काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै उनले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताए ।
द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत पूर्वाधार निर्माण एवं स्तरोन्नतिपछि समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विचार थियो । गत वर्षमात्र एक हजार ६०० किमी सडक कालोपत्र र २४३ पक्की पुल निर्माण भएको प्रधानमन्त्री ओलीले सुनाए ।
नेपाली निर्माण कम्पनीले काम गर्दा ढिलाइ भएजस्तो मित्रराष्ट्रका कम्पनीले गरेका काममा नहुने उनको विश्वास छ । नेपाल पर्यटन वर्षअगावै नागढुङ्गा–कलङ्की सडक बनाइसक्न पनि प्रधानमन्त्री ओलीले सरोकार भएका निकायसँग आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशलाई सुरुङमा प्रवेश गराउनु ऐतिहासिक काम भएको उल्लेख गर्दै कहाँ कहाँ पहाड छेडेर छिटो सडक बनाउन सकिन्छ भन्ने विषयको अध्ययन भइरहेको जानकारी दिए ।
‘चित्लाङ, लामाबगर, खुर्कोटलगायत सात स्थानमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ,’ मन्त्री महासेठले भने, ‘अबको पूर्वाधार निर्माणमा सुरुङमार्गलाई प्राथमिकतामा राखिन्छ, साँढे तीन वर्ष म्याद तोकिए पनि बढीमा तीन वर्षमा बनाइसक्ने भनी निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।’
काठमाडौँ उपत्यकामा रोकिएका सडक आयोजना फागुन मसान्तअगावै सक्न सडक विभागलाई निर्देशन दिइएको उनले बताए । फागुनपछि नयाँ काठमाडौँ हुने मन्त्री महासेठको प्रतिबद्धता छ । अब समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरमा ल्याउने उनको भनाइ छ । nagarikkhabar.com बाट