अछामका २५ प्रतिशत महिला आङ (पाठेघर) खस्ने समस्याबाट ग्रसित रहेको पाइएको छ । समविकास नेपालले गरेको अध्ययनमा २० वर्षका महिलामा समेत आङ खस्ने समस्या देखिएको छ ।
जिल्लाको बाब्ला, बुढाकोट र मेल्लेखका महिलाहरूमा समविकासले सर्वेक्षण गरेको थियो । समविकास नेपालकी अध्यक्ष पशुपति कुँवरका अनुसार आङ खसेका २५ प्रतिशत महिलाको स्वास्थ्य अवस्था भयावह छ । उनीहरूको उपचार गर्न शल्यक्रिया गर्नुको अर्को विकल्प छैन ।
पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या भएको महिलाको संख्या झन् धेरै रहेको उनले बताइन् । त्यस्ता महिला ढाड दुख्ने, रगत मिसिएको पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, छिटो–छिटो पिसाब लाग्ने, पिसाब ननिख्रने, तल्लो पेट दुख्नेजस्ता समस्याबाट पीडित रहेका अध्यक्ष कुँवरले बताइन् । ‘आङ खस्ने समस्याबाट पीडित महिलाको दैनिक जीवन साह्रै कष्टकर छ । गाउँका अधिकांश महिलामा पाठेघर खस्ने समस्या छ,’ उनले भनिन्, ‘अझै धेरै महिला त लाजका कारण खुल्न सकेका छैनन् ।’
कम उमेरमा विवाह गर्नेमा समस्या बढी
आङ खस्ने समस्याबाट पीडित अधिकांश महिलाले उमेर नपुग्दै विवाह गरेको पाइएको छ । ‘कम उमेरमै विवाह गरेका, घरायसी गाह्रो काम र कम उमेरमै बच्चा जन्माउने महिलामा यो समस्या बढी छ,’ कुँवले भनिन् । लाज हुने डरले रोग लुकाउने महिला धेरै रहेका कुँवरले बताइन् । मंगलसेनमा आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, ‘केही महिलाका श्रीमान्ले नै यस्तो समस्या बाहिर नभन्न कर गर्ने गरेकोसमेत पायौँ ।’
पीडित महिला समाजबाट बहिष्कार हुने भएका कारण पनि आफ्नो समस्या अरूलाई सुनाउँदैनन् । आङ खस्ने समस्या लिएर अस्पताल जाने महिलाले समेत लाजका कारण डाक्टरसँग टाउको र ढाड दुखेको भन्दै आफ्नो वास्तविक समस्या खोल्न अनकनाउने गरेका कुँवरको भनाइ छ ।
यस्तो समस्याबाट पीडित महिलाको अवस्था अध्ययन गरी सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ समविकास नेपालले जिल्लाको चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाका केही वडाका समस्याग्रस्त महिलाहरूसँग परामर्श गर्ने योजना बनाएको कुँवरले बताइन् ।
पीडित नै भन्दैनन् आफ्नो समस्या
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार गर्भवती तथा सुत्केरी अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नगर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने र सुत्केरी वेलामा यौनसम्पर्क राख्नेजस्ता कारणले आङ खस्ने समस्या सिर्जना हुन्छ ।
‘खुलेरै उपचार गराउन आउने महिलाको संख्या थोरै छ,’ ढुंगानाले भने, ‘पाठेघर खसेर ग्रसित भइसकेका हुन्छन्, तर पनि आफ्नो समस्या लुकाउँछन् ।’
ढुंगानाका अनुसार पाठेघर खस्ने समस्या तीन चरणको हुन्छ । पहिलो र दोस्रो चरणको समस्यामा ‘रिङ’ लगाएर उपचार गर्न सकिन्छ । तर, खसिसकेपछि पीडाबाट मुक्ति पाउन शल्यक्रियाबाहेक अरू उपाय नभएको उनले बताए । ‘शल्यक्रियापछि महिलामा आमा बन्ने क्षमता हुँदैन,’ ढुंगानाले भने । नया पत्रिकामा अछाम बाट ध्रुव बीसीले लेखेका छन्