गोपी अछामी
२०५१ सालको दशैं र तिहारपछि जनयुद्धको तयारीका लागि राजनीति जनचेतना विस्तार गरिँदै थियो । सिन्धुलीमा पञ्चायती शासन व्यवस्थाविरुद्ध आवाज उठाउँदा राज्यबाट मारिएका सहिदहरु आदुरस (ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी, दलवहादुर मगर ‘रजन’, सम्झाना दाहाल) सांस्कृतिक अभियान चलिरहेको थियोे ।
काठमाडौंमा पार्टीलाई मेरोबारे जानकारी गराएँ । मलाई संगठित गर्नुहुने ईश्वरीप्रसाद दाहाल र तत्कालीन पूर्वी ब्युरो इन्चार्ज यानप्रशाद गौतम ‘आलोक’सँग भेट भयो । त्यसपछि पुनः सिन्धुली जिल्ला पार्टीका साथीहरूको सम्पर्क हँुदै सिन्धुली जाने निर्णयमा पुगेँ ।
यता सिन्धुलीगढीमाथि २०५२ फागुन १ गते हमला भयो । म यो कारबाहीमा जान पाइनँ । साथी मीनकुमार दाहाल (उहाँले जनयुद्धमा सहादत्त प्राप्त गर्नुभयो)ले मेरा घरमा खबर पठाउनुभएको रहेछ । तर, म फागुण ३ गते मात्र साथीहरूको सम्पर्कमा पुगें ।
टोली कमाण्डर गंगा श्रेष्ठ र सहकमाण्डर कमलप्रसाद देवकोटालगायका कमरेडहरुसँग भेट भयो । उहाँलाई सुरक्षित गर्नु, पोष्टर र पर्चा वितरण गर्नु, बारुद बनाउने सामानहरुको जोहो गर्नु, वर्ग संघर्षको प्राराम्भिक तयारीका लागि गाउँका जाली फटाहाहरुको बाली नष्ट गर्नु, घर ‘सेबोटेज’ गर्नु, दुश्मनको गतिविधिको निगरानी गर्नु आदि जिम्मेवारी पाएको थिएँ ।
हामीले पोष्टर रातमाटा पुलिस चौकीका साथै बजार र गाउँमा छर्यौं । आदुरस अभियानमा लागेकाले मलाई जनमोर्चाका कार्यकर्ता भनेर चिनिसकेका थिए । त्यसैले पुलिसले मेरो खोजी सुरु गरेको थियो ।
त्यसपछि म भूमिगत भएँ । छापामार दलको ६ नम्बर सदस्य भएँ । मेरो कमाण्डर रन्जन माझी (उहाँ घाइते हुनुहुन्छ) सहकमाण्डर टीका श्रेष्ठ ‘संगम’ (उहाँ जनयुद्धमा मारिनुभयो) हुनुहुन्थ्यो । मैले यही बेला मैले सुतलीबम बनाउन, पड्काउन र भरुवा बन्दुक चलाउन सिकें ।
बहिनीसहित पाँचको हत्या, म घाइते
२०५३ मा मैले नेकपा माओवादी सिन्धुली जिल्ला सदस्य र छापामार दल कमाण्डरको जिम्मेवारी पाएँ । मेरो कार्यक्षेत्र सिन्धुली सदरमुकाम पूर्व भयो । नयाँ भूगोल र नयाँ जिम्मेवारी भएकाले निक्कै जोखिम थियो ।
हामीले स–सानो टोली बनायौं । जंगल र रातिको अत्यधिक सदुपयोग गर्याैं । हामीसँग नेता चित्रनारायण श्रेष्ठ (क. भाष्कर हुनुहुन्थ्यो । उहाँ सर्लाहीवाट बेपत्ता हुनुभयो) । उहाँ हाम्रो कमिसार हुनुहुन्थ्यो । पूर्वी अभियानमा भरुवा बन्दुक, बारबोर बन्दुक, तरबार, खुकुरी संकलन गरी फौजलाई सु–सज्जित गर्नु, फौजमा युवाहरुलाई भर्ती गर्नु, जाली तमसुक कब्जामा लिँदै गरिबलाई ऋणमुक्त गर्नु, सामन्तहरुको अन्न भण्डारबाट अन्न कब्जा गरी किसानहरुलाई वितरण गर्नुलगायतका काम गरिरहेका थियौं ।
यी कामले किसानहरु युद्धको पक्षमा उभिन थालेका थिए । सामन्त जाली फटाहाहरु छापामारसँग आत्मासमर्पण गर्दै आए । कतिपय सामन्तहरु गाउँ छाडेर सहरतिर लागिरहेका थिए । अर्थान् हाम्रो घेरा फराकिलो बनिरहेको थियो । दुस्मनको घेरा खुम्चिँदै गइरहेको थियो ।
यही क्रममा २०५५ कात्तिक १० गते रातमाटा पुलिस चौकी आक्रमणको क्रममा म घाइते भएँ । उपचारको लागि काठमाडौं गएको थिएँ । मेरो टोलीका साथीहरु पवन दाहाल, दिपक दाहाल, नवीन तामाङ, शम्भु थापा र मेरी बहिनी निर्मला पुलिसको घेरामा परे । यो २०५५ कात्तिक १७ गतेको घटना थियो । घेरामा परेका सबै मारिए ।
उपचारपछि म पुनः पार्टीको काममा जुटें । बम विषेशज्ञको रुपमा काम गर्छु र बम र बारुदसँग खेल्छु भन्ने संकल्प गरें । किनकि, मेरा साथीहरुको सामूहिक हत्याले मलाई आक्रोसित बनाएको थियो । तर, घाइते भएकाले मेरो जिम्मेवारी फेरियो । मलाई पार्टीले संगठनको जिम्मेवारी दियो । म सिन्धुली जिल्लाको सचिवालय सदस्य र पूर्वी एरिया सेक्रेटरी भएँ ।
उपचारपछि पुनः जिम्मेवारी
जनयुद्ध क्रमशः चलायमान युद्धमा विकास हुँदै थियो । सिन्धुलीको पूर्व भेग वर्ग संर्घषको केन्द्र बन्दै थियो । दुश्मनको भिषण दमनले सयौं साथीहरूको बलिदान, गिरप्mतारी र पलायन भइरहेको थियो । यसले हाम्रो आत्मावल कमजोर हँुदै थियो ।
यद्यपि, हामीले सिन्धुलीको आधार किल्ला रक्षा गर्न डटिरह्यौं । नजिकका जिल्ला जिल्लामा जान थाल्यौं । यही क्रममा म उदयपुर, सर्लाही, महोत्तरीलगायतका जिल्लामा संगठन र संर्घषको शिलसिलामा पुगें । २०५८ को पहिलो शान्ति वार्ता भंग भई संटकाल सुरु भएको थियो ।
पहिलो संकटकाल बेला म मकवानपुर सेक्रेटरी भएर करिब आठ महिना काम गरेँ । यही बेला जनयुद्धको इतिहासमा पहिलोपटक सेनामाथि कारवाही भएको थियो । त्यसपछि जनसैन्य भर्तीलाई व्यवस्थित गर्दै गयौं । २०५९ मा उदयपुरमा पार्टी बिस्तार, जनसेना निर्माण र प्रतिरोध गर्दै गयौं ।
जनसेना हुँदा लडाइमा सहभागी भएकामध्ये भोजपुरको घोडेटार, सिराहाको बन्दीपुरको स्मरण अविस्मणीय छ । २०६३ सालमा मोरङसम्मको फरक जिम्मेवार लिएर काम गरेको छु ।
अनि बुझें कमाण्डरको महत्त्व
जनयुद्धको प्रभावका दृष्टिकोणले पश्चिम नेपालभन्दा पूर्वी नेपालमा धेरै कमजोर थियो । त्यसैले पश्चिमबाट जनसेनाको कम्पनी स्तरको फौज र अत्याधुनिक हतियारसहितको टोलीले ओखलढुंगाको रुम्जाटारमा हमला गरेको थियो । भौगोलिक अवस्था अनुकूल नहुँदा, समन्वय मिलाउन नसक्दा र दुश्मनको बलियो किल्ला भएको कारण त्यो आक्रमणमा सफलता पाउन सकेनौं । यो नै पूर्वी क्षेत्रमा शाही सेनासँग गरिएको पहिलो लडाइ थियो ।
दोस्रोपटक भोजपुरको रिपिटर टावर सुरक्षार्थ रहेका सेनामाथि आक्रमण गर्यौं । यसपटक भने सेनाको टुकडीमाथि कब्जा जमाएपछि बल्ल राहत मिल्यो । पार्टीले यतिबेला रणनीतिक प्रत्यक्रमणको योजनाअनुसार राजनीतिक र फौजी हमलाको रुपमा, गोलमेच सम्मेलन, सर्वपक्षीय सरकार, संविधानसभाको चुनाव र गणतन्त्रको मागसँगै फौजीरुपमा तीन ‘स’ (सडक, सहर, सदरमुकाम) हमला गर्ने, दुश्मनको ढाडमा टेकेर टाउको हान्ने नीति अवलम्बन गरेको थियो ।
पश्चिम र मध्य कमाण्डमा प्रतिरोध युद्ध फौजी कारवाही, दुश्मनको दमन र घेराबन्दी तीव्र्र थियो । जनयुद्धलाई रक्षा गर्नुपर्ने अवस्था भएकाले पूर्वी कमाण्डले सैन्य हमला गरी दुश्मनको ध्यान विकेन्द्रित गर्नु थियो । यो उद्देश्य पूरा गर्न सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक कब्जा गर्ने निर्णय भयो । म १७औं बटालियन कमिसारको जिम्मेवारी लिएर बन्दीपुर हमलामा सामेल भएँ । कमरेड अनन्त, शितलकुमार, बलदेव, हितमान शाक्य, सुमन, परमाना, राजेश, सन्तोष, विश्वलगायत सहभागी थियौं ।
तर, सत्रुले नाइटभिजन हेलिकोप्टरको सहायताले आकशबाट आक्रमण गरेकाले हामीले सफलता प्राप्त गर्न सकेनौं । मेरो बटालियन कमान्डर रक्तिम, सहकमाण्डर फ्युजनका साथै अन्य साथीहरु सहिद भए ।
लडाइमा जित्दाभन्दा पनि हार्दा आफ्नो फौजलाई कुसलपूर्वक फर्काउनु कमाण्डरको सफलता मानिन्छ । कमण्डरविहीन भएकाले हामी माउ हराएको चल्लाजस्तै भयौं । त्यसैले साथीहरूको संयोजन, घाइतेको सुरक्षा र व्यवस्थापन सबै जिम्मेवारी मेरो काँधमा आयो ।
त्यसबेला मैले वास्तविक कमण्डरको अभाव महसुस गरेँ । त्यसैले जहिल्यै कमाण्डर र नेतृत्वको महत्त्व बुझ्छु । उनीहरुलाई आदर गर्छु ।
मृत्युको मुखबाट यसरी बाँचे
मेरो कार्यशैली र युद्ध अनुशासन कमजोर थिएन । त्यसैले दुश्मनको घेराबन्दीमा कमै परें । मेरो नेतृत्वमा काम गर्ने साथीहरूलाई पनि फौजी अनुशासन र भूमिगत कार्यशैलीबारे स्कुलिङ दिन्थें ।
सात राजनीतिक दलसँगको १२ बुँदे सहमतिपछि हामीले जनयुद्धलाई जनआन्दोलनसँग फ्युजन गर्यौं । राजा ज्ञानेन्द्र शाहले शाही कदम चालेपछि राजनीति दलहरुको आन्दोलन कमजोर हुँदै थियो । त्यसैबेला हाम्रो पार्टीले फौजलाई सहर, सडक र सदसमुकाम केन्द्रित गरिरहेको थियो । मेरो बटालियनको जिम्मा धनुषा, सिरहा र महोत्तरीमा परेको थियो । हामी ७५ जना साथीहरूसहित धनुषा बेसवनायर सहरमा गाउँबाट आन्दोलन गर्न जनता पठाउने, सडक र पुल सेबोटेज गरी अगामन रोक्ने र लजिष्टिक सप्लाइलाई अवरोध गर्नेका साथै दुश्मनको किल्ला सर्भे गर्ने काम गरिरहह्यौं । हाम्रो योजना जनतालाई सहर पठाएर दुश्मनहरुलाई ब्यारेकबाहिर बोलाउने र एम्बुस कारबाही गर्ने थियो ।
२०६२/०६३ को जनआन्दोलनमा सहमति हुनु दुई दिनअगाडिको एक बिहान धनुषाको तारापट्टिमा हामी दुश्मनको घेराबन्दीमा पर्यौं । त्यो उनीहरुको गुप्तचर समूह रहेछ । शौच गर्न गएका स्थानीय पार्टीका एकजना हाम्रो साथीलाई पक्राउ ग¥यो ।
त्यसपछि हामी बसेको सेल्टरको ढोकाअगाडि आएर माउजर लोड गर्नु सुरु गरे । कमिसार कमरेड किशोरलाई माउजरले ताके । म दुश्मन...दुश्मन भनेर कराएँ । हामीसँग एके ४७ थियो । हामीले पनि तयारी गरेपछि दुश्मनहरु भागे । मैले फायर खोल्न रोकें । यो घटनामा हामी र दुश्मन दुवै बच्यौं । उनीहरुको पछाडि १५० जनाको फौज रहेछ । हामी १९ जना मात्र थियौं । यसपटक बुद्धिमानीका साथ मृत्युको मुखबाट बच्यौं । तारापट्टिवासीको माया र हामीप्रतिको विश्वासले हामीलाई सुरक्षित गर्यो । यस घटनालाई म कहिल्यै भुल्न सक्दिनँ ।
प्रचण्डसँगको पहिलो भेट
मैले पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जनयुद्धकै वेला २०५५ सालमा पहिलो पटक भारतको सिलगुढीमा भेटें । त्यहाँ उहाँको प्रशिक्षण सुनें । त्यसपछि नै मैले बुझें हामी मरे पनि नेतृत्व बच्यो भने क्रान्ति सफल हुन्छ । यस कुरा बुझेपछि चुनौतीहरुको सामना गर्दै काममा जुटें ।
हरेक लडाईका मोर्चाहरुमा पहिलो ‘एसल्ट ग्रुप’मा नपरेका साथीहरु कमाण्डरसँग झगडा गरेर त्यस गु्रपमा पारिदिन आग्रह गर्दथे । ती साथीहरु अरुभन्दा अघि मारिन्थे । धेरै घाइते हुन्थे । ती साथीहरु निर्दाेष र ईमान्दार थिए ।
मृत्युको खबर बुवाआमालाई सुनाउन सकिनँ
मसँगै स्कुल पढेका साथीहरु पवन, दिपक, मीनकुमार, जया दाहाल जनयुद्धमा सहिद हुनुभयो । मलाई २०४८ सालमा सेल कमिटिमा संगठित गर्नुहुने मीनकुमार दाहाल र उनका भाइ पवन दाहाल थिए । उहाँहरुले २०४७ सालमा मलाई अखिल बन्न प्रेरित गर्नुभएको थियो । हामी एउटै कक्षका साथी थियौं । मुटुको बिरामी मीनकुमारको जेलमा निधन भयो । पवन दाहाल २०५५ कात्तिक १७ गते सहिद हुनुभयो । कान्छो भाइ देवी दाहाल ‘दीपेन्द्र’ पनि २०५६ मा आन्तरिक दुर्घटना (बम बनाउँदा टेक्निकल समस्याको कारण) सहिद हुनुभयो ।
उहाँहरु एकै हुनुहुन्छ । मीन र पवनले छोराले सहादत प्राप्त गरिसकेका थिए । त्यो बेला पनि आमाको मन कमजोर भएको भेटिनँ । आमाले त हामीलाई ढाडस दिनुहुन्थ्यो । ‘म सहिदहरुकी आमा । मेरा छोराहरुले देशका लागि रगत बगाए । उनीहरुको सपना पूरा गर्न तिमी छोराहरु बाँच र लड’ भन्नु हुन्थ्यो । पार्टीप्रतिको आमाको विश्वास कति दृढ थियो । यस्तो कुराले श्रद्धाले शिर झुक्थ्यो । कठोर र दृढ हुन मैले उनै आमाबाट सिकें ।
सानो छोरा दीपेन्द्र आमाको भरोसाको केन्द्र थिए । उनी पनि सहिद भए । वसन्त, प्रशान्त र म मध्यावदी चुनाव विथोल्ने योजनासहित आमालाई भेटेर दीपेन्द्रको खबर सुनाउन उनको घर जाँदै थियौं । हामी पुलिसको फराकिलो घेरामा पर्यौं । हामी जंगल गएर सुरक्षित भयौं । घाम डुब्नभन्दा केही समय अघि लुक्दै आमाको घर पुग्यौं । आमाले पुवा पकाउनुभयो । मोही र पुवा खुवाएर हाम्रो भोक मेटाउनुभयो ।
अनि कान्छो कहाँ छ ? भनेर सोध्नुभयो । उनको मृत्युको खबर सुनाउन सकेनौं । त्यसैले ‘ठिकै छ, आमा ।’ मात्र भनेर हिँड्यांै । यस बेलाको पीडा म कहिल्यै भूल्न सक्दिनँ । देश र जनताको मुक्तिको निम्ति लड्ने तीनभाइ छोरा जन्माउने महान् आमा । तपाईंको दुखेको घाउमा मलम लगाउन सधैँ इमान्दार बन्ने कोसिस गरिरहन्छु ।
मेरो घरबाट पनि छजना जनयुद्धमा सहभागी भएका थियौं । तीमध्ये दुई बहिनी निर्मला र मन्जु सहिद भए । उनीहरुले सहादत्त प्राप्त गरेपछि घर गएँ । यस घटनाबारे बुबाआमालाई कसरी सुनाऔं भनेर चिन्तित थिएँ । बहिनीहरुको मृत्युको खबर बुबाआमाले पाइसक्नुभएको रहेछ । बुबाले भन्नुभयो, ‘भाग्यमै यस्तो रहेछ । तीन वर्षमा तीनजना छोरी मरे । तिमीहरु जोगिएर काम गर । हामी जसोतसो घर सम्हाल्छौं । तिमीहरूको आफ्नो बाटो नछोड । बेलाबेला सन्चो÷बिसन्चोको खबर पठाउँदै गर ।’
आमाबाट नरम र मायालु बन्न सिकें । यो मेरो घरको शिक्षा भन्ने मान्छु । यी इमान्दार सिपाहीहरुले बगाएको रगत रगत र देखेको सपनाको भारी बोक्ने जिम्मेवारी लिएँ । त्यो जिम्मेवारी हामी बाँचेहरुको काँधमा छ । हामीले अझ कठोर र दृढ संकल्प गरौं । सहिदहरुको बलिदान खेर जाने छैन । सपनाहरु बीच वाटोमा अलपत्र छाडिने छैन ।
फरक जिम्मेवारी
भियतनामी योद्धा न्युगेन भानत्रयको जीवनी, दिलभूषण पटनायकको धन्यवाद, ग्यालड महोदय, चम्किलो रातो तारामा तुङचको रोल र आमा उपन्यास पढेर प्रभावित भएर उनीहरुजस्तै बन्ने प्रयत्नमा थिएँ ।
देशका लागि केही गर्छु । आवश्यक परे जीवन बलिदान गर्न डराउँदिन भन्ने थियो । त्यो बेला सांसद वा मन्त्री हुने सपना थिएन । हाम्रो पार्टी जनगणतन्त्रबाट एक कदमपछाडि र सात राजनीति दल संवैधानिक राजतन्त्रवाट एक कदमअगाडि आएपछि सबै संघीय लोकतात्रिक गणतन्त्रको विन्दुमा मिल्यौं । यही समयमा माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे सहमति भयो । यसले संविधानसभामार्फत मुलुकलाई गणतन्त्रमा पु¥यायो । माओवादी पनि खुला राजनीतिमा आयो ।
यही क्रममा मैले फरक जिम्मेवारी र कामको नयाँ अनुभव लिएँ । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा म युवा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी सम्हालें । यो क्रममा मैले थाहा पाएँ जनयुद्धमा ज्यान र शान्तिपूर्ण युद्धमा इमान्दारिता जोखिम हुने रहेछ ।
उपलब्धि र कमजोरी
१० वर्षे जनयुद्धले कम्युनिस्ट आन्दोलन, यसको नेतृत्व र विचारलाई स्थापित गर्दै वर्गीय उत्पीडनमा परेका किसान मजदुरमा विद्रोहको चेतना जगायो । यो महत्त्वपूर्ण राजनीतिक जागरण हो । महिला, दलित, मुस्लिम, जनजातिहरुमा आफ्नो अधिकारका लागि लड्ने साहस पैदा गर्यो । सामन्ती व्यवस्था अन्त्य गरी संघीय लोतान्त्रिक गणतन्त्र स्थापना गर्यो ।
यस्तै, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायका मुद्दाहरुलाई राजनीतिक मुद्दामा स्थापित गर्यो ।
यद्यपि, केही कमजोरी पनि अवश्य छन् । हामीले बाँडेका सपनाहरुका चाङ धेरै छन् । त्यसलाई पूरा गर्न सकिएको छैन । यस्तै, सहिद तथा बेपत्ता परिवार, घाइतेहरुको व्यवस्थापनसँग सम्वन्धित समस्या धेरै छन् । nagarikkhabar.com बाट
(लेखक पूर्व युवा तथा खेलकुद राज्यमन्त्री हुन्)