अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भीम रावलले राष्ट्रिय हितलाई सर्बोपरी राखी हरेक नागरीक अघि बढ्नुपर्ने बताएका छन् । प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले अहिले जनातको अपार भोट पाएर नेपाल कम्युनिष्ट पार्टीले सरकार संचालन गरिरहेको भन्दै यो बेला अझै राष्ट्रिय हित मजबुद हुने गरी काम गर्नुपर्ने मा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले विगतमा नेपाली कांग्रेसले राष्ट्रियतामा आघात पर्ने थुप्रै काम गरेको बताउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्ने र यसमा आफुले आवाज उठाईरहेको बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र यसबाट पार्टी तथा सरकारका कामलाई सही ढंगले जनतासमक्ष लैजान सहयोग पुग्नेमा जोड दिए । आफु जहिले पनी राष्ट्र, संविधान, पार्टीको विधान, दस्तावेज, चुनावी घोषणापत्रमा उल्लेख प्रतिबद्धता पूरा गर्नुपर्ने पक्षमा रहेको र यही आधारमा आफ्ना धारणा राखिरहेको रावलको भनाई छ । पार्टी एकता जति ढिलो भयो त्यति नै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उनको धारणा थियो । स्थानीय तहदेखि शुसाशन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने समेत रावल बताए ।
विगत देखि नै आफुले अपरकर्णाली, पश्चिम सेती विद्युत आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको भन्दै नेकपा स्थायी कमिटि सदस्य रावलले अपरकर्णाली जलविद्युत आयोजना २/२ पटक म्याद थप्दा पनि प्रवद्र्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै पटक पटक राज्यले एउटा कम्पनीसंग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिए ।
तपाई सरकारको बिरोध मात्रै गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा नेता रावलले आफुले राष्ट्रिय हित, संविधान, कम्युनिष्ट पार्टीको मूल्य, मान्यता, सिद्धान्त तथा घोषणापत्र बिपरित हुने गरेका काममा खबरदारी गरी सचेत गराई रहने छु भने । यसो गर्नु हरेक व्यक्तिको कर्तव्य हो, रावलले बताए । हालै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा कोशी उच्च बाँधलाई अघि बढाउने भन्ने निर्णय भएको आफुले जानकारी पाएको भन्दै यसो भएमा नेपाललाई फाईदा नहुने समेत उनको ठहर छ । कांग्रेसले समेत कोशी उच्च बाँधलाई अघि नबढाएको भन्दै कम्युनिष्ट सरकारले यसो गर्नु दुर्भाग्य हुने नेता रावलको भनाई छ ।