काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छिन् ।
मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छिन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यस पवित्र चाडले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना व्यत्त, गरेका छन् ।
प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रुपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले यो पर्व मनाइने गरिन्छ ।
माघी पर्वका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ, “हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेका छन् । माघे सङ्क्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ । जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसाबले पनि उपयोगी छ । माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी (पिठोको एक परिकार) खाई रातभर मघौटा नाच नाच्ने चलन छ ।”
प्रचण्डको शुभकामना
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारु, मगर लगायतका आदीवासी जनजाती एंव आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गरेका छन् ।
प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने प्रचण्डको विश्वास छ ।
यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उनले कामना गरेका छन् ।