हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ का कांग्रेसबाट बिजयी वडा अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ।
अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिन खोज्दा स्थानीयस्तरबाट चर्को आवाज उठेको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छानबिन समिति बनाउने तयारी गरिएको बताए। जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरु सधैं सचेत रहेको भन्दै उनले यस विषयको गम्भीर छानबिन हुने उनले बताए।
वडा–३ बाट उनीहरु वडा–१ मा बसाईं सरेर गएका थिए। तर, वडा–७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ। तीन ठाउँबाट भक्ता लिइएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते पठाइएको थियो। उक्त उजुरीबारे छानबिन अघि बढेको छ।
उक्त उजुरी अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा दर्ता भएको छ। मनहरीका सचेत युवाको नाममा दिइएको उजुरीमा छानबिन गर्न माग गरिएको छ। युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई कानुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले गाउँपालिकाका तर्फबाट गल्ती भएको र उक्त गल्ती सच्याइएको बताए। उनले यसअघि लिइएको रकम फिर्ता ल्याइसकिएको दाबी गरे।
गाउँपालिकाले बढी भुक्तानी भएको जानकारी गराएपछि बढी भुक्तानी भएको १६ हजार रुपियाँ पालिकाकै खातामा जम्मा गरिएको वडा कार्यालयले बताएको छ। तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो।
बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम रोक्का गरेर पालिकाले लाभग्राहीलाई बढी भुक्तानी भएको रकम दाखिला गराइसकेको मनहरी गाउँपालिकाले जानकारी दिएको छ ।