काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि विधेयकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायत केही पक्षले अनावश्यक भ्रम सिर्जना गर्ने काम गरेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कानुन सबैका लागि बराबरी हुने भन्दै कानुनले कसैलाई विभेद गर्न नमिल्ने र नसक्ने पनि बताए ।
‘सरकारले चाहेको के हो भने कानुन सबैका लागि बराबरी हुन्छ । कानुनले कसैलाई विभेद गर्न मिल्दैन र सक्दैन भन्ने कुरा पनि हो’, उनले भने, ‘त्यसैले नियतहरुसँग लड्न सकिँदैन । सत्यहरु छोपेर चलाइएको अफबाहचाहिँ केही समयपछि आफैँ त्यो बेलुन हुन्छ । सानो छेस्कोले छोएपछि खत्तम हुन्छ । छेस्को जत्रोसुकै होस् । त्यो जान्छ । त्यसकारण यस्तो नगरिदिन हुन मेरो अनुरोध छ ।’
उनले सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश हुने क्रममा रहेको उल्लेख गर्दै यसमा कुनै खराबी नरहेपनि भ्रमहरु छर्नेकाम गरिँदा अन्यौलता उत्पन्न भएको दावी गरे ।
नेपालमा सञ्चालन हुने जुनसुकै सामाजिक सञ्जालपनि दर्ता हुनुपर्ने साँचो भएको तर प्रयोगकर्ताले नै दर्ता गर्नुपर्ने जसरी भ्रम सिर्जना गर्ने काम भएको उनको भनाइ थियो ।
नेपालमा फेसबुक प्रयोगकर्ता ९० लाख र ट्वीटर प्रयोगकर्ता मात्रै ४० लाख रहेको बताउँदै मन्त्री बाँस्कोटाले यत्रो प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा नेपालमा दर्ता भएरमात्रै सञ्चालन गरिनुपर्ने कानुन बनाइनु गलत नुहने तर्क गरे । अन्य मुलुकहरुमा पनि दर्ता गरेरमात्रै सञ्चालन गर्ने व्यवस्था रहेको बताउँदै उनले नेपालमा यही व्यवस्था गर्न खोजिएको धारणा राखे ।
उनले सामाजिक सञ्जालमा मनपरी गर्नेलाई सरकारले नै कारबाही गर्ने नभइ कुनै निकायले तथ्य र प्रमाणको आधारमा गर्ने बताए ।
‘सरकारले नै सबैलाई जसलाई मन लाग्यो त्यसलाई कारबाही गर्छ भन्ने जसरी हल्ला चलाइएको छ । विधेयकको धारा १५ को उपदफा २ मा दशी प्रमाणको आधारमा कारबाही गर्ने भनिएको छ, सरकारले कारबाही गर्ने पनि होइन’ बास्कोटाले भने, ‘जिस्क्याएको, होच्याएको, मानमर्दनको सवालमा पनि आलोचना गर्नेबाट आफू अनुकूल ब्याख्या गर्ने काम भएको छ । तर निरन्तर भन्ने शब्द खुसुक्क खत्लीमा हाल्ने काम भएको छ ।’ कानुनी व्यवस्था छोप्ने, खल्तीमा हाल्ने अनि आलोचना गर्ने भन्दै उनले कटाक्ष समेत गरे ।
उनले बुधबार आफू सुदूरपश्चिम गएको र त्यहाँबाट फर्किँदै गर्दा एक नाम चलेकै पत्रकारले फेसबुकमा व्यक्तिगत विषयमा अमाचकारी गाली गरेको गुनासो गरे ।
‘मेरो आमाको निधन भइसक्यो । मेरो आमाको नाममा गाली किन ? फलानोको छोरा फलाको छोरी भन्ने शब्द लेखेर कहिँ नभएको नागरिक स्वतन्त्रताको कुरा गर्न खोजिँदैछ । म जहाँ छु त्यहाँ भन्नुपर्यो । मरो बुबा आमालाई जोड्ने किन ? बोल्नै नसकिने कुरा गर्नु सामाजिक अपराध हो ।’ मन्त्री बाँस्कोटाले भने ।
राजनीतिक विषयमा र अन्य विषयमा पनि तत्थ्यपूर्ण आचोलचना गर्न पाइने तर हुँदै नभएको विषयमा व्यक्तिको निजी जीवन जोडेर चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याइनैपर्ने बाँस्कोटाले बताए । ratopati