[सायल गाउँपालिकाअध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले गर्नु भएको विकास, निर्माणका गतिविधी काम गर्ने क्रममा उहाँले भोगीरहेका चुनौती र भावी योजनाका बारेमा गोरखापत्र दैनिकका डोटी समाचारदाता डिलबहादुर सिंहले गरेको कुराकानीको सारसंक्षेप ]।
१.स्थानीय तहको निर्वाचन जितेर आइसकेपछि तपाईले दुई वर्षसम्म काम गर्दा के–के उपलब्धि भएको छ ?
उत्तर : जिल्लाका अन्य स्थानीय तहहरुको तुलनामा हाम्रो गाउँपालिका आर्थिक सामाजिक सबै किसिमले बिकट छ । तर बिकट भए पनि थुप्रै संभावनमा पनि छन् । पर्याप्त जलस्रोतको उपयोग,कृषिमा आधुनिकीकरण र पर्यटन बिकासका माध्यमवाट समृद्ध गाउँपालिका बनाउन सकिन्छ भन्ने अभियानमा छौ ।
म अध्यक्षको रुपमा निर्वाचित भईसकेपछी मतदाता सँग गरेको बाचा अनुसार नै काम गरिरहेको छु । गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्य सँस्था थिएन हाल थप ३ वटा स्वास्थ्य स्वास्थ्य सँस्थाको स्थापना गरी सवै वडाका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुगेको छ । सबै वडाहरु सडक सञ्जाल सँग जोडिएका छन् । चार वटा वडाहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार गरी विद्युत सुविधाको पहुँच पुगेको छ । बिपन्न बर्ग र निम्न आय भएका ब्यक्तिहरुलाई सिपमुलक तालिम मार्फत स्वरोजगार बनाउने योजना ल्याएका छौ । कृषि उत्पादन बिशेष गरी आलुको पकेट क्षेत्र बिस्तार, अनुदान र बजारिककरणको माध्यमवाट न्युन आय भएका कृषकको आयस्तर बृद्धिको काम गरिरहेका छौ ।
घरदैलोमा नै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकामा पहिलो पटक सव–ईन्जिनियर बिषयको अध्यायन हुने बिषयको शुरुवात गरिएको छ ।
२. चुनावी प्रतिवद्धता अनुसारका के कति योजनाहरु पूरा गर्नुभयो, क्रमागत योजना कति छन् के के हुन् ?
उत्तर : चुनावी प्रतिबद्धता अनुसार हेर्ने हो भने सडक निर्माण, विद्युत सेवा, खानेपानी, सिचाई, कृषि उद्यम, गुणस्तरीय शिक्षा, सामाजिक न्याय, पर्यटन प्रबद्र्धन जस्ता क्षेत्रमा थुप्रै काम भएका छन् । गाउँपालिका मार्फत सुत्केरी महिलाहरुलाई पोषण भत्ता स्वरुप थप पाँचसय उपलब्ध भइरहेको छ । दलित समुदायका नागरिकहरुको हकमा पचाँस वर्ष माथिका एकल पुरुष र गैरदलितको हकमा साठी वर्ष माथिका एकल पुरुषहरुलाई मासिक पाँच सय रुपियाँ निर्वाह भत्ता उपलब्ध भइरहेको छ । आमा बुवा नभएका टुहुरा वालवालिकाहरु लाई शैक्षिक तथा पोषण खर्च स्वरुप मासिक एक हजार ५०० रुपियाँ प्रदान गरिदै आएको छ । जलवायु परिवर्तनका असरहरुलाई मध्यनजर गरी मुहान संरक्षणको लागि आकाशे पानी संकलन पोखरीहरु निर्माण गरेका छौ । राष्ट्रिय विद्युत लाइन सँचालनमा आएको छ । प्रत्येक विद्यालयमा विद्यार्थी संख्या र शिक्षक दरबन्दी लाई आधार मानी स्वयं सेवक शिक्षक गाउँपालिकाबाट परिचालन गर्ने निर्णय भएको । मदिरा निषेधित क्षेत्रको रुपमा घोषणा गरी सायल गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सफल भएको छ । सामाजिक सुरक्षा भत्ता बितरण गर्दा जनप्रतिनिधीहरु स्वयं टोल टोलमा जाने गरेका छौं ।
३. जनप्रतिनिधिको रुपमा काम गर्दा कस्ता–कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ? त्यसलाई कसरी समाधान गरेर अगाडि बढ्दै हुनुहुन्छ ?
उत्तर : नेपालको संबिधान २०७२ स्थानीय सरकारलाई पनि अधिकारहरु प्रत्यायोजन गरेको छ । धेरै जसोले अहिले पनि स्थानीयतहलाई पहिलाको गाबिसको रुपमा नै हेर्ने गरेका छन् । हरेक नागरिकलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुबिधा र क्षेत्राअधिकारको बिषयमा जानकारी गराईनै रहेका छौं । हाम्रो गाउँपालिका सदरमुकामवाट बिकट मा छ । कर्मचारी अभाव यहाँको मुख्य समस्या छ । सरुवा भएर आएका कतिपय कर्मचारीहरु यहाँ हाजिर नै नगरी अन्यन्त्र सरुवा भएका उदाहरण पनि छन् । कर्मचारी अभावमा नागरिकले सहज प्राप्त गर्नु पर्ने कतिपय सेवा सुबिधाका लागि पनि समस्याको सामना गर्नु परेको छ । साना साना कुराहरुमा राजनितिक रुपमा हेर्ने परिपाटी पनि छ । नागरिकले आसा गर्नु स्वाभाबिक हो तर कतिपय समयमा नियमले नमिल्ने बिषयमा पनि योजना माग आउने समस्या पनि छ । तर पनि हामीले बिभिन्न निकाय सँगको सहकार्य र समन्वयमा सहजै काम गरिरहेका छौं ।
४. विकास भनेको बाटोघाटो, पुलपुलेसा बनाउने मात्रै हो भन्ने जस्तो गरेर जनप्रतिनिधिले काम गरेको देखिन्छ, तपाईको गाउँपालिकाले बाटोघाटोमात्रै बनाइरहेको छ, कि सामाजिक विकासलाई पनि ध्यान दिएको छ ?
उत्तर : हाम्रो गाउँपालिकामा बाटोघाटो र पुल पुलेसा थुप्रै अझै निर्माण गर्र्नु पर्ने माग आएको छ, नागरिकको मानसिकता पनि अझै भौतिक बिकासलाई नै बिकास मान्ने किसिमको छ । तर हामिले बाटोघाटो र पुल पुलेसलाई मात्र बिकास मानेका छैनौं, बालबालिकालाई दिनु पर्ने गुणस्तरीय शिक्षा देखि बृद्धअवस्थाका ब्यक्तिहरुले पाउनु पर्ने सामाजिक सुरक्षाका बिषय हाम्रा प्राथमिकतामा छन् । यस बिषयमा योजना बनाएर नै हामी लागेका छौं । युवाहरुलाई स्वरोजगार बनाउने देखि, मदिरा निषेधित लगायतका बिषयमा काम गरिरहेका छौं । गाउँ गाउँमा नागरिकता टोली पुर्याएर नागरिकता प्रदान गर्ने, स्वास्थ्य शिविर मार्फत गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने काम गरिरहेका छौं ।
५. गुणस्तरी शिक्षा र स्वास्थ्य प्रदान गर्नका लागि के कस्ता कामहरु भइरहेका छन् ?
उत्तर : शिक्षा क्षेत्रमा विद्यार्थी संख्या र पुर्वाधारको अवस्था विश्लेषण गरी विद्यालयमा शिक्षण सहजकर्ता परिचालन गरिरहेका छौ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिका स्तरमा शिक्षक तालिम तथा नियमित अनुगमन गरिदै आएको छ । त्यसै गरी स्वास्थ्य चौकी देखि टाढा भएको क्षेत्रहरुमा घुम्ती शिवीर संचालन गर्ने गरेका छौ । यसै बर्ष प्राबिधिक बिषयको अध्यायनको शुरुवात गरिएको छ । एईइमा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका भित्रको बिद्यायललाई पुरस्कृत गर्ने योजना बनाएका छौं । यसै बर्ष स्वास्थ्य संस्थामा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका छौं । बिपन्न बर्गका ब्यक्तिहरुलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदै आईएको छ ।
६. तपाईको गाउँपालिकावाट कामका लागि धेरै जसो युवाहरु भारत गएर जोखिमयुक्त काम गर्न बाध्य छन् । रोजगारी सृजना कृषि, उद्योगधन्दा विकासको लागि गाउँपालिकाले कस्ता खाले नीति अबलम्बन गरेर काम गरिरहेको छ ?
उत्तर : कामका लागी भारत जाने परिपाटी पुरानै हो । अहिले नै एक दुई दिनमा यो अन्त्य त हुदैन तर स्वदेशमा पनि केही गर्न सकिन्छ मानसिकताको बिकासका लागि कृषि अनुदान दिने ब्यबस्था गरिएको छ । सिप मुलक तालिमहरु सञ्चालन भईरहेका छन् । आधुनिक कृषि प्रणालीमा यान्त्रिक प्रबिधि मार्फत युवा उद्यमीलाई अनुदान सहयोग गरी एक सय ५० भन्दा बढी युवाहरु स्वरोजगार कार्यमा सहभागी भएका छन् । बेमौसमी र मौसमी तरकारी खेतीका लागि अनुदान र प्राबिधिक सहयोगको ब्यवस्था गरिएको छ । सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न गईरहेका छौं । निकट भबिष्यमा नै गाउँपालिकामा कामका लागि बिदेश जानेहरुको तथ्यांक राख्ने ब्यवस्था गर्न गईरहेका छौं । जसवाट उनिहरुले बिदेशमा गरिरहेको काम र उनिहरुका लागि स्वदेशमै के कस्ता रोजगार मुलक कार्यक्रम सँचालन गर्न सकिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।
७. नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । तपाईको गाउँपालिका यस क्षेत्रकै महत्वपुर्ण पर्यटकिय क्षेत्र खप्तड सँग जोडिएको छ, पर्यटन प्रबद्र्धनमा के कस्ता कृयाकलापहरु गरिरहनु भएको छ ?
संघिय सरकारले भ्रमण बर्ष २०२० घोषणा गरिसके पछी यसलाई सफल पार्न हामी पनि लागि नै रहेका छौं । सायल गाउँपालिका देशकै महत्वपुर्ण पर्यटकिय गन्तब्य खप्तड सँग जोडिएको छ । खप्तड सँग जोडिएर मात्र नभएर गाउँपालिका भित्र पनि थुप्रै धार्मिक र पर्यटकिय सँभावना भएका क्षेत्रहरुको प्रचार प्रसार हुन सकेको छैन । पर्यटकिय गुरुयोजना निर्माण र प्रचार प्रसार मार्फत काम गरिरहेका छौं । खप्तड भएर बग्ने सायलीगाड नदीमा पाईने माछा, यस क्षेत्रमा फल्ने आलु जिल्लामा नै प्रसिद्ध छन् । खप्तड सँगै जोडिएको भेल्छडा झरना सम्म सडक निर्माण भईरहेको छ । अश्द्धवाला मंदिमा आफैमा अद्भुत छ , सो क्षेत्रको बिकासको काम भईरहेको छ । खप्तड घुम्न आउने पर्यटकहरुलाई गाउँपालिका भएर आउने किसिमको पुर्वाधार निर्माण गरिरहेका छौ । यस क्षेत्रका धार्मिक स्थलहरु अशुद्वाला, कालाढुंगा, मालिका, भेल्छडा आदिको प्रचार प्रसार गरी पर्यटकिय क्षेत्रको गुरुयोजना निर्माण गर्ने र प्रचार प्रसार भइरहेको छ ।
८. काम गर्ने सन्दर्भमा प्रदेश सरकारसंग के कति समन्वय भइरहेको छ ?
उत्तर : अझै पनि कतिपय बिषयमा प्रदेश सरकारले कानुन निर्माण गरि सकेको छैन, कानुन अभावमा स्थानीय तहर प्रदेश सरकारका बिचमा कति पय बिषयमा बिवाद आउने गरेको छ । तर पनि आपसी समझदारी समन्वय त गर्नै पर्यो । गाउँपालिकाले आर्थिक रुपले निर्माण गर्न नसक्ने योजनाहरु निर्माणका लागि पनि प्रदेश सरकारसंग समन्वय गरी निर्माण हुदै आइरहेका छन् ।
धन्यवाद ।