडा बाट यस बर्ष करिब ४ सय क्विन्टल लसुन निर्यात भएको छ । गाउँपलिकाका १,३ र ४ नम्बर वडाका विभिन्न टोलबाट ४५ लाख रुपयाँ बराबरको लसुन जिल्ला बाहिर निर्यात भएको हो । विभिन्न ब्यापारीहरुले गाउँघरमै आएर लसुन खरिद गरेर लगेको किसानहरुले बताएका छन् । लसुन बिक्रिबाट यो वर्ष करिब ४५ लाख बढी रुपैंया गाउँपालिकामा भित्रिएको छ । गत बर्ष भन्दा यो बर्ष किसानहरुले लसुनको बजार र मुल्य राम्रो पाएका छन् । किसानकै घरबारीमा ब्यापारीहरु आएर प्रति किलो रु १ सय १० देखि १ सय २० सम्ममा खरिद गरेर लगेकाछन।
यस बर्ष गाउँपालिकाका विभिन्न वडाका किसानले कम्तिमा ५० किलो देखि बढिमा ६ क्लिन्टल सम्म लसुन उत्पादन तथा बिक्रि गरेकाछन् । जोरायल गाउँपालिका ३ का किसान बेदप्रशाद अवस्थिले गत बर्ष २ क्विन्टल लसुन उत्पादन गरेकोमा यस बर्ष ३ गुणा बढि अर्थात ६ क्विन्टल लसुन उत्पादन गरेको र बिक्रीबाट ७० हजार आम्दानी भएको बताउनुभयो । जोरायल गाउँपालिका कृषि विकास साखाका नायव प्राबिधिक सहायक चन्द्र बहादुर शार्किले गत वर्षको तुलनामा यो वर्ष गाउँपलिकामा लसुनको उत्पादन र बजार भाउ राम्रो भएको बताउनुभयो । गत वर्षको तुलनामा यस बर्ष गाउँपालिका भरिमा करिव १५० क्विन्टल बढी लसुन उत्पादन भएको प्राबिधिक साहयक शार्किले बताउनुभयो । ![1716217782473-1716295037.jpg](https://www.okhalnews.com/uploads/posts/1716217782473-1716295037.jpg?timestamp=1716295640708)
गाउँपालिकाको ३ नम्बर वडाका बरम, ठाँटिगडा, दुदेखाली, नौकुँडा , थली , गडाखर्क, अबस्थिगाउँ, कनेडी, पातल, बेलटुक्रा लगायतका टोलमा लसुन उत्पादन राम्रो हुने गरेको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उपाध्यक्ष बोहराका अनुसार गाउँपालिकाको ४ नम्बर वडा झनै लसुन उत्पादनको लागि प्रसिद्ध रहेको बताउनुभयो । ४ नम्बरको खैगाड, ठाँडा उत्तिस, गाँजरी सिसाडी, बिनोडा , बगस्ती ,कनेडी, सिराड ,देउथला, थली संगै १ नम्बर वडाको नङानी ,बेरुबाटा,बडाखेत ,गैरा लगाएत गाउँहरुमा लसुनको धेरै राम्रो उत्पादन हुने र किसानहरुले बिक्रिबाट राम्रो आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।
पछिल्ला वर्षहरुमा वडामा लसुन उत्पादक किसानहरुको संख्या बढिरहेको साथै पहिले केहि टोलका किसानले मात्र लसुन खेती गर्ने गरेकामा हाल भने वडाका सबैतिर लसुन खेति गर्न थालिएको जोरायल गाउँपालिका ४ का वडाध्यक्ष नन्दराज भट्टले बताउनुभयो । वडाले लसुनको उत्पादन भण्डारण र बजारीकरणमा सहयोग पुग्ने खालका किसानका लागि कार्यक्रम बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
लसुन खेतिमा रोग किरा पनि कम लाग्ने, बजारको पनि समस्या नहुने ,अन्य नगदेवाली भन्दा सजिलो खेती , जनावरले नोक्सानी कम गर्ने, समय र कामदारको बचत, भण्डारण र बजारीकरणमा सजिलो साथै राम्रो बजार मूल्य भएका कारण लसुन खेती सम्वन्धि चक्लाबंदिमा कार्यक्रम संचालन गर्न उपयुक्त हुने कृषि ज्ञान केन्द्र डोटीले सुझायकोछ ।कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थिका अनुसार आगामी वर्ष लसुन खेतीलाई प्रवर्धन गर्न कृषि ज्ञान केन्द्र डोटीले उत्पादन हुने क्षेत्रको पहिचान गरि लसुन खेती प्रबर्द्धन कार्यक्रम संचालन गर्ने बताउनुभयो । जोरायलको उत्पादित लसुन धनगढी, नेपालगन्ज , बुटवल ,पोखरा , काठमाडौ सम्मका बजारमा पुगाउने गरेको ब्यापारीहरु बताउछन ।