रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२४ को विश्व रेडियो दिवसले Radio: A century informing, entertaining and educating.... भन्ने नारा अँगालेको छ ।
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् ।
रेडियो शब्दको प्रयोग सन १८९७मा सर्व प्रथम फ्रान्सका भौतिक शाश्त्री बान्लीले गरेको इतिहास छ । यस अघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो । सन् १९१० तिर रेडियोलाई पानी जहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ भने दोश्रो विश्वयुद्ध ताका रेडियोको प्रयोग प्रचुर मात्रामा युद्ध क्षेत्रमा भएको देखिन्छ ।विश्वमा सर्वप्रथम अमेरीकामा सन १९२० मा पहिलो नियमित रेडियो स्टेशन स्थापना भयो भने नेपालमा अनौपचारिक रुपमा वि.सं. २००३ र औपचारिक रुपमा वि.सं. २००७ सालमा रेडियो प्रसारण नियमित भयो ।
जन्मकाल देखिनै रेडियोको मर्म भनेकै मुख्य रुपमा सूचना दिने र मनोरञ्जन गर्ने देखिन्छ ।
संयुक्त राष्ट्र संघ अन्तरगतको युनेस्कोका सदस्य राष्ट्रहरुद्वारा सन २०११ मा घोषणा गरे संगै सन १०१२ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउन थालेको पाइन्छ । रेडियोले आफ्नो स्थापनाकाल देखि आजसम्म गर्दै आएको सेवाको आधारमा सूचना/समाचार दिने, मनोरञ्जन प्रदान गर्ने र शिक्षाप्रद विषयवस्तुहरु पस्कन बर्षौ देखि प्रयास गरेको देखिनछ।
रेडियोलाई मानवता सम्बन्धी विविध पक्षको उजागर गर्ने र प्रजातान्त्रिक बहस/छलफल अगाडि बढाउन गतिलो प्लेटफर्म/माध्यमका रुपमा लिइन्छ । आजसम्म सबैभन्दा बढी उपयोग भएको सञ्चार माध्यमका रुपमा रेडियो माध्यमनै अग्रस्थानमा पर्दछ । यसरी सबै सञ्चार माध्यम भन्दा अघि आउनुमा रेडियोले समाजको विविध अनुभवलाई सबै सामु ऐना सरह उतार्न सक्नु, आपसमा बाँड्न सक्नु र सबै वर्ग/क्षेत्र/लिङ्गका आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्नु नै मुख्य कारणहरु हुन् ।
रेडियो सजिलो र सस्तो आमसञ्चार माध्यमको साधन हो त्यसैले यस्को पछिल्लो अबस्थामा बिकास हुने क्रम चलेको देखिन्छ ।
सूचना तथा प्रसारण विभागको पछिल्लो अभिलेख अनुसार नेपालमा एफ.एम. ७१४ नियमित प्रसारण र इजाजत प्राप्त एफ.एम. रेडियोको संख्या ११८६ पुगेको छ । नेपालका रेडियोहरुमा रेडियो नेपाल अग्रणी रेडियो प्रासारण संस्थाको रुपमा विगतदेखि नै क्रियाशिल छ । वि.सं. २०५२सालमा नेपालमा पनि एफ.एम. प्रविधिमा प्रसारण शुरु भएदेखि एफ.एम. रेडयोहरुको मनग्गे विस्तार र विकास भएको पाइन्छ ।
नेपाल बहुदलिय लोकतान्त्रिक व्यवस्था देखि संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थासम्म आउने क्रममा रेडियोहरुको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको पाइन्छ । यसरी नेपाली समाजको अभिव्यक्ति स्वतन्तत्रता र सूचनाको हकलाई व्यवहारमा ल्याउने देखि समाज रुपान्तरणको प्रकृया सम्म नेपाली रेडियोहरुले महत्वपूर्ण भुमिका खेलेका छन ।त्यसै गरि हरेक प्रदेश र धेरै जसो स्थानीय तहमा रहेका एफ.एम. रेडियोहरुले नागरिक सचेतना अभिवृद्धि गर्न र सरोकारवालाहरुको मागलाई सरकार समक्ष पुर्याउन, सुशासन कायम गर्न पहरेदारको भुमिका पनि निभाएका छन् ।
नेपाल ग्रामिण तथा शहरी क्षेत्रमा रेडियोहरुको उपस्थिति पनि राम्रैसंग पुगेको पाइन्छ ।
(तथ्यांक संकलन विभिन्न अनलाइन समाचार बाट)