-प्रतिबन्धको वेला पनि तरकारी, दूध, फलफूलको आपूर्ति नियमित हुने
-इन्धन मौज्दात पर्याप्त, २२ ग्यास उद्योगले विशेष डिलरबाट ग्यास बिक्री गर्दै
-सबै ठूला नाकाबाट निर्बाध आयात निरन्तर, आयातीत वस्तुको अभाव हुन नदिने सरकारको प्रतिबद्धता
सरकारले अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको अवधि ९ देखि २१ चैतमा खाद्यान्न, तरकारीलगायत सामानको आपूर्ति सहज हुने भएको छ । यस अवधिमा किराना, तरकारी, दूधलगायत अत्यावश्यक सेवा दिने पसल खुल्ने आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यस्तै, पेट्रोलियम एवं ग्यासको आपूर्ति पनि सहज बनाइने नेपाल आयल निगमले जानकारी दिएको छ ।
हालसम्म भारतबाट सामान आयात गर्ने सबै ठूला नाका सहज रूपमा सञ्चालन भइरहेको र अबका दिनमा पनि यहीअनुरूप आयात सुचारु रहने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । ‘भारतलगायत अन्य मुलुकबाट फागुन महिनामा अघिल्लो वर्षको भन्दा पनि धेरै आयात भएको छ, सरकारले नाका बन्द गर्ने भनेको छैन, त्यसो हुँदा निर्बाध रूपमा आयात हुनेछ,’ महानिर्देशक दाहालले भने, ‘त्यसैले सामान आयात नभएर बजारमा अभाव हुने हो कि भन्ने चिन्ता लिनुपर्दैन ।’
उद्योगी तथा व्यवसायीहरूले समेत खाद्यान्न र अत्यावश्यक सेवाको आपूर्ति भने सहजै रूपमा भइरहेको र त्यो निरन्तर रहने बताएका छन् । तरकारी, फलफूलको स्वदेशी उत्पादन र आयातमा कुनै समस्या नदेखिएको व्यवसायीले जनाएका छन् । इन्धनको मौज्दात पर्याप्त रहेकाले आपूर्तिमा कुनै समस्या नहुने आयल निगमले जनाएको छ । उता, ग्यासको आपूर्तिलाई सहज बनाउन २२ उद्योगीले विशेष डिलरबाट ग्यास बिक्री–वितरण गर्न थालेका छन् ।
तरकारी, फलफूलको आपूर्ति नियमित
तरकारी, फलफूलको स्वदेशी उत्पादन र आयातमा कुनै समस्या देखिएको छैन । नियमित आपूर्ति भई सहज रूपमा बिक्री–वितरण भइरहेको तरकारी तथा फलफूल व्यवसायीले बताएका छन् ।
‘मागअनुसारै आपूर्ति भइरहेको छ । स्वदेशी उत्पादन र भारतबाट ल्याउन कुनै समस्या छैन,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘सरकारी मापदण्डमा रहेर हामी हर्दम बिक्री–वितरण सुचारु राख्न तयार छौँ ।’
तरकारी तथा फलफूल अत्यावश्यकीय वस्तु सूचीमा पर्छ । त्यसैले पसल बन्द गरेर नबस्ने घिमिरेले जानकारी दिए । ‘बिहान ३ बजे नै थोक बजार खुल्छन् । करिब ७ बजेदेखि खुद्रा तरकारी, फलफूल पसल उपभोक्ताका लागि खुला हुन्छन्,’ उनले भने, ‘समस्या जटिल हुँदै गए, बिक्री–वितरणको यो तालिकामा केही फेरबदल गर्नुपर्ला, तर पसलै बन्द गरेरचाहिँ बस्दैनौँ ।’
हाल काठमाडौं उपत्यकामा दैनिक करिब ७ सय टन तरकारी आयात भइरहेको छ । आयातमा कुनै समस्या नभएकाले मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ । हाल स्याउ र लसुन आयातमा चीनले कडाइ गरेको छ । यी वस्तुको मूल्यचाहिँ सामान्य बढ्न सक्ने उनले जानकारी दिए ।
खाद्य वस्तु पर्याप्त किराना पसल खुलै रहने
खुद्रा व्यवसायीले पनि हरहमेसा किराना पसल खुला राखेर उपभोक्तालाई सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले किराना पसलहरू खुला रहेको र आगमी दिनमा पनि खुला राख्न तयार रहेको जानकारी दिए ।
‘पर्याप्त मौज्दात छ । हामी उपभोक्तालाई जति पनि सामान उपलब्ध गराउन तयार छौं,’ उनले भने, ‘कसैले पनि पनि त्रसित भएर खाद्य वस्तु नथुपारेकै राम्रो ।’ उनले खाद्य वस्तुको मौज्दात र उपलब्धता पर्याप्त रहेको बताउँदा उपभोक्तालाई निर्धक्क सामान खरिद गर्न आग्रह गरे ।
पेट्रोलियमको सहज आपूर्ति
नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको दाबी गरेको छ । निगमले दैनिक रूपमा भित्रिने पेट्रोल, डिजेल, ग्यास परिमाणको जानकारी प्रवाह गरेर आपूर्तिमा कुनै समस्या नरहेको बताएको हो । निगमका अनुसार खाना पकाउने एलपी ग्यासको आयात पनि बढाइएको छ । शनिबार मात्रै वीरगन्ज नाका हुँदै ४२ बुलेट ग्यास भित्रिएको छ । यसमध्ये १९ बुलेट काठमाडौंमा उपलब्ध ग्यास उद्योगका हुन् । त्यसैगरी, शनिबारै भैरहवा नाकाबाट ३० बुलेट ग्यास भित्रिएको छ । यसमध्ये करिब २० बुलेट काठमाडौंका उद्योगका लागि हुन् ।
२२ ग्यास उद्योगले विशेष डिलरबाट ग्यास बिक्री गर्दै
काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर विशेष डिलरबाट ग्यास बिक्री गर्ने भएका छन् । आइतबार बिहान १० देखि बेलुका ५ बजेसम्म उपभोक्ताले मागेजति ग्यास दिने गरी २२ उद्योगले विशेष डिलरबाट ग्यास बिक्री गर्ने निर्णय गरेका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका डिलरबाट ग्यास वितरण गर्न लागिएको हो । ‘जतिसुकै ग्यास वितरण गर्दा पनि उपभोक्ताको सञ्चित गर्ने बानीका कारण माग पूरा गर्न सकिएन,’ उनले भने, ‘त्यसैले अब उपभोक्ताले मागेजति ग्यास दिन निश्चित डिलर राख्ने निर्णय गरेका छौँ ।’
उनका अनुसार नेपाल ग्यासले काठमाडौंको बालाजुस्थित बिएमसी कर्नर र अनामनगर स्टोर तथा ललितपुरको सातदोबाटोस्थित एसएन स्टोरबाट ग्यास उपलब्ध गराउनेछ ।
त्यस्तै, सगर र चण्डी ग्यासले जडीबुटीस्थित डिपोबाट ग्यास उपलब्ध गराउनेछन् । साल्ट ट्रेडिङ कर्पोरेसनले कालिमाटीस्थित केन्द्रीय कार्यालय र जडीबुटीस्थित शाखा कार्यालयबाट एसटिसी ग्यास दिनेछ । ओम ग्यासले थली (डाँछी) स्थित आदर्श स्टोर र नैकापस्थित उत्सव खड्का स्टोरबाट ग्यास बिक्री–वितरण गर्नेछ ।
बाबा, श्री र लुम्बिनी ग्यासका उपभोक्ताले कपनमा रहेको भद्रा फ्युल सेन्टर र धुम्बाराहीमा रहेको इलाइड सिलअगाडिबाट खरिद गर्न पाउनेछन् । एचपी ग्यासले अशिम किचन एन्ड सप्लायर्स (९८५१०६०४३६), सिद्धार्थ ग्यासले इमाडोलस्थित केसी एलपी गस सप्लायर्स, श्रीमायाले सतुंगलस्थित कम्पनीको डिपो, लोकप्रियले नैकापस्थित भान्जा टे«डर्स, राजधानी ग्यासले सीतापाइलास्थित बिक्री डिपो, सूर्य ग्यासले जगातीस्थित जोशी भीमसेन स्टोरबाट ग्यास बिक्री गर्ने जनाएको छ ।
त्यसैगरी, गीता ग्यासले धुम्बाराहीस्थित टोयाटा सोरुमअगाडि, हिमाल ग्यासले भगवती बहालस्थित प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, नमस्ते ग्यासले कोटेश्वर (मनोहरा) स्थित कमार स्टोर, भानु ग्यासले गंगबुस्थित लीला ग्यास डिपो, एभरेस्ट र सुगम ग्यासले सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेड र श्रीराम ग्यासले हरिसिद्धि (ललितपुर) स्थित बिक्री डिपोबाट ग्यास बिक्री गर्ने जनाएका छन् । मनोज ग्यास उपभोक्ताले सानेपास्थित सुमन सम्राट स्टोर र न्यु नविन स्टोर गएर ग्यास लिन सक्ने संघले जनाएको छ ।
यी डिपोका साथै उपभोक्ताले घरनजिकै रहेको डिलरबाट समेत ग्यास पाउने उद्योगीले बताएका छन् । ‘डिलरबाट चाहेको समयमा छिटो ग्यास पाउन नसकेका उपभोक्ताका लागि विशेष डिलरबाट ग्यास दिने व्यवस्था गरिएको हो,’ अध्यक्ष भण्डारीले भने, ‘उपत्यकाका सबै डिलरमा नियमित रूपमा उद्योगबाट ग्यास आपूर्ति भइरहेकाले उपभोक्ताहरू धेरै नअत्तालिन आग्रह गर्दछु ।’
अत्यावश्यकीयबाहेकका पसल बन्द गरेकै राम्रो : विभाग
वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले अत्यावश्यकबाहेकका वस्तु तथा सेवा बिक्री गर्ने पसल बन्द हुँदै जानु स्वाभाविक भएको प्रतिक्रिया दिएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अत्यावश्यकीय वस्तुको सेवा दिने पसल, सपिङ मललाई आग्रह गरेर सुचारु गर्न लगाउने बताए । तर, अन्य वस्तु तथा सेवा बिक्री गर्ने पसल बन्द भए कोरोना भाइरस नियन्त्रणलाई सघाउ पुग्ने सुवेदीको भनाइ छ । ‘अत्यावश्यकबाहेकका सेवा प्रदान गर्ने पसलहरू बन्द गर्नुलाई अन्यथा लिनुहुन्न,’ उनले भने, ‘यसबाट कोरोना भाइरस नियन्त्रणका लागि सहयोग मिल्छ ।’
सबै भन्सारबाट निर्बाध आयात
नेपालका सबै भन्सार नाकाबाट निर्बाध रूपमा आयात भइरहेको सरकारी अधिकारी र व्यवसायीले जानकारी दिएका छन् । विराटनगर, वीरगन्ज, भैरहवा, काँकडभिट्टा, गड्डाचौकीलगायत सबै नाकाबाट सामान्य रूपमा आयात भइरहेको उनीहरूले बताए । ‘छोटी भन्सारहरूबाट अन्य समयमा पनि प्रतिव्यक्ति ५ हजार रुपैयाँभन्दा बढीको आयात गर्न मिल्दैन, आयात हुने अन्य मुख्य भन्सार नाकाबाट नै हो,’ महानिर्देशक दाहालले भने, ‘मेची, विराटनगर, वीरगन्ज, भैरहवालगायत नाकाबाट अहिले पनि नियमित आयात भइरहेको छ ।’ नेपाल समुद्रपार निकासी–पैठारी संघका अध्यक्ष सुनीलकुमार धानुका (वंशल)ले पनि सामान्य अवस्थामा झँै सबै मुख्य नाकाबाट मालवस्तु भित्रिरहेको जानकारी दिए ।
भारतकै बन्दरगाहमा १४ दिने क्वारेन्टाइन
भारतले आफ्ना बन्दरगाहमा आएका मालवस्तुलाई १४ दिने क्वारेन्टाइनमा राख्न सुरु गरेको छ । विभिन्न मुलुकबाट आएका मालवस्तुलाई जहाज (सिप)मै १४ दिन क्वारेन्टाइनमा राखेरमा मात्रै लोड–अनलोड गर्न थालेको विभागका महानिर्देशक दाहालले जानकारी दिए । नेपालमा कोलकाता र विशाखापट्टनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट मालवस्तु आयात हुने गर्छ । अब तेस्रो मुलुकबाट जलमार्गमार्फत नेपाल आउने वस्तु भारतीय बन्दरगाहमा क्वारेन्टाइनमा बस्नेछन् । तर, यसले नेपालको आयात प्रभावित नहुने धानुका बताउँछन् । ‘दैनिक रूपमा आयात भइरहने हुँदा १४ दिन त्यहाँ क्वारेन्टाइनमा राख्दा हाम्रो आयातको चक्रमा समस्या आउँदैन,’ उनले भने, ‘सामान्य समयमा पनि विभिन्न समस्याका कारण कोलकाता बन्दरगाहमा एक–डेढ साता कुर्नुपर्ने हुन्छ ।’
उत्तरी नाका खोल्ने कसरत
चीनतर्फ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएपछि सरकारले उत्तरतर्फका नाकासमेत सञ्चालनमा ल्याउने कसरत गरेको छ । नेपाल–चीनबीचका रसुवागढी र तातोपानी नाका खोल्न दुई पक्षबीच निरन्तर छलफल भइरहेको छ । गत बिहीबार सरकारले गरेको पत्रकार सम्मेलनमा समेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उत्तरतर्फका नाका खोल्नेबारे छलफल भइरहेको बताएका थिए । ‘रसुवागढी र तातोपानी नाकाबाट आउने केही सामान रोकिएका छन्, स्वास्थ्य सुरक्षा र क्वारेन्टाइनको व्यवस्था गरेर खोल्न सकिनेबारे छलफल भइरहेको छ,’ उनले भनेका थिए, ‘१४ दिनभन्दा बढी त्यहाँ रहेका कन्टेनर ल्याउन सकिन्छ कि भन्ने विषमया छलफल भइरहेको हो ।’ कोरोना महामारी सुरु भएदेखि नै नेपाल–चीनबीच सञ्चालनमा रहेका दुवै नाका बन्द अवस्थामा छन् ।
भारतकै बन्दरगाहमा नेपाली कार्गो क्वारेन्टाइन
सुमन दाहाल महानिर्देशक, भन्सार विभाग
आयात व्यापार झन् बढेको छ । अघिल्लो वर्षको फागुनमा भन्दा यो वर्षको फागुनमा आयात ४ प्रतिशतले बढेको छ । आयात व्यापार कोरोनाबाट प्रभावित नभएको प्रस्ट देखिन्छ । हाम्रा सबै नाकाबाट आयात भइरहेकै छन् । अहिले भारतले कोलकाता र विशाखापट्टनम बन्दरगाहमा सबै कन्साइमेन्टलाई सिप (जहाज)मै १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै अनलोड गर्ने गरिएको छ । हामीले पनि अहिले कन्टेनरहरूलाई स्प्रे गरेर मात्रै छाड्ने गरेका छौँ ।
आयात सामान्य छ, आपूर्तिमा समस्या हुँदैन
सुनीलकुमार धानुका (वंशल), अध्यक्ष, नेपाल समुद्रपार निकासी–पैठारी संघ
निर्यात व्यापार अलि प्रभावित भएको छ । तर, आयात सामान्यमै छ । वीरगन्ज, भैरहवालगायतबाट आयात आइरहेकै छन् । कोलकाता र विशाखापट्टनम बन्दरगाहमा खासै समस्या छैन । तर, आयातकर्ता भने केही अलमलमा छन् ।
हाम्रो संघले यसअघि नै सरकारी अधिकारीलाई भेटेर आपूर्ति व्यवस्थापनमा सघाउने तथा आयात–व्यापार र आपूर्तिको चेनलाई बिग्रिन नदिने प्रतिबद्धता जनाइसकेको छ, सोहीअनुसार काम पनि भइरहेको छ । सरकारको निर्णय हामी कार्यान्वयन गर्न सदैव तयार छौँ ।
फागुनमा मात्रै सवा खर्बको आयात
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण त्रासमा पनि नेपालको आयातमा भने सामान्य सुधार आएको छ । फागुन एकै महिनामा मात्रै सवा खर्ब रुपैयाँबराबरको मालवस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ ।
फागुन महिनामा मात्रै नेपालमा १ खर्ब २० अर्ब ४७ करोड रुपैयाँबराबरको मालवस्तु आयात भएको छ । यो अघिल्लो वर्षको फागुन महिनाको तुलनामा ४ प्रतिशतले बढी हो । गत आव ०७५/७६ को फागुन महिनामा १ खर्ब १५ अर्ब ८४ करोड रुपैयाँबराबरको आयात भएको विभागको तथ्यांक छ ।
चालू आर्थिक वर्ष आयात निरन्तर घट्दै आएको छ । गत माघमा आयात ३ दशमलव ५६ प्रतिशतले घटेको थियो । फागुनसम्म आइपुग्दा गिरावट दर ३ प्रतिशतको हाराहारीमा खुम्चिएको विभागका महानिर्देशक सुमन दाहालले बताए । विभागका अनुसार फागुनसम्ममा ९ खर्ब २० अर्बको आयात भएको छ । यो अघिल्लो महिनाको तुलनामा झन्डै ३ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को आठ महिना अर्थात् फागुनसम्ममा ९ खर्ब ४९ अर्ब १० करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो ।
आपूर्ति सहज नगरेको भन्दै आयल निगमका दुई विभाग प्रमुखको सरुवा
भारतबाट पर्याप्त मात्रामा पेट्रोल, डिजेल आए पनि काठमाडौं उपत्यकामा सहज रूपले वितरण गर्न नसकेको भन्दै आयल निगमका दुई उच्च अधिकारीको सरुवा गरिएको छ ।
आयल निगमको देशैभरको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुख विनीतमणि उपाध्यायको सरुवा भएको हो । आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले शुक्रबार साँझ अकस्मात् दुवै कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
स्रोतका अनुसार निगम प्रवक्तासमेत रहेका गोइतलाई प्रबन्ध निर्देशकको कार्यालयमा विनाजिम्मेवारी सरुवा गरिएको छ । त्यसैगरी, थानकोट डिपो प्रमुख उपाध्यायलाई अहिलेको असहज परिस्थितिमा इन्धन वितरण प्रभावकारी ढंगले गर्न नसकेको आरोप लगाउँदै केन्द्रीय कार्यालय तानिएको हो ।
स्रोतका अनुसार कोरोना भाइरसको त्रासका कारण पेट्रोलियम पदार्थको माग बढ्दा आपूर्ति सहज गर्न नसकेको विषयमा प्रबन्ध निर्देशक पौडेल सबैभन्दा बढी गोइतसँग रुष्ट थिए । गोइतले भारतीय आयल कर्पोरेसन (आइओसी)को बरौनी र रक्सौल डिपोबाट इन्धन ल्याउन तथा निगमको अमलेखगन्ज डिपोबाट आएको तेल थानकोटबाट पेट्रोलपम्पसम्म वितरण गर्न तदारुकता नदेखाएको रिपोर्ट प्रबन्ध निर्देशक पौडेलसमक्ष पुगेको थियो ।
त्यसैगरी, थानकोट डिपो प्रमुख उपाध्यायले बिहानैदेखि तेल बाँड्न नसकेको र रातिसम्म डिपो खोलेर तेल दिन आनाकानी गरेकै कारण उपत्यकाका पम्पमा समयमा तेल नपुगी उपभोक्ताको लाइन बढेको प्रबन्ध निर्देशक पौडेलको बुझाइ थियो । गोइत र उपाध्यायका कारण उपत्यकाका उपभोक्ताले सास्ती खेपेको रिपोर्ट आएपछि दुवैलाई एकैसाथ केन्द्रीय कार्यालय तानिएको हो ।
थानकोट डिपोमा यादव
असहज परिस्थितिमा उपभोक्तालाई सहज रूपले इन्धन वितरण गर्न सक्ने क्षमता विकास गरेका निर्देशक प्रदीप यादवलाई थानकोट डिपो प्रमुखको जिम्मेवारी दिइएको छ । उनले आइतबार चिठी बुझेर सोमबारबाट डिपो सम्हाल्नेछन् । यादवले निगमभित्र कुशल व्यवस्थापकको परिचय बनाएका छन् ।
‘यादव अमलेखगन्ज रहकै वेला तोकिएको भन्दा कम समयमा पेट्रोलियम पाइपलाइन निर्माण गर्न सहयोग मिलेको थियो,’ निगमका एक उच्च अधिकारीले भने, ‘पाइपलाइनको भव्य उद्घाटन समारोह आयोजन गर्ने, पाइपलाइन सञ्चालनमा आएपछि नियमित रूपमा इन्धन आपूर्तिमा समस्या हुन नदिने र अमलेखगन्ज डिपोमा करिब अढाई वर्ष बिताउँदा डिपो सुधारमा उल्लेख्य भूमिका खेलेका आधारमा उनलाई प्रबन्ध निर्देशक पौडेलले थानकोट डिपोको प्रमुख बनाएका हुन् ।’
यादव एक महिनाअघि मात्र अमलेखगन्ज डिपोबाट सरुवा भई केन्द्रीय कार्यालयमा आएका थिए । उनी यहाँ आएलगत्तै कोरोना भाइरसको त्रासले बजरमा ग्यास अभाव भएको थियो । त्यसपछि प्रबन्ध निर्देशक पौडेलले बरौनी रिफाइनरीमा करिब १० दिन यादवलाई राखेर ग्यास लोड–अनलोडको काममा खटाएका थिए । बरौनीमा रहँदा उनले प्रतिदिन ३०–४० बुलेट ग्यास लोड गराई नेपालमा पठाएर आपूर्ति सहज गर्न भूमिका खेलेका थिए । nayapatrika.com बाट