कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापछि शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने प्रमाणित भएको बताएका छन् ।
प्रजातन्त्रको लागि लडेको स्वर्ण इतिहास, संविधान जारी गरेको पृष्ठभूमि हुँदा पनि कांग्रेस चुनावमा कमजोर हुनुमा नेतृत्वको दोष भएको उनले बताए । ‘स्वर्ण इतिहास हुँदा पनि कांग्रेस कमजोर हुनुले नेतृत्वको गतिविधि गलत भन्ने स्पष्ट भइसकेको छ,’ उनले भने, ‘पार्टी कमजोर हुनुमा नेतृत्वकै दोष छ ।’
देउवाबाट पार्टी नचल्ने स्पष्ट भएकाले आगामी १४ औं महाधिवेशनमा ‘बेस्ट टिम’ घोषणा गरेर अघि बढ्ने उनले बताए । ‘महाधिवेशनबाट उहाँ (शेरबहादुर)ले बहुमत पाउनुभयो । तर पार्टी चलाउन सक्नुभएन । विधानले निर्दे्शित गरेको न्यूनतम काम समेत गर्नुभएन,’ उनले भने, ‘पार्टी्भित्रका विपक्षीले काम गर्न दिएनन् भन्नुहुन्छ, तर पछिल्लो निर्णयबाट गर्न खोजेको काम कसैले रोक्दो रहेनछ भन्ने पुष्टि भइसकेको छ ।’
पार्टीका विभाग बढाउने, भातृसंस्थाका तदर्थ समिति र एकलौटी ढंगबाट महाधिवेशनको मिति फागुनमा तोकिएको भन्दै संस्थापन इतर समुहले केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।
१४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गरेको थियो । तर, संस्थापन समुहले बहुमतकै आधारमा भए पनि २०७७ फागुन ७–१० मा महाधिवेशन गर्ने कार्यतालिका बनेको छ । यही सन्दर्भमा मंगलबार आफ्नै निवास चाक्सीबारीमा संचारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘वर्तमान नेतृत्वलाई एक्लैले पराजित गर्छु भनेर हुने अवस्था छैन । अहिलेको नेतृत्वबाट पार्टी चल्दैन भन्नेहरु एक ठाँउमा आइरहेका छन् । उपयुक्त समयमा उपयुक्त टिम घोषणा गर्ने छौं । बलियो टिम बनाउनुपर्ने आवश्यकता छ । हामी त्यसैमा लागेका छौं ।’
‘जनताले सोध्न थाले कांग्रेस कहाँ छ ?’
नेता सिंहले तीनै तहमा कम्युनिस्ट सरकारसँग दिक्क भएका जनताले कांग्रेसको खोजी गरे पनि नभेटिने अवस्था रहेको बताए । प्रतिपक्षी कमजोर भएको जनताले महसुस गरेको र त्यसको कारण संसदीय दलका नेताको प्रस्तुती भएको उनको आरोप थियो ।
‘सरकार निरंकुश हुने बाटोमा लागेको छ,’ उनले भने, ‘वाक स्वतन्त्रतामा अकंशु लगाउने सुचना प्रविधी विधयेक लगायतका विधेयक जबरजस्ती पास गर्न खोजिएका छन्, यस्तो बेला प्रतिपक्षीको भूमिका शशक्त भएन भन्ने टिप्पणी हुन थालेको छ ।’
संसदीय दलको नेताको प्रस्तुतिले प्रतिपक्षीको उपस्थितीलाई बलियो वा कमजोर बनाउने उल्लेख गर्दै उनले संसदीय दलका नेता समेत रहेका देउवाको कमजोर प्रस्तुतिले प्रतिपक्षीको भूमिका बलियो हुन नसकेको बताए ।
‘कांग्रेस सांसदले हरेक विषयमा कुरा उठाएका हुन्छन् । तर, दलको नेताले नबोलिँदिँदा सांसदले उठाएका कुरा फितलो हुन्छ,’ उनले भने, ‘प्रतिपक्षीको भूमिका बलियो बनाउन दलको नेताले त्यस्ता विषयमा बोल्नु पर्छ । जुन हुन सकेको छैन ।’
‘इतिहास, विचारधारा बलियो, तर वर्तमान कमजोर’
उनले कांग्रेसको इतिहास र विचारधारा बलियो भए पनि वर्तमान कमजोर रहेको टिप्पणी गरे । ‘राणा, पञ्चायत र राजा फालेको पार्टी भएकाले इतिहास बलियो छ, विचारधारा पनि राम्रो छ । कम्युनिस्टले पहिलो संविधानसभाबाट नसक्दा दोस्रो पटक संविधान जारी गरेको पार्टी । यसरी हेर्दा हामीलाई जनताले भोट दिनुपर्ने भए पनि दिएनन,’ उनले भने, ‘यस्तो अवस्थामा पनि चुनावी नतिजा हाम्रो पक्षमा नआउनुमा नेतृत्वकै दोष स्पष्ट हुन्छ ।’
निर्णय नसच्चिए बैठकमा नजाने
बहुमतको आधारमा सल्लाह नै नगरी १४ औँ महाधिवेशनको मिति तोकेकोमा सिंहले कडा आपत्ति जनाए । त्यो निर्णय नसच्याए केन्द्रीय समिति बैठकमा सहभागी नै नहुने उनले स्पष्ट पारे ।
‘किसुनजी, गिरिजाप्रसाद कोइराला हुँदै शुसिल कोइरालासम्मको पालामा सहमतिमै महाधिवेशन तोक्ने परम्परा थियो,’ उनले भने, ‘तर, अहिले शेरबहादुरजीले परम्परालाई पन्साएर कांग्रेस भनेको मै हुँ भन्ने तरिकाले महाधिवेशनको मिति घोषणा गर्नुभयो ।’
केही परेमा सार्न सकिने गरी मंसिरमा महाधिवेशन गर्न सुझाव दिएको उनले बताए । फागुनमा तोकेर पछि धकल्नुपर्यो भने संविधानमा टेकेर ६ महिना थप्ने र पार्टी कब्जा गर्ने शैलीमा संस्थापन लागेको उनले अरोप लगाए । पार्टी नेतृत्वको कमजोरीका कारण भातृसंस्था समेत भद्रगोल भएको उनले आरोप लगाए । नयापत्रिका बाट