काठमाडौं । अहिले जनयुद्ध पनि छैन । जनयुद्ध सुरु गर्ने नेकपा (माओवादी) पनि अस्तित्वमा छैन । जनयुद्ध सुरु गर्ने नेकपा (माओवादी)को मुल हिस्सा तत्कालीन नेकपा (एमाले)सँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ भने माओवादीका केही हिस्सा विभिन्न समूहमा विभाजित छन् । जनयुद्ध सुरु गर्दा पार्टीका महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले नेकपाको एक अध्यक्ष छन् ।
जनयुद्ध सुरु गर्नेमध्ये प्रचण्डसहित नौ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छन् । प्रचण्ड उक्त पार्टीका दुई अध्यक्षमध्ये एक हुन् । मोहन वैद्य ‘किरण’सहित चार जना वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा छन् । डा. बाबुराम भट्टराई समाजवादी पार्टीको अध्यक्ष छन् भने एकजना जनयुद्धमा बेपत्ता, एकजना जनयुद्धको क्रममा मारिए, एकजनाको हृदयघाटबाट निधन, एकजना कृषि पेशामा छन् भने अर्का एक स्वास्थ्यलाभ गरेर बसिरहेका छन् ।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ : नेकपाका एक अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा नेकपा (माओवादी)का महामन्त्री थिए । कास्कीको ढिकपोखरीमा २६ मंसिर २०११ मा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । काठमाडौंमा २०४६ मा सेक्टर काण्ड घट्यो । त्यसअघि महामन्त्री रहेका मोहन वैद्य ‘किरण’ले राजीनामा दिएपछि महामन्त्री भएका प्रचण्डले २०५१ मा राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन गर्दै नेकपा (माओवादी) बनाए । जनयुद्धको कार्यदिशा तय गरेर अगाडि बढे । जनयुद्धको १० वर्ष नेतृत्व गरे ।
२०६४ को संविधानसभा निर्वाचनमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएर २ भदौ ०६५ मा प्रधानमन्त्री भएका प्रचण्ड २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बने ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थाजस्ता नारा प्रचण्डले उठाएका हुन् । जुन ३ असोजमा संविधानसभाबाट संविधान जारी भएसँगै संस्थागत भयो ।
यसबीचमा प्रचण्डले आफूबाट अलग्गिएका रामबहादुर थापा ‘बादल’लाई समाहित गराएर नेकपा (माओवादी केन्द्र) बनाए । २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले)सँग एकता गरेर नेकपा बनाए । र, आफू एक अध्यक्ष बने ।
२. मोहन वैद्य ‘किरण’ : क्रान्तिकारी माओवादीका महासचिव
जनयुद्ध सुरु गर्दा मोहन वैद्य ‘किरण’ दोस्रो तहका नेता थिए । त्यतिबेला उनी पोलिटब्युरो सदस्य थिए । वैद्य प्रचण्डका पनि गुरु मानिन्थे । तर, १९ चैत २०४५ मा पञ्चायत चुनावलाई असफल पार्ने उद्देश्यसहित त्रिपुरेश्वरमा रहेको राजा महेन्द्रको सालिकमा मोसो दलियो र केही प्रहरी चौकीमाथि आक्रमणको प्रयास असफल भयो, जसलाई सेक्टर काण्ड भनियो ।
त्यसपछि वैद्यले महामन्त्रीको पदबाट नैतिकताको आधारमा भन्दै राजीनामा दिए । उनको राजीनामापछि प्रचण्डले पार्टीको नेतृत्व सम्हाले । जनयुद्धमा दार्शनिक र सौन्दर्य शास्त्रमा वैद्यले विशिष्ट योगदान दिएको मानिन्छ ।
उनी असार २०६९ मा एमाओवादीबाट ठूला हिस्सा लिएर निस्किए । र, नेकपा–माओवादी गठन गरे । उनीसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ले अलग पार्टी बनाए । अहिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारबाट प्रतिबन्धित छ । रामबहादुर थापा ‘बादल’लगायत पूर्ववत पार्टीमा फर्किए । वैद्य क्रान्तिकारी माओवादीको महामन्त्री छन् । १५ साउन २००३ मा प्युठानमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा ४९ वर्षका थिए ।
३. डा. बाबुराम भट्टराई : समाजवादी पार्टीको अध्यक्ष
खोप्लाङ गोरखामा असार २०११ मा जन्मिएका डा. बाबुराम भट्टराई जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । त्यस समय पार्टीका पोलिटब्युरो सदस्य रहेका उनी तेस्रो तहका नेता थिए । जनयुद्धमा उनले क्रान्तिकारी जनपरिषद्का संयोजक भएर ‘जनसत्ता’को नेतृत्व गरेका थिए ।
२०६४ मा प्रचण्डको मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका भट्टराई ११ भदौ ०६८ मा प्रधानमन्त्री बने । दोस्रो संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति भएर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका उनले संविधानसभाको अन्त्यतिर संविधानप्रति नै असन्तुष्टि जनाए ।
संविधान जारी भएको छैटौँ दिन ९ असोजमा एमाओवादी र व्यवस्थापिका–संसद् सदस्य परित्यागको घोषणा गरेका भट्टराईले नयाँ शक्ति पार्टी निर्माण गरे । गत वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर समाजवादी पार्टी नेपाल बनेपछि भट्टराई सो पार्टीको संघीय परिषद् अध्यक्ष छन् ।
४. रामबहादुर थापा ‘बादल’ : गृहमन्त्री
१९ वैशाख २०१२ मा गुल्मीमा जन्मिएका थापा जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए । प्रचण्ड नेतृत्वको २०६४ को मन्त्रिपरिषदमा उनी रक्षामन्त्री थिए । उनकै कार्यकालमा तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई बर्खास्त गर्ने निर्णय भयो ।
जुन निर्णयले एमाओवादीको सरकार ढल्यो । माओवादी विभाजन हुँदा उनी वैद्यतिर लागे । उनी २०७३ जेठमा वैद्यबाट अलग्गिएर पुनः प्रचण्डसँग एकता गरे । राष्ट्रियसभा सदस्य उनी अहिले गृहमन्त्री छन् । नेकपा बनेपछि उनी सचिवालय सदस्य छन् ।
५. सिपी गजुरेल ‘गौरव’ : क्रान्तिकारी माओवादीको नेता
१७ वैशाख २००५ मा सिन्धुलीमा जन्मिएका सीपी गजुरेल जनयुद्ध सुरु गर्दा ४७ वर्षका थिए । जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य रहेका गजुरेल वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको नेता छन् । उनी क्रान्तिकारी माओवादीको मध्य ब्यूरो इन्चार्ज हुन् ।
एमाओवादी विभाजनपछि बनेको माओवादीमा उनी उपाध्यक्ष थिए । गजुरेल अघिल्लो संविधानसभामा सदस्य थिए । उनी जनयुद्धको अन्तिमतिर भारतीय जेलमा बसेका थिए ।
६. पोष्टबहादुर बोगटी ‘दिवाकर’ : दिवंगत
नुवाकोटमा ३ साउन २०१० मा जन्मिएका पोष्टबहादुर बोगटी ‘दिवाकर’ जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु गर्दा उनी ४२ वर्षका थिए । लामो समय पश्चिम नेपालमा काम गरेका बोगटी अघिल्लो संविधानसभामा नुवाकोट ३ बाट निर्वाचित भए । उनी दुई पटक मन्त्री बने ।
एकीकृत माओवादीको महासचिव रहेकै समयमा हृदयाघातका कारण उनको ३० भदौ ०७१ मा निधन भयो । उनका एक मात्र छोरा जनयुद्धमा राज्यबाट मारिएका थिए ।
७. देव गुरुङ ‘कान्छाबहादुर’ : नेकपाका नेता
देव गुरुङ जनयुद्ध सुरु हुँदा केन्द्रीय सदस्य थिए । उनी जनयुद्ध सुरु गर्दा करिब ४० वर्ष पुगेका थिए । पहिलो संविधानसभामा मनाङ र कास्कीबाट निर्वाचित उनी स्थानीय विकासमन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत बने ।
०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । प्रचण्ड बादलको एकतामा बादलसँगै आएका गुरुङ लम्जुङबाट प्रतिनिधिसभा सदस्य छन् । उनी नेकपाको स्थायी समिति सदस्य हुन् ।
८. टोपबहादुर रायमाझी ‘अनिल’ : नेकपाको खेलकुद विभाग प्रमुख
२५ कात्तिक ०१८ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । त्यसवेला उनी ३४ वर्षका थिए । दुवै संविधानसभा र प्रतिनिसिभामा अर्घाखाँचीबाट निर्वाचित उनी उनी स्थानीय विकास, भौतिक योजना, उपप्रधान तथा ऊर्जामन्त्री बने ।
माओवादी स्थापना भएदेखि नै भट्टराईको पक्षमा रहेका उनी भट्टराईको नयाँ शक्ति निर्माण अभियानलाई भने साथ दिएनन् । उनी नेकपाको स्थायी समिति सदस्य छन् ।
९. हरिबोल गजुरेल ‘शीतलकुमार’ : नेकपाको कोष प्रमुख
६ वैशाख २०१२ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु हुनुअघि नै माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए । दोस्रो संविधानसभा र प्रतिनिधिसभामा सिन्धुलीबाट निर्वाचित उनी कृषि मन्त्री बने ।
सदाबहार प्रचण्डलाई साथ दिंदै आएका उनी एकीकृत माओवादी पार्टी हुँदा कोषाध्यक्ष थिए । र, हाल नेकपाको स्थायी समिति सदस्य छन् । उनी नेकपाको कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख छन् ।
१०. हरिभक्त कँडेल ‘प्रतीक’ : क्रान्तिकारी माओवादीको प्रवक्ता
१४ साउन २०११ मा जन्मिएका कँडेल जनयुद्ध सुरु गर्दा ४१ वर्ष पुगिसकेका थिए । काठमाडौंमा कलेज पढ्दा उनी प्रचण्डका ‘रुम पार्टनर’ थिए । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे ।
उनी वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज छन् ।
११. अग्निप्रसाद सापकोटा ‘कञ्चन’ : नेकपा स्थायी सदस्य
झन्डै १५ वर्ष शिक्षण पेसा अँगालेका अग्निप्रसाद सापकोटा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । २४ फागुन २०१४ मा सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा दुवै संविधानसभा र प्रतिनिधिसभामा सिन्धुपाल्चोकबाट विजयी बने ।
उनी सञ्चार र वनमन्त्री बने । माओवादी विभाजनमा प्रचण्डलाई साथ दिएका उनी प्रतिनिधिसभाको सभामुख छन् ।
१२. लोकेन्द्र विष्ट मगर ‘अभ्यास’ : राजनीति छाडेर कृषिमा
०२१ मा रुकुममा जन्मिएका लोकेन्द्र विष्ट मगर जनयुद्ध सुरु हुँदा ३१ वर्षे जवान थिए । र, माओवादीको केन्द्रीय सदस्य । तर, उनी जनयुद्ध सुरु हुनुको केही महिनाअघि नै पक्राउ परे । ०५१ मा पक्राउ परेर ०५८ मा छुटे । उनी जनयुद्ध उत्तरार्द्धमा पुग्दै गर्दा ०६१ मा भारतमा पक्राउ परेर भारतीय जेलमा पनि बसे ।
पहिलो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति भएका विष्ट स्वास्थ्य र पर्यटमन्त्री बने । उनी अहिले राजनीति छाडेर दाङमा कृषि फार्म चलाएर बसेका छन् ।
१३. पम्फा भुसाल ‘विद्युत्’ : केन्द्रीय समितिमा एक्ली महिला
२०१९ साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा ३३ वर्षकी थिइन् । जनयुद्ध सुरु गर्ने माओवादीको १९ सदस्यीय कार्यसमितिमा उनी एक्ली महिला थिइन् । उनी जनमोर्चा नेपालकी अध्यक्ष पनि थिइन् ।
०६४ को निर्वाचनमा ललितपुर–३ बाट निर्वाचन जितेकी उनी मन्त्री बनिन् । ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्यको साथमा लागिन् । प्रचण्ड–बादल एकतामा उनी बादलसँगै आइन् । ललितपुरबाट प्रतिनिधिसभामा आएकी भुषाल अहिले नेकपाको स्थायी समिति सदस्य छिन् ।
१४. मातृका यादव : उद्योगमन्त्री
०१६ मा सप्तरीमा जन्मिएका यादव जनयुद्ध सुरु हुँदा माओवादी केन्द्रीय समितिमा रहेका एकमात्र मधेसी समुदायका नेता हुन् । जनयुद्ध सुरु गर्दा उनी ३६ वर्षका थिए । ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग माओवादीले एकता गर्दा असन्तुष्ट भएर उनी पार्टीबाट बाहिरिए । उनले पार्टीबाट बाहिरिएर नेकपा (माओवादी) ब्युँताए ।
२०७३ जेठमा भएको माओवादीहरुको एकीकरण अभियानमा उनी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका उनी नेकपाको स्थायी समिति सदस्य छन् ।
१५. दिनेश शर्मा ‘सागर’ : क्रान्तिकारी माओवादीका नेता
१७ साउन २०१६ मा काभ्रेमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । र, ३६ वर्षका थिए । यानप्रसाद गौतम उनका जेठान थिए । यानप्रसादकी बहिनी कमला गौतमसँग शर्माले जनयुद्धअघि नै विवाह गरेका थिए । जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय समितिमा शर्मा र गौतम सबैभन्दा नजिकका नातेदार थिए । यानप्रसाद पार्टीभित्रको कारबाही भोग्दै गर्दा सैनिक कारबाहीमा मारिए भने शर्मापत्नी कमलालाई ०५८ मा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता पार्यो ।
दिनेश शर्मा माओवादी विभाजित हुँदा वैद्य पक्षमा लागे । उनी अहिले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको नेता छन् ।
१६. यानप्रसाद गौतम ‘आलोक’ : आन्तरिक कारबहीमा थिए, सैनिक गोलीले मारिए
यानप्रसाद गौतम जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । २०१७ वैशाखमा काभ्रेको पोखरीचौरमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ३५ वर्षका युवा नेता थिए ।
महत्वाकांक्षी नेता गौतममाथि माओवादीले संस्थागत रूपमै ‘पार्टी हेडक्वार्टरमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोर रहेको, आर्थिक अराजकता रहेको र नोकरशाही कार्यशैली अंगीकार गरेको’ आरोप लगाएर आन्तरिक कारबाही गर्यो । त्यसलाई ‘आलोक प्रवृत्ति’ भनेर माओवादीले पार्टीका तल्लो तहसम्म प्रशिक्षित गर्यो ।
गौतम पार्टीको आन्तरिक कारबाहीमा रहेकै समयमा ०५९ मा रोल्पाको उवामा तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा मारिएको माओवादीले बताउँदै आएको छ ।
१७. दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’ : जनयुद्धमा बेपत्ता भए
१२ चैत २००३ मा चितवनको गीतानगरमा जन्मिएका दण्डपानी न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४९ वर्षका थिए । उनी माओवादीको तत्कालीन १९ सदस्यीय केन्द्रीय समितिमा उमेरले वैद्यपछि पाका नेता थिए ।
उनी ५३ वर्षका हुँदा ७ जेठ ०५६ मा काठमाडौंको कलंकीबाट प्रहरीको गिरफ्तारीमा परे । उनी हालसम्म राज्यपक्षबाट बेपत्ता छन् । बेपत्ता पारिनेमा उनी माओवादीको पहिलो र शीर्ष नेता हुन् ।
१८. नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ : नेकपाको अभिलेख विभाग प्रमुख
४ पुस २०१४ मा दाङमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । त्यस समय उनी ३८ वर्षका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि कुनै पनि सुविधाको पद नलिएका नेता हुन् शर्मा । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा खरो रूपमा उत्रिएका थिए ।
प्रचण्ड–बादल एकीकरणमा माओवादीको मूल धारमा फर्किएका उनी अहिले नेकपाको केन्द्रीय सदस्य छन् । उनी नेकपाको पुस्तकालय तथा अभिलेखालय विभाग प्रमुख छन् ।
१९. फणीन्द्र आचार्य ‘अनल’ : जनयुद्धमा लागेनन् अहिले अस्वस्थ छन्
जनयुद्ध सुरु गर्दा चितवनका आचार्य केन्द्रीय सदस्य थिए । तर, केन्द्रीय समितिका १८ जना पूर्ण भूमिगत भएर जनयुद्धमा लाग्दा उनी लागेनन् । उनले चितवनको भरतपुरमा सरकारी अस्पतालअगाडि पसल थापेर व्यापार सुरु गरे । शान्ति प्रक्रिया सुरु भएपछि उनी पुनः माओवादीको सम्पर्कमा आए । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । अस्वस्थ रहेका आचार्य हिजोआज घरमै आराम गरिरहेका छन् । nagarikkhabar.com बाट