डोटी । डोटी जिल्लामा सेती र कर्णाली नदीमा डुबेर चार महिनामा आठ जनाको मृत्यु भएको छ । ०७६ बैशाख देखी भाद्र १ गतेसम्म सेती नदीमा ७ जना र कर्णाली नदीमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
आईतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको ज्यान गएंगै मृत्यु हुनेको संख्या आठ पुगेको हो । दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो ।
मामाको घर गएकी करिश्मा आइतवार बिहान करीव १० वजे सेतीमा डुवेकी हुन् । उनको शव वडेको ठाउँको करीव एक किलोमिटर तल मटेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । बैशाख यता सेती नदीले सात जनाको ज्यान लिएको छ ।
गत जेठ ३ गते डोटी के आई सिंह गाउँपालिका–५ का ३८ बर्षीय लोकेन्द्र वहादुर रावल सेती नदीमा डुवेर मृत्यु भयो । शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक स्थल सालमूनिमा पुजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको थियो । यस्तै शिखर नगरपालिका–४ कि १६ बर्षीया धर्मा महरा जेठ ५ गते सेती नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भईन ।
फुपुको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ सेती नदीमा वेपत्ता भएकी थिईन । प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन । यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ बर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुवेर वेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुवेर वेपत्ता भएका थिए । उनको शव १३ दिनपछि फेला परेको थियो ।
आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ बर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा डुविन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिईन् । उनको शव फेला परेको छैन । शिखर नगरपालिका–१० का अन्दाजी पाँच बर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुवे ।
उनको शव सोही करीव तीन किलोमिटर तल सोही नगरपालिकाको, वडा नं. ८ लडागडा क्षेत्रमा फेला प¥यो । आदर्श गाउँपालिका–४ का ५२ बर्षीया मनि पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन । उनको शव पनि फेला परेको छैन । यस्तै कर्णाली नदीमा डुवेर एकले ज्यान गुमाएका छन् ।
डोटी बडीकेदार गाउँपालिका–५ लानाका १३ बर्षीय हर्क थापामगर सोही गाउँपालिकाको वडा नं. ३ ओखलढुङ्गा भन्ने ठाउँमा कर्णाली नदीमा बाँधेर राखेको डुङ्गासंग खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।
सेती नदीमा पानीको वहाव तेजिलो भएका कारण नुहाउन पस्दा सामान्य लापरवाहीले डुव्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी धामीले जानकारी दिए । “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो छ” सूचना अधिकारी धामीले भने ‘यसले गर्दा पनि अन्य नदीमा पौडी खेलिरहेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुव्ने गरेका छन् ।’
चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुव्ने गरेको धामीको अनुभव छ । नदीमा डुव्नेहरुमा अधिकांश नुहाउने क्रममा डुवेका छन् ।