धनगढी । सुदूरपश्चिमका तराईका जिल्लामा ६ वर्ष यताकै सबैभन्दा बढी जाडो मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया (कैलाली)ले शनिबार सन् २०१३ पछिकै बढी जाडो मापन भएको जानकारी दिएको छ।
सन् २०१३ को जनवरी १० मा ०.५ डिग्री न्युनतम तापक्रम मापन गरिएको थियो भने त्यसपछिको कम, शनिबार २.८ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया कैलालीका प्रमुख सिंगल चौधरीले बताए।
योवर्ष शुक्रबार मात्रै ६ डिग्री न्युनतम तापक्रम मापन भएको थियो। ‘एकै रातमा झण्डै चार डिग्री न्युनतम तापक्रम घट्नु भनेको अत्यधिक चिसो हुनु हो’, फिल्ड कार्यालयका प्रमुख चौधरीले भने। उनले सन् २०१३ जनवरी १० मा सबैभन्दा कम तापक्रम मापन गरिएको आधारमा अझै जाडो बढ्न सक्ने बताए।
‘सन् २०१३ जनवरी दोस्रो हप्ता तापक्रम सुन्यमा झरेको उदाहरण छ भने अझै दुई हप्तासम्म तापक्रम ओरालो लाग्न सक्छ’, उनले भने, ‘यसपाली मंसिरदेखि तापक्रम कम हुँदै गएको थियो, मौसम बदली भयो र पहाडमा फेरि हिमपात भयो भने तापक्रम अझै कम हुन सक्छ’, चौधरीले भने।
मौसम विद्ले न्युन चापीय हावा सक्रिय भए अझै तापक्रम घटनसक्ने अनुमान गरेका छन्। तराईमा शीतलहर र पहाडमा हिमपात भएपछि ओरालो लागेको तापक्रम क्रमिक रुपमा घटिरहेको छ। सुदूरपश्चिमका हिमाल भएका जिल्ला दार्चुला, बझाङ र बाजुराको ताफक्रम माइनसमा मापन भएको छ।
उच्च पहाडी क्षेत्रमा हिउँ पग्ली नसकेकाले मानिसहरू, हिउँ पगालेर पानी खान बाध्य छन् भने तराईमा चिसो शीतलहरसँगै बाक्लो हुस्सु लागेको छ।
तराईमा शीतलहरका कारण दैनिक काम गरिखाने मजदुर, मुक्तकमैयाका बस्ती, सुकुम्बासी बस्ती, जेष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन्। ‘काम नगरी खानै पुग्दैन, कठ्यांग्रिँदो जाडोमा काम गर्न गाह्रो भइसकेको छ’, निर्माण काममा लागेका मजदुर रामविलास चौधरीले भने, ‘ईँटा, फलामे छड र सिमेन्टको काम गर्नुपर्छ, चिसोले सकस भएको छ।’
धनगढी उपमहानगरपालिकाले, नगरमा दैनिक दाउरा वितरण गरेर चोकचोकमा आगो बालिरहेको जनाएको छ।
‘हामीले एक हप्तादेखि दैनिक मुख्यमुख्य चोक गरी उपमहानगरपालिकाका २५ स्थानमा दाउरा बालेका छौं, यसले केही राहत भएको छ’, धनगढी उपमहानगरपालिकाका सामाजिक सुरक्षा इकाई प्रमुख टंकबहादुर विष्टले भने।
जाडो अत्यधिक बढेपछि, सशस्त्र प्रहरी पनि दाउरा वितरण गर्न परिचालित भएको छ। सशस्त्र प्रहरीको नम्बर ३४ गण हेडक्वार्टर धनगढीले जिल्ला भरिका आफ्ना पोष्ट भएका स्थानमा दाउरा वितरण गरेको जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिम्सिनाले डिभिजन बन कार्यालय कैलाली र स्थानीय सामुदायिक बनसंग समन्वय गरी धनगढी उप–महानगरपालिकाका विभिन्न वडा, पुर्नवास, डोकेबजार, टीकापुर नगरपालिका, चिसापानी चोक, लम्किचुहा नगरपालिका, बल्चौर चोक, गोदावरी नगरपालिको अत्तरिया चोक लगायतका स्थानमा आगो बालेको बताए। nnapurnapost.com बाट साभार