धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पुरानो भएर थन्किएका १६ वटा मिनी ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर वितरण गरेको खुलेको छ । यी एम्बुलेन्स खरिदमा करोडौं घोटाला भएको आशंकासमेत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद गरी गत २० कात्तिकमा नौ जिल्लाका अस्पताल र स्वास्थ्य चौकीमा वितरण गरेको थियो । तर, अधिकांश एम्बुलेन्स बिगि्रएर थन्किएका छन् ।
ती ट्रकको भन्सार शुल्कसमेत गरी हालको मूल्य करिब १९ लाख रुपैयाँ छ । तर, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार प्रतिएम्बुलेन्स ३९ लाख ७ हजार रुपैयाँका दरले ६ करोड ३५ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ । जबकी एम्बुलेन्समा सरकारले शतप्रतिशत भन्सार छुट दिन्छ । भन्सार छुट हुने एम्बुलेन्सका लागि बजार मूल्यभन्दा दोब्बर बढी भुक्तानी गरिएकाले अनियमितताको शंकामा थप बल पुगेको छ ।
एम्बुलेन्सको स्वरुप दिइएका ती ट्रक सन् २०१४ मा बनेका हुन् । ४०७/०३१-४ २१२१ मोडेलका टाटा कम्पनीका मिनी ट्रक हाल प्रयोगमै छैनन् । यही मोडेलका मिनी ट्रक हाल नयाँ इन्जिनसहित सीआर मिनी ट्रकको स्वरुपमा बजारमा उपलब्ध छन् ।
मुख्यमन्त्रीले सोधे स्पष्टीकरण
तराईमा तरकारी बोक्न प्रयोग हुने मिनी ट्रकलाई पहाडी जिल्लामा एम्बुलेन्स बनाएर हस्तान्तरण गरेको आरोप लागेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसँग स्पष्टीकरण सोधका छन् ।
मुख्यमन्त्री भट्टले मन्त्री सुवेदीलाई आफ्नै निवासमा बोलाएर एम्बुलेन्स खरिद प्रक्रियाबारे सोध्नुका साथै सत्यतथ्य सार्वजनिक गर्न निर्देशनसमेत दिएका छन् ।
कम्पनीले नै बिक्री नगरेर थन्क्याएको ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर बाँडेको आरोप खेपेका सामाजिक विकास मन्त्री सुवेदीले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
कहाँ-कहाँ बाँडिए एम्बुलेन्स ?
अत्याधुनिक भनिएका एम्बुलेन्स कैलालीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अञ्चल अस्पताल, डोटीको जिल्ला अस्पताल र अछाम जिल्ला अस्पतालमा बाँडिएको थियो ।
यस्तै अछामकै कमलबजार स्वास्थ्यचौकी, बान्नीगढी स्वास्थ्यचौकी र बाब्ला स्वास्थ्यचौकीलाई पनि ती एम्बुलेन्स दिइएको छ ।
बैतडीको रुद्रेश्वर र कुलाउ स्वास्थ्यचौकी, दार्चुलाको हिकिला र खार स्वास्थ्यचौकी, डडेल्धुराको जोगबुढा अस्पताल, नवदुर्गा स्वास्थ्यचौकी र टाटे स्वास्थ्यचौकी, बझाङको रायल प्राथमिक स्वास्थ्यचौकी र मटेना स्वास्थ्यचौकीले पनि सामाजिक विकास मन्त्रालयबाट अत्याधुनिक एम्बुलेन्स पाएका छन् ।
अधिकांश एम्बुलेन्स बिग्रिए
मन्त्रालयले वितरण गरेका १६ वटा एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किएका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर वितरण गरिएका एम्बुलेन्स कमसल रहेको अधिकांश चालकको गुनासो छ ।
बाजुराको टाटे स्वास्थ्यचौकीका एम्बुलेन्स चालक उद्धव खड्काले मन्त्रालयले दिएको एम्बुलेन्स बिगि्रएको बताए । ‘दुई महिनाको अवधिमा टाटेको एम्बुलेन्समा बिरामी बोकेर दुई पटक मात्र धनगढी पुगेको छु,’ उनले भने ।
जोगबुढा अस्पतालका चिकित्सक जितेन्द्र चौधरीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स बिगि्रएर थन्किएपछि पुरानै एम्बुलेन्स चलाइरहेको जानकारी दिए ।
लेखा समितिको चासो
सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा घोटाला गरेको आरोप लागेपछि सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत चासो दिएको छ ।
समितिकी सभापति कुमारी नन्दा बमले एम्बुलेन्स खरिद प्रकरणका कागजपत्र मन्त्रालयसँग माग गरेको बताइन् ।
‘एम्बुलेन्स खरिद गर्दा करोडौँको अनियमितता भएका समाचारहरू आएपछि हामीले चासो व्यक्त गरेका छौँ,’ उनले भनिन्, ‘एम्बुलेन्स खरिदका कागजपत्र आएपछि छानबिन गर्छौं ।’ onlinekhabar.com बाट