काठमाडौं । २०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि १३ वर्षमा ११ वटा सरकार बनेका छन् । यसअघिका सरकारमा महिलाहरुको प्रतिनिधित्व कम भए पनि यसपछि निर्माण भएका सरकारमा अघिल्लो कालभन्दा महिलाको बाक्लो उपस्थित भएको देखिन्छ ।
दोस्रो जनआन्दोलनपछि समावेशिताको मुद्दा नेपाली राजनीतिलाई ततायो । यही कारण यसपछि बनेका सरकारमा महिलाको उपस्थिति उल्लेख्य रहेको पाइन्छ । संविधानसभाबाट निर्माण भएको संविधानमै सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ । १३ वर्षका अवधिमा ५५ जना महिला मन्त्री भएका छन् ।
दोस्रो जनआन्दोलनपछि २०६३ वैशाखमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
उक्त सरकारमा विद्रोही नेकपा (माओवादी) समेत पहिलो पटक सामेल भएको थियो । २४ सदस्यीय मन्त्रिपरिषदमा तीनजना महिला मन्त्री रहेका थिए । यस मन्त्रिमण्डलमा एमालेबाट सहाना प्रधानले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।
नेकपा (माओवादी)बाट हिसिला यमीलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पम्फा भुसाल राज्यमन्त्री बनाइएको थियो ।
प्रचण्ड नेतृत्वको पहिलो सरकारमा चार महिला
पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ भदौमा नेकपा (माओवादी)ले सरकार गठन गरेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २१ जना मन्त्री थिए ।
उक्त मन्त्रिपरिषदमा चारजना महिला मन्त्री भएका थिए । तर, त्यसको तथ्यांक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराउन सकेन ।
नेपाल नेतृत्वको सरकारमा पाँचजना
२०६६ मा प्रचण्डले सरकार छाडेपछि नेकपा एमालेका माधवकुमार नेपालको नेतृत्वमा ४३ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । उक्त सरकारमा पाँचजना महिला मन्त्री भएका थिए ।
जसमा सुजाता कोइराला (उपप्रधानमन्त्री तथा परराष्ट्र), विद्यादेवी भण्डारी (रक्षा), करिमा बेगम (कृषि तथा सहकारी) मन्त्री रहेका थिए । यस्तै, सहायक मन्त्रीको जिम्मेवारी कलावतीदेवी दुसाध (भौतिक योजना तथा निर्माण) र चन्दा चौधरी (युवा तथा खेलकुद)लाई दिइएको थियो ।
खनाल नेतृत्वको सरकारमा पाँच महिला
नेकपा एमालेका माधवकुमार नेपाल नेतृत्वको सरकारपछि एमालेकै नेता झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । उक्त सरकारमा पाँचजना महिला मन्त्री भएका थिए ।
यस सरकारमा ओनसरी गुरुङ (युवा तथा खेलकुद), जयपुरी घर्ती (महिला, बालबालिका तथा समाजकल्याण) र उर्मिला अर्याल (स्थानीय विकास) रहेका थिए ।
यस्तै, तीनजनालाई राज्यमन्त्रीका जिम्मेवारी दिइएको थियो । जसमा भगवती चौधरी (वन तथा भूसंरक्षण), देवी खड्का (भौतिक योजना तथा निर्माण) र धर्मशीला चापागाईं (स्वास्थ्य तथा जनसंख्या) राज्यमन्त्री रहेका थिए ।
डा. भट्टराई नेतृत्वमा ११ जना
एमालेका झलनाथ खनालपछि २०६८ सालमा नेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराई नेतृत्वमा ४९ सदस्यीय मन्त्रिमण्डल बन्यो । जसमा ११ जना महिला मन्त्री भएका थिए ।
भट्टराई नेतृत्वको सरकारमा सरिता गिरी (श्रम तथा यातायात व्यवस्था), कल्पना धमला (विज्ञान तथा प्रविधि), सत्या पहाडी (शान्ति तथा पुनर्निर्माण), सुष्मा शर्मा (संघीय मामिला, संसदीय व्यवस्था तथा संस्कृति) र कमला रोका (युवा तथा खेलकुद मन्त्री) रहेका थिए ।
यस्तै, राज्यमन्त्रीहरुमा लीला भण्डारी (शिक्षा), सुनिताकुमारी महतो (सामान्य प्रशासन), दुर्गादेवी महतो (वातावरण राज्य), काशीदेवी झा (कानुन तथा न्याय) र सरिताकुमारी झा (सूचना तथा सञ्चार) रहेका थिए ।
सुशील कोइराला नेतृत्वमा तीन महिला मन्त्री
२०७० साल मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । त्यसपछि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । २४ सदस्यीय मन्त्रिमण्डलमा तीनजना महिलालाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसमा चित्रलेखा यादव (शिक्षा), राधा ज्ञवाली (ऊर्जा) र नीलम केसी खड्का (महिला, बालबालिका तथा समाज कल्याण) रहेका थिए ।
रेग्मी नेतृत्वको चुनावी सरकार
२०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुवानी सरकार गठन भएको थियो । उक्त सरकारमा राजनीतिक दलका नेताहरु समावेश थिएन ।
दोस्रो संविधानसभाको निर्वाचन गर्न गठन गरिएको यस मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व थिएन ।
ओलीको पहिलो मन्त्रिमण्डलमा पाँच महिला
दोस्रो संविधानसभाले २०७२ सालमा संविधान जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । पाँचपटकसम्म हेरफेर भएको सरकारमा पाँचजना महिला मन्त्री भएका थिए ।
ओली नेतृत्वको सरकारमा रेखा शर्मा (सामान्य प्रशासन) र शान्ता मानवी (पशुपंक्षी विकास) रहेका थिए । राज्यमन्त्रीहरुमा कुन्तीकुमारी शाही (संघीय मामिला तथा स्थानीय विकास), नरदेवी पुन मगर (पशु विकास) र मञ्जुकुमारी चौधरी (सहरी विकास) रहेका थिए ।
प्रचण्डको दोस्रो कार्यकालमा छ महिला मन्त्री
ओलीपछि २०७३ साउन २० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्राण्ड’ दोस्रो पटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा बनेको ४१ सदस्यीय मन्त्रिमण्डलमा छजना महिलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
प्रचण्डको नेतृत्वको सरकारमा सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण) मन्त्री रहेकी थिइन् । यस मन्त्रिण्डलमा पाँचजना महिलालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । जसमा राधिका तामाङ (कृषि विकास), धनमाया विक खनाल (शिक्षा), मीठु मल्ल (सहरी विकास), यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) र सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) रहेका थिए ।
शेरबहादुर देउवा मन्त्रिमण्डल १० महिला
२०७४ जेठ २४ मा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बने । ५६ सदस्यीय मन्त्रिमण्डलमा १० जना महिला मन्त्री बनेका थिए । देउवा नेतृत्वको सरकारमा आशा कोइराला (बिनाविभागीय) र मिथिला चौधरी (जनसख्या तथा वातावरण) लाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
यस्तै, राज्यमन्त्रीहरुमा कुन्तीकुमारी शाही (सहरी विकास), गोमा कुँवर (बिनाविभागीय), सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात),सरिता प्रसाई (कृषि विकास), चम्पादेवी खड्का (सहकारी तथा गरिबी), सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) र कमलादेवी शर्मा (वन तथा भू–संरक्षण) रहेका छन् ।
ओलीको दोस्रो कार्यकालको सरकारमा चार महिला
२०७४ फागुनमा केपी ओली दोस्रो पटक प्रधानमन्त्री भए । तत्कालीन नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बनेको थियो । यही सरकारकै समयमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो ।
ओली नेतृत्वको सरकारमा बीचमा मन्त्रीहरु हेरफेर भएको छन् । अहिलेसम्म चारजना महिला मन्त्री भएका छन् । बिना मगर (खानेपानी मन्त्री), पद्माकुमारी अर्याल (स्वास्थ्य तथा जनसंख्या) रहेका छन् । मन्त्री हेरफेरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको जिम्मेवारी सम्हालेकी थममाया थापालाई हटाइएको छ ।nagarikkhabar.coम बाट