एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणमा पछिल्लो एकहप्तामा निक्कै कमी आएको छ । तर त्यहाँ नयाँ रुपमा कोरोनाको संक्रमण देखिएकाले आम मानिस अझै त्रसित छन् । मानिसलाई मनोवैज्ञानिकरुपमा बलियो बनाउनका लागि काउन्सिलिङ दिन सुरु गरिएको छ । समस्याको रुपमा दुई महिना पहिले ठिक भएका बिरामीमा फेरि परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
चीनको वुहानका एक चिकित्सकले यस्तो खालको समस्या बढ्दै गएको बताएका छन् । त्यहाँ कोरोना भाइरसबाट निको भएका व्यक्तिमा पनि फेरि कोरोना भाइरस पोजेटिभ देखिएको छ । यी व्यक्तिमा लक्षण भने देखिएको छैन । चिकित्सकहरुले यस्तो अवस्था चीनका लागि ठूलो चुनौती बनेर अगाडि आएको बताएका छन् ।
अहिलेसम्म नयाँ बिरामीबाट संक्रमण फैलिने विषयमा अनुसन्धान चलिरहेको छ । वुहानका चिकित्सकले यस्ता व्यक्तिलाई लामो समयसम्म आइसोलेसनमा राख्न चाहिरहेका छन् । यसको उद्देश्य संक्रामक हो वा होइन भन्ने पत्ता लगाउनु रहेको चिकित्सकले बताएका छन् ।
वुहानको जिनइनताङ अस्पतालका अध्यक्ष झाङ डिङ युले रोग सार्न सक्ने वा नसक्ने कुराको पुष्टि नभएसम्म यस्ता बिरामीलाई अस्पतालमै राख्ने बताएका छन् । अहिले आम नागरिकको सुरक्षाका लागि यस्तो कदम उठाएको उनी बताउँछन् ।
झाङ डिङ युले पछिल्लो समय देखिएको कोरोना संक्रमणको यस्तो अवस्थाले आफूलाई समस्या परेको बताए । उनले जनतामा नकरात्मक प्रभाव पर्न थालेपछि काउन्सिलिङ दिन थालिएको जानकारी दिएका छन् ।
वुहानको झोगानन् अस्पतालका उपाध्यक्ष युयान युफेङ्गले रोयटर्ससँग भनेका छन्, 'जसमा ७० दिन पहिला भाइरस भएको पत्ता लागेको थियो, ती व्यक्तिको टेष्टमा अहिले पनि भाइरस पोजेटिभ देखिएको छ । हामीले सार्सका बिरामीको समस्या पनि यस्तो देखेका थिएनौँ ।' सन् २००३ को सार्स महामारीमा पनि चिनियाँ नागरिक नै धेरै संक्रमित भएका थिए ।
चीनमा कोरोना भाइरसका बिरामीलाई दुईवटा टेष्टमा नेगेटिभ नतिजा देखिएपछि घर पठाइएको थियो । तर चिकित्सकहरुले भने तीन वा चार पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि मात्र डिस्चार्ज गर्नुपर्ने तर्क राखेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी गुआवो यान होङले भेनका छन्, 'कोरोना भाइरस एक नयाँ तरिकाको भाइरस हो । यसका बारेमा अहिले अध्ययन भइरहेको छ । चिनियाँ वैज्ञानिकहरुले यो भाइरस फरक फरक तरिकाले किन देखिएको छ भन्ने कुरा अध्ययन थालेका छन् ।'