काठमाडौं । बडादसैँ अन्तरगत आज महाअष्टमी पर्व विभिन्न शक्तिपीठमा पशुबली दिएर मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।
बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।
महाअष्टमीको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ।
‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो’, गौतमले जानकारी दिए ।
ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले जानकारी दिए।
दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा। गौतमले बताए।
‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ।
यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो। आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ।
ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने धार्मिक मान्यता रहेको छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ ।