धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारबाट जनभावना सम्बोधन गर्ने कार्य नभएको गुनासो गरेका छन् । प्रदेशसभा बैठकमा शून्य र विशेष समयमा उठाइएको मुद्दा सम्बोधन गर्ने सवालमा प्रदेश सरकार गम्भीर नदेखिएको उनीहरुले गुनासो गरेका हुन ।
आफूहरुले प्रदेशका जनताको आवाज प्रदेशसभा बैठकमा बोल्ने गरे पनि सरकारले त्यसलाई हल्का रुपमा लिएर सम्बोधन नगरेको प्रदेशसभा सदस्यहरुको आरोप छ । प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठकमा शून्य र विशेष समय लिएर सार्वजनिक महत्व, समसामयिक, विकास, जनताको अपेक्षा लगायतको बारेमा बोल्ने गरेका छन् ।
आफूहरुले जनताको आवाज प्रदेशसभा बैठकमा बोल्ने गरे पनि त्यसलाई रेकर्ड गरेर राख्ने कार्यमात्रै भइरहेको सत्तापक्ष नेकपाबाट प्रतिनिधित्व गर्नेे प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले बताइन् ।
‘कहिलेकाँही त बोल्न पनि अप्ठ्यारो लाग्छ’, उनले भनिन्–‘किनभने, हामीले बोलेको कुरा अहिलेसम्म रेकर्ड गर्ने कार्यमात्रै भएको छ । सम्बोधन गरेको पाइएको छैन ।’
प्रदेशसभा सदस्यहरुले जनताको हित, अधिकारका सवालमा विविध मुद्दा राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । यसैगरी, घटना, महिलामाथि भइरहेको हिंसा, प्राकृतिक विपद् लगायतकाबारेमा सरकारलाई अवगत गराउने गरेका छन् । तर, उठाइएको जनताको आवाज व्यर्थ हुने गरेको चौधरीको भनाइ छ । ‘वास्तवमा सरकारको काम गर्ने गति नै छैन’, उनले भनिन्–‘माननीयहरुले उठाउनु भएको कुरालाई सम्बोधन नगर्नु सरकारको कमजोरी हो ।’
प्रतिपक्षी दलहरुले प्रदेश सरकार, सरकार जस्तो पनि नरहेको जिकिर गर्दै आएका छन् । जनताप्रति सरकार जवाफदेही बन्न नसकेको प्रतिपक्षी दलहरुको आरोप छ । शून्य र विशेष समयमा प्रदेश तथा जनताको सवालमा महत्वपूर्ण कुरा उठाइने गरे पनि सरकारले मतलब नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बताए ।
‘मुख्यमन्त्रीदेखि मन्त्री कसैले पनि केही रेस्पोन्स गर्नु हुन्न’, उनले भने–‘शून्य र विशेष समयमा बोलिने कुरा के हो, त्यसमा सरकारको कुनै मतलब छैन ।’ जनताको मुद्दामा सरकार गम्भीर र संवेदनशील नरहेको खड्काले आरोप लगाए ।
प्रदेशको विकास र जनताको उन्नतिका लागि सरकार योजनाबद्ध रुपमा अगाडि बढ्नु पर्नेमा त्यस्तो हुन नसकेको प्रतिपक्षीको भनाइ छ । विधि र पद्धति अनुरुप पारदर्शी ढङ्गले सरकार चल्न जरुरी रहेको प्रदेशसभा सदस्य खड्काले सुझाव दिए । ‘अहिले बडो चिन्ताको विषय छ’, उनले अगाडि थपे–‘सरकारलाई जति सजग गराउँछौं, त्यति नै सरकारबाट गलत कार्य हुने गर्दछ ।’
तर, कतिपय प्रदेशसभा सदस्यको भनाइ भने फरक छ । शून्य र विशेष समयमा उठाइएको मुद्दा एकैचोटी समाधान हुन्छ भन्ने बुझ्न पनि नहुने र त्यस्तो खोजी गर्न पनि नहुने उनीहरुको जिकिर छ । सत्ताधारी पार्टी नेकपाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कुन्ती जोशीले शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठान गरेका मुद्दालाई प्रदेश सरकारले ढिलै भए पनि सम्बोधन गर्दै आएको बताइन् ।
‘हामीले उठाएको विषयवस्तुलाई सरकारले ढिलै भएपनि ऐन, कानून बनाएर सम्बोधन गर्दै आएको छ’, उनले भनिन्–‘कुरो राख्ने बित्तिकै झ्वाट्टै सम्बोधन होस भनेर हामीले चाहना राख्नु हुन्न ।’ नियम, कानून, कार्यविधि बनाएर सरकारले विभिन्न विषयवस्तुलाई सम्बोधन गर्दै आएको उनको तर्क छ ।
ऐनले बाधा नगर्ने मुद्दालाई सरकारले सकेसम्म छिट्टै र ऐनले बाधा भएका माग, मुद्दालाई ऐन, कानून, कार्यविधि बनाइ बाधा अड्काउ फुकाउ गरेर सरकारले सम्बोधन गर्ने गरेको जोशीले उल्लेख गरिन् ।
तर, प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेशसभा सदस्य मालामती राना थारुले बैठकको शून्य र विशेष समयमा आफूहरुले बोल्नका लागिमात्रै बोल्ने कार्य गरिरहेको उल्लेख गरिन् । ‘अहिलेसम्म न सुनुवाइ भएको छ, न त कार्यान्वयन’, उनले भनिन््–‘सुनुवाइ भए पो कार्यान्वयन हुन्थ्यो ।’
सरकार एकलौटी ढंगले बढिररहेको र जनभावनालाईसमेत कुल्चि रहेको उनको आरोप छ । अहिलेसम्म उठाइएका कुनै पनि कुरालाई सरकारले सम्बोधन नगरेको रानाले बताइन् । ‘मलाई लाग्छ सरकार जनताको समस्या नै सुन्न चाहन्न’, उनले भनिन्–‘नत्र माननीयहरुले उठाएको कुराको बारेमा मन्त्रीहरुले बोल्थे नि !’ पश्चिमटुडे बाट साभार