काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा गठबन्धन गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर २ मा तालमेल गरेका दुई दलले आइतबार संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभाका लागि प्रदेश नम्बर २ को आठ सिटमध्ये चार सिटको निर्वाचन हुँदैछ । चार सिटमध्ये नेकपा र राजपाले दुई दुई सिट बाँडेका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि चुनावी तालमेल गरेका छन् । उनीहरुले पनि दुई दुई सिट बाँडेका छन् । जसअनुसार कांग्रेसबाट नगिना यादव (महोत्तरी) र भोला पञ्जियार (धनुषा)को उम्मेदवारी दर्ता भएको छ । यस्तै, समाजवादीबाट रामलाल पासवान र अनिरुद्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा–राजपा गठबन्धन बलियो
राष्ट्रियसभाका लागि प्रदेश नम्बर २ का १६३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २७२ जना र प्रदेशसभाका १०७ सांसद गरी कुल ३७९ मत छ । मतको आधारमा नेकपा–राजपा गठबन्धनको १९४ मत छ ।
यता कांग्रेस–समाजवादी गठबन्धनको १८२ मत छ । यस्तै, नेपाली जनता दलको २ र स्वतन्त्र सांसद १ गरी ३ मत अन्यमा छ ।
मतअनुसार नेकपा–राजपा गठबन्धनको मत राम्रो छ । यस्तो अवस्थामा नेकपा–राजपा गठबन्धनको जित हुने नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह दाबी गर्छन् । ‘हामीलाई अन्य तीनजनाको साथ पाउँछौं,’ उनले भने, ‘त्यसो भएकाले राजपा नेकपाको जित हुन ढुक्क छ ।’