कैलाली / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम सुदूरपश्चिम ईन्चार्ज भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि बताए ।
बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् । उनले सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरेका थिए ।
पूर्व गृह मन्त्री समेत रहेका रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताए । जिम्मेवार नेता बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।
नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको बताए । ‘माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई लागिरहनु भएको छ ।’ नेता रावलले भने – ‘तराई र पहाड मिल्न दिनुहुँदैन भन्ने कुरा बाबुरामको संविधान बनाउने बेलादेखिको निरन्तरता हो, देशको प्रधानमन्त्री समेत भइसकेको मान्छेले यस्तो कुरा गर्नु सुहाउँदैन ।’
नेता रावलले भने – ‘जातीय राज्य चाहिने नै हो भने नेपालमा १ सय २४ राज्य बनाउनुपर्छ, राउटेले पनि राज्य खोज्छ ।’
स्थानिय तहमा पार्टी एकिकरण छिट्टै हुन्छ
पत्रकार सम्मेलनमा नेता रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् । उनले अब गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरण कार्यलाई तीव्रता दिइने बताए ।
केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने बताए ।
गाउँ/नगर कमिटी एकीकरण पश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए ।