काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको पछिल्लो समय पार्टीबाहिर र भित्रैबाट आलोचनाको हुँदै आएको छ । दोस्रोपटक प्रधानमन्त्री भएका ओली सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवैको नेतृत्व छन् ।
ओली नेतृत्वको सरकारले जनजीविका सवालमा काम गर्न नसकेको आरोप पार्टीभित्र र बाहिर दुवैबाट हुँदै आएको छ । एउटा निश्चित समूहको फाइदाका लागि सरकारको गोकर्ण रिसोर्ट भाडामा दिनेजस्ता निर्णय गरिएको भन्दै आलोचना भइरहेको छ । यसका साथै सरकारमा रहेका ओली निकटका पात्र भ्रष्टाचारको आरोपमा मुछिएका छन् । यसले पनि प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा कमाएको लोकप्रियताको ग्राफ ह्वात्तै ओरालो लगाएको छ ।
पार्टीभित्र कमजोर हुँदै
नेकपा सचिवालय नौ सदस्यीय छ । जसमा अध्यक्ष तथा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा छन् ।
तीमध्ये सचिवालयमा ओलीको पक्षमा पोखरेल मात्र रहेका छन् । विष्णु पौडेल मध्यमार्गी छन् । तीबाहेक नेताहरु नेताहरु प्रचण्ड र नेपाल पक्षमा छन् ।
गत मंसिर २९ गतेदेखि पुस ६ गतेसम्मको बसेको स्थायी कमिटी बैठक र माघ १५ गतेदेखि २० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकमा पनि ओलीको तीव्र आलोचना भएको थियो । यी दुवै बैठकको उक्त दृश्यले पार्टीमा ओलीको अवस्था कमजोर रहेको देखाएको छ । आफू कमजोर भएको महसुस गरेपछि नै उनले केन्द्रीय कमिटी बैठकपछि केन्द्रीय कमिटीका लागि प्रधानमन्त्री निवास बालुवाटारमै भोजको आयोजनादेखि सारंगी साँझसम्मको आयोजना गरे । यद्यपि, त्यसपछि पनि पार्टीमा उनको पक्ष अवस्था सुधार भएन ।
आफैं प्रस्तावक, आफैं विरोधी !
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने प्रस्ताव सचिवालय बैठकमा गरेका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् । प्रधानमन्त्रीको प्रस्तावमा नौ सदस्यीय कमिटीबाटै उक्त निर्णय पास भएको थियो ।
तर, अहिले त्यही निर्णयविरोध प्रधानमन्त्री ओलीले गर्दैछन् । उनलाई सचिवालय सदस्य पोखरेलले मात्र सहयोग गरिरहेका छन् । यो अस्वभावितक भएको शाक्यको भनाइ छ । ‘उहाँ (ओली)ले नै सचिवालयमा प्रस्ताव गरी निर्णय गराउने, अहिले मान्दिन भन्नु गलत हो । यो उहाँले मान्नु पर्छ,’ शाक्यले भनिन्, ‘असहमत भएको भए बैठकमा नोट अफ डिसेन्ट लेख्नुपथ्र्यो ।’
पोखरेलको सुझावमा प्रधानमन्त्री ओली सचिवालय निर्णयविरुद्ध गएका नेकपा एक नेताले भने ।
यस्तै, संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदल पनि ओलीकै प्रस्तावमा निर्माण गरिएको एक सचिवालय सदस्यले बताए । माधव नेपालको संयोजकत्वमा सुवास नेम्बाङ र खिमलाल देवकोटा रहेको उक्त कार्यदल पनि ओली समूहकै विरोधपछि भंग भएको छ ।
एक सचिवालय सदस्यका अनुसार संविधान संशोधनको विषय गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउन मात्र नभई राष्ट्रियसभाको सिट थप्नुपर्ने, राष्ट्रिय जनता पार्टीले उठाइरहेका संविधान संशोधनका मुद्दाबारे पनि अध्ययन गर्ने थियो । संविधान संशोधनको विषयले राजपा सरकार आउने वातावरण बनाउनु पनि रहेको उनको जिकिर छ । तर, उक्त कार्यदलविरुद्ध पोखरेलले गलत प्रचारवाजी गरेकै कारण भंग गर्नु परेको ती सचिवालय सदस्यको आरोप छ ।
‘संविधान संशोधनको पक्षमा नेकपा तयार नभए राजपा सरकारमा जाने तयारीमा छैन,’ एक सचिवालय सदस्य भन्छन्, ‘राजपालाई सरकारमा ल्याएर ओली सरकार बलियो बनाउन खोज्दा ओली आफैँ विरोध गछन्, यो राम्रो संकेत होइन ।’
सचिवालय सदस्य झलनाथ खनाल भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय निर्णयलाई अस्वीकार गर्न नपाउने बताउँछन् । ‘पार्टीमा कसैलाई पनि सचिवालय निर्णय अस्वीकार गर्न पाउने अधिकार छैन,’ उनी भन्छन्, ‘अध्यक्ष तथा प्रधानमन्त्रीले पनि पाउनु हुन्न । गौतमजी राष्ट्रियसभामा सदस्यमा सिफारिस हुनुहुन्छ ।’
यस्तै, स्थायी कमिटी सदस्य मातृका यादवले सचिवालको निर्णय अध्यक्ष तथा प्रधानमन्त्री ओली नमारेर सुख नपाउने बताउँछन् । ‘आफैँले प्रस्ताव गरेर निर्णय गराउने अनि नमान्ने गलत संस्कारको विकास भएको छ,’ यादवले भने, ‘संविधान संशोधनको प्रस्ताव र गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव मान्दिनँ भन्न पाउनु हुन्न ।’
आसेपासेका चेपुवामा ओली
ईश्वर पोखरेल पहिले तत्कालीन एमाले हुँदा माधव नेपालको गुटका हुन् । ओली अध्यक्ष हुने समय ओली गुटमा समावेश भएका हुन् । उनी शक्तिमा जो आउँछ उसैको पिछा गर्ने नेताको रुपमा चिनिने एक नेताले बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा पनि पोखरेलकै सुराकी भएको नेकपाको बुझाइ छ ।
भ्रष्टाचारको आरोप लागेपछि केही दिनअघि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पनि ओलीका सबैभन्दा निकट हुन् ।
उनीहरुले नै कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न तर्कबाजी गरिरहेको प्रचण्ड निकट नेताहरुको आरोप छ । संविधान संशोधन र गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयविरुद्धमा पन उनीहरु लागिपरेको नेकपा नेताहरुको दाबी छ ।
‘ओली आफैँमा गलत मान्छे होइनन्, किनकि, उनकै नेतृत्वमा पूर्वमाओवादी केन्द्रसँग पार्टी एकता गरेका हुन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘पछिल्लो सयमा ओलीका नजिकका मान्छेले नै उनलाई कमजोर बनाउँदै लगे ।’
नेकपामा विवाद छैन : महासचिव पौडेल
महासचिव विष्णु पौडेलले नेकपाभित्र कुनै पनि विवाद नरहेको दाबी गर्छन् । ‘नेकपामा कुनै पनि विवाद छैन,’ उनले भने, ‘अलि अलि भएको विवाद पनि छलफल गरेर मिल्छ ।’
उनी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय पनि मान्नेमा पनि विश्वास व्यक्त गर्छन् ।
ओलीलाई कमजोर बनाउँदै खतिवडा !
प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान नमान्नुको मुख्य कारण अर्थमन्त्री डा. युवराज खतिवडा हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा मनोनित खतिवडाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदै छ ।
प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्र उनी खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन् । खतिवडाको संरक्षणमा लाग्दा पनि ओलीले पार्टीमा साथ पाउन छाडेको ओली निकटका नेताहरुको बुझाइ छ ।
‘ओली पार्टी र जनताको नेता बन्नलायक व्यक्ति लाग्दथ्यो,’ ओली निकट एक नेताले भने, ‘तर, एक व्यक्तिको पक्षमा लाग्दा हामी पनि बदनम हुने भयौं ।’
- विदुर कटुवाल ले nagarikkhabar.com मा लेखेका छन्