काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन 'अनन्त'ले माओवादी १० वर्षे जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्नन भएको बताएका छन् । उनले राजनीतिक परिवर्तनका लागि जनयुद्धको भूमिका नबिर्सन आग्रह गरे ।
शहिद वेपत्ता योद्धा सन्तती फाउण्डेसनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको बताए ।
ऊर्जामन्त्री पुनले भने, ‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने ? ’,
फाउण्डेशनको प्रथम साधारणसभालाई नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उदघाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे ।
मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताए । उनले आफुहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिए ।
आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गर्ने बताएका छन् ।nagarikkhabar.com बाट