काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन् ।
नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गरेर जनस्तरमा सम्बन्ध स्थापित गर्न सके नेपालको आर्थिक प्रगतीमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जनमत निर्माण गर्न सञ्चारको भुमिका रहने बताउँदै उनले अन्तरदेशीय जनमत सिर्जना गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गरे ।
सीमा विवाद
कार्यक्रममा प्रचण्डले कालापानी सीमा समस्या समाधान गर्न संयमताका साथ अघि बढ्नुपर्ने बताए ।
लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले मात्र संरचना बनाउने गरेको विषयमा आफूले यसअघि पनि गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।
हाल देखिएको सीमा समस्याको समाधान तीन देशबीच सहमतिका साथ समाधान गर्नुपर्ने प्रचण्डले बताए ।
सिको नेपाल भ्रमण
'चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धको आयाम झनै फराकिलो भएको छ ।' प्रचण्डले भने, 'सि जिनपिङ भारत हुँदै नेपाल किन आउनुमयो ? यसको खास महत्त्व छ ।'
सिको नेपाल भ्रमणपछि धेरै क्षेत्रमा सम्भावनाको ढोका खुलेको र नेपाललाई भरोसा थपिदिएको उनले बताए ।
'हामी प्रो इणडिया, प्रो चाइना, प्रो अमेरिकन होइनौं, हामी प्रो नेपाल हौ । हामीले हाम्रो देशको हितमा काम गरौं ।' प्रचण्डले थपे, 'सबैको साथ र सहयोग लिएर अघि बढौं ।'
प्रचण्डले एक चिन नीतिप्रति नेपालको नीति परिवर्तन नहुने प्रतिवद्धता समेत व्यक्त गरे ।