अछाम । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षमा लड्ने बताउनु भएको छ ।
उपप्रमुखको जिम्मेवारी पुरा गरेको बताउँदै आफू आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदको लागी योग्य भएकोले अध्यक्ष पदमा आफ्नो दाबी रहेको जानकारी दिनुभयो । रेडियो बान्नीगढीसंग कुरा गर्दै उपाध्यक्ष रावलले भन्नुभयो, ‘पार्टीले टिकट दियो भने अध्यक्ष पदको शक्त दाबेदार चाहिँ म हो ।
उपाध्यक्ष पनि भएको, अब पार्टीले पनि अपडेट पनि गर्नुपर्छ । म अब सरकार चलाउनलाई सक्षम छु भन्ने मैले महसुस गरेको छु । मेरो अध्यक्षको दाबी हो ।’सानैउमेरमा राजनीतिमा लागेकी रावलले गाउँपालिकामा उल्लेख्य काम गरेको दाबी गर्छिन् ।
गाउँपालिकाका धेरै महिलाहरूले आफूलाई गाउँपालिका अध्यक्षमा देख्न चाहेकोले पनि आफू गाउँपालिका अध्यक्षको दाबेदार रहेको सुनाइन् । ‘जसको सवाल उसैको नेतृव हुनुपर्छ । धेरै जसो समस्या भनेको महिला बालबालिका, जेष्ठनागरिकदेखि लिएर पछाडि परेको वर्ग र सीमान्तकृत वर्गको नै हो ।
उहाँ भन्नुहुन्छ ‘त्यसैले म महिला भएको कारणले मतदाताले विश्वास गर्नुपर्छ । कार्य दक्षताको हिसाबमा पनि म काम गर्न सक्छु । त्यसैले मलाई जनताले पनि मत दिएर जिताउनुपर्छ र पार्टीले पनि विश्वास गर्नुपर्छ ।’
स्थानीय तहमा उपप्रमुखलाई न्यायिक समिति संयोजक हुने व्यवस्था छ । ‘पाँच वर्ष हामीले पालिकालाई नजिकबाट चिन्यौँ, जान्यौँ, बुझ्यौँ । अब पालिका हाँक्न हामी पनि तयार छौँ ।’ उपाध्यक्ष रावल भन्नुहुन्छ ।
अबको ५ वर्ष प्रमुख भएर चलाउने पालिकामा नेतृत्व गर्न तयार रहेको उहाँले बताउनुभयो । नेकपा माओवादीबाट चुनाव जितेकी रावलले पार्टीले टिकट दिए आफू अध्यक्षमा उठ्न तयार रहेको बताउनुभयो ।
विद्यार्थी जीवनबाटै राजनीति गर्दै आएकी रावललाई उपप्रमुख भएर काम गर्न सजिलो भएको अनुभव सुनाउनुहुन्छ । केही महिला जनप्रतिनिधिले स्थानीय स्तरमा उदाहरणीय काम गरेका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणदेखि छाउ प्रथा अन्त्य गर्न अभियानताका रूपमा अगाडी सरेका महिला जनप्रतिनिधिहरू पालिका हाँक्न सक्ने भएका छन् । देशभरका ७५३ स्थानीय तहमध्ये ७०१ ९२७७ नगर र ४२४ गाउँपालिका० मा उपप्रमुख महिला छन् ।
संविधानमा स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ । २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले अधिकांश पालिकाको प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए ।
तर अबको निर्वाचनमा महिला उपप्रमुखहरू प्रमुखको दाबेदारमा छन् । ज्ञानको अभावमा केही कार्यसम्पादनमा समस्या भए पनि उनीहरूले अहिले अनुभव बटुलिसकेका कारण नेतृत्वमा आउन सक्ने विज्ञहरू बताउँछन् ।
महिलालाई नेतृत्व तहमा ल्याउन सके पालिकामा हुने भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण हुने विश्वास लिइएको छ ।