डोटी । दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी ले नगरपालिका भित्र डेंगु नियन्त्रण गर्न सक्रियता बढाएकी छन् ।
नगर प्रमुख मलासी को अग्रसरतामा डोटी मा पहिलो पटक डेंगु नियन्त्रण गर्न अभियान थालिएको छ । नगरपालिकाले सरोकारवालाहरु संग मिलेर सुरु गरिएको डेंगु नियन्त्रण मा नगर प्रमूख मञ्जु मलासी स्वयम आग्रसर छिन् ।
भाद्र ५ गते डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ थाप्ला की ४२ वर्षीया छत्रकुमारी मलासी को डेंगु रोगका कारण मृत्यु भएपछि दिपायल सिलगढी नगरपालिकाले नगर भित्र सनिवार देखी सो अभियान शुरु गरेको छ ।
डेंगु ले मृत्यु भएकी मलासी को टोल दिपायल सिलगढी नगरपालिका ६ थाप्ला बाटै नगरपालिकाले जिल्लाका सरोकारवालाहरु र स्थीनियहरु संग को सहकार्य मा डेंगु बारेमा टोल टोल मा जनचेतना मुलक अभियान थालेको छ ।

डेंगु नियन्त्रण अभियानमा जिल्लाका सरोकारवालाहरु जिल्ला समन्वय समिति उप–प्रमूख शशी शोव, डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रमूख प्रहरी उपरिक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधी, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर भुषण मिश्र लगाएत स्वास्थ्यकर्मी, सरकारी तथा गैर सरकारी संघसँस्थाका प्रतिनिधी, पत्रकार लगाएतको टोली अभियान मा जुटेका छन् ।
डेंगु (Dengue) एडिज (Aedes) प्रकारको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो । डेंगु नियन्त्रणको मुख्य उपाय भनेको लामखुट्टेको लार्भा र प्युुपालाई मार्ने नै हो । पोथि लामखुट्टेले सफा पानीमा फुल पार्छ र त्यो लार्भा, प्युपा हुदैं बयस्क लामखुट्टेमा परिणत हुन्छ । अत: सफा पानी जम्ने सबै ठाउको सरसफाइबाट यसको अन्त्य गर्न सकिन्छ । त्यसैले आफ्ना घर, अफिस सबैतिर कुनै पनि ठाउमा, भाडोमा पानी बासी भएर बसेको छ भने दुइ तिन दिनमा त्यसलाई सफा गर्ने या फेर्ने काम गर्यो भने डेंगु सार्ने लामखुट्टेको फुल नष्ट गर्न सकिन्छ ।
डेंगु नियन्त्रण गर्न नगरपालिकाले शनिवार बाटै स्वास्थ्य इकाइ शाखाले महिला स्वयंसेवीकाहरुका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको नगर स्वास्थ्य इकाइ प्रमुख राजु खड्का ले बताईन । नगर स्वास्थ्य इकाइ प्रमुख ले भनिन "अब हामी स्वयंसेविकाहरु मार्फत गाउँमा आमा समूह, महिला समूहमार्फत डेंगु बारे सचेतना फैलाउने छौ ।" इकाइ प्रमुख खड्का ले विद्यालयमा समेत डेंगु बारेमा कक्षा सञ्चालन गर्ने तयारी भईरहेको बताईन ।

डेंगु को संक्रमण विशेष गरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भईराखेको पानी, टायर, बोत्तल र बिर्काेहरु लगाएतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नुपर्ने उपायहरु अपनाउनु पर्ने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर भुषण मिश्रको सुझाव छ।