डोटीको जोरायल गाउँपालिका साविकको लक्ष्मीनगर,सरस्वतीनगर, घण्टेश्वर, छतिवन, गडसेरा र निरौली गरी ६ वटा गाउँबिकास समितीहरु मिलेर बनेको गाउँपालिका हो । जोरायल गाउँपालिका अन्न र फलफुल उत्पादनका हिसावले जिल्लामा नै राम्रो गाउँपालिकाको रुपमा चिनिन्छ । जिल्ला सदरमुकाम देखि टाढा भए पनि यस गाउँपालिकाको कपिपय भु–भाग मुख्य राजमार्ग सँगै जोडिएको छ । जोरायल गाउँपालिकामा लामो समय सम्म तत्कालिन नेकपा (एमाले) को बिभिन्न पदमा रहेर काम गर्नु भएका दुर्गादत्त ओझा स्थानीय तहको निर्वाचनबाट अध्यक्ष पदमामा निर्वाचित हुनु भएको थियो । प्रस्तुत छ अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले गर्नु भएको विकास, निर्माणका गतिविधी, काम गर्ने क्रममा उहाँले भोगीरहनु भएका चुनौती र भावी योजनाका बारेमा यस ओखलन्युज डटकमका अतिथी सम्पादक डिलबहादुर सिंहले गरेको कुराकानीको सार संक्षेप ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि तपाईले दुई वर्षसम्म काम गर्दा के–के उपलब्धि भएको छ ?
म निर्वाचित भएर आईसके जोरायल गाउँपालिकामा आईसके पछि सर्व प्रथम त जनताले जनप्रतिनिधी पाएका छन् । बर्षौ सम्म जनप्रतिनिधी बिहिन भएको अवस्थामा आफ्ना समस्याहरु प्रत्यक्ष रुपमा आफ्ना प्रतिनिधीहरुलाई जनताले भन्न पाएका छन् । अहिले हामी गाउँघरमा जादा पनि संबिधान लागु भईसके पछिको स्थानीय तह र त्यो भन्दा अगाढीको स्थानीय निकायले प्रदान गर्दै आएको सेवा सुबिधालाई पनि हेर्न सक्छौं । बिशेष गरी स्वास्थ्य, खानेपानि वाटोघाटो र तथा भौतिक निर्माणका क्षेत्रमा उल्लेख्य प्रगती भएको छ । यहाँका सामाजिक सवाललाई हामिले प्रत्यक्ष रुपमा उठान गरिरहेका छौं । स्थानीय समुदायको मागको आधारमा योजना निर्माण गर्ने र लागु गर्ने काम गरिरहेका छौं । कृषिमा पकेट क्षेत्र, ब्यवसायिक पशुपालन र पर्यटन प्रबद्र्धनमा हाम्रा कृयाकलापहरु केन्द्रित भएका छन् । हामी आफै समुदायमा जादा पनि जनताले अनुभुत गरेका बिषयहरु प्रत्यक्ष हेर्न सक्छौं । समग्रमा भन्नुपर्दा आधुनिकरुपमा कृषि, पशुपालनको ब्यवसायिकरण र पर्यटन प्रबद्र्धन, नै जोरायल समृद्धीको आधार हो । यसै मुलमन्त्रमा रहेर काम भईरहेको छ ।
तपाईको चुनावी प्रतिवद्धता अनुसारका के कति योजनाहरु पूरा गर्नुभयो, क्रमागत योजना कति छन् के के हुन् ?
निर्वाचनको समयमा हामिले मतदाता सँग प्रबिद्धता गरे अनुसार नै योजना सम्पन्न गर्ने क्रममा छौं । हामिले खासगरी कृषि, पशुपालन र पर्यटनका बिषयमा बिन्नि प्रतिबद्धता ब्यक्त गरेको थियौं । बिशेष गरी गाउँकार्यपालिकाको कार्यालय रहेको स्थानलाई बिभिन्न वडाहरुलाई सडक सञ्जालमा जोड्ने कुराको प्रतिबद्धता पनि त्यो समयमा गरिएको हो । तिनै प्रबिद्धताको आधारमा हामिले काम गरिरहेका छौं । गाउँपालिका सँग बिभिन्न वडाहरु जोड्ने सडक निर्माण गरिएका छन् । वडा नं. ५ र गाउँपालिकाको कार्यालय जोड्ने सडक मात्र निर्माणाधिन छ । यस क्षेत्रका पर्यटकिय संभावना बोकेका छतिवनताल, छहरा लगायतका स्थानको प्रबद्र्धन र प्रचार प्रसार लगायतका काम भईरहेका छन् । बिपन्न, न्युन आय भएका दलित समुदायका एकसय ५० भन्दा बढी युवाहरुमा रहेको परम्परागत सिपलाई आधुनिकरण गरी ब्यवसाय तर्फ उन्मुख गराउनका लागि तालिम र मेसिन सहयोग गरिएको छ । स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउनका लागि सामुदायिक स्वास्थ्य ईकाई निर्माण गरिएका छन् । एकल महिलाहरुलाई आयआर्जनका लागि उन्नतजातका बाख्रा बितरण देखि बेरोजगार युवाहरुलाई लक्षित गरी कृषिमा अनुदानका कार्यक्रम ल्याएका छौं । जोरायल गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रमा ८२ लाखको सामाग्री खरिद गरिएका छन् । बिद्यालय नभएका गाउँमा बालबालिका केन्द्रको स्थापना गरेका छौं । शिक्षक अभाव भएका बिद्यालयहरुमा गाउँपालिकावाट शिक्षक नियुक्त गरेका छौं ।
जनप्रतिनिधिको रुपमा काम गर्दा कस्ता–कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ? त्यस्ता चुनौतिहरुलाई कसरी समाधान गरेर अगाडि बढ्दै हुनुहुन्छ ?
स्थानियतहलाई कानुन निर्माण गरेर लागु गर्नु पर्ने अधिकार संबिधानले नै दिएको छ । धेरै जसो समय हामिले कानुन, निति निर्माणमा नै ब्यस्त हुनुपर्यो । कानुन अभावमा अन्यौलताको अवस्था जस्तै रह्यो । कतिपय कानुनहरु प्रदेश र संघले निर्माण नगरे सम्म हामिले निर्माण गर्न नमिल्ने भएका कारण पनि समस्या रह्यो । अर्को चुनौति भनेको कर्मचारी अभाव हो । हामि आफैले कर्मचारी नियुक्त गर्न नमिल्ने संघ, प्रदेशमा पटक पटक कर्मचारीको माग गर्दा पनि नआउने गरेका कारण प्रभावकारी रुपमा कामकाज गर्न सकिएन । हाम्रो आफ्नै कार्यालय भवनका छैन । भौतिक संरचनाको पनि अभाव छ । तर पनि नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय , प्रदेश सरकार संघको समन्वयमा काम भईरहेको छ । स्थानीयतहलाई सिंहदरवार भन्ने तर अधिकार दिन कन्जुस्याई भईरहेका कारणले समस्या आएको हो ।
विकास भनेको बाटोघाटो, पुलपुलेसा बनाउनेमात्रै हो भन्ने जस्तो गरेर जनप्रतिनिधिले काम गरेको देखिन्छ, तपाईको गाउँपालिकाले बाटोघाटोमात्रै बनाइरहेको छ, कि सामाजिक विकासलाई पनि ध्यान दिएको छ ?
सडक भनेको भनेको बिकासको मेरुदण्ड हो । पहाडी क्षेत्रमा त झनै यसको महत्व छ । बाटोघाटोका अभावमा अन्य बिकास निर्माणका काम पनि प्रभावित भएका छन् । सहज सडक सञ्जाल संग बिकट बस्तीहरु नजोडिए सम्म जनताले पनि प्रत्यक्ष बिकासको अनुभुति गर्न पाउदैनन् । हुन त स्थानीय तहले डोजर आतंक गर्यो भन्ने पनि भनाई छ तर जे सुकै भए पनि बाटोघाटो, खानेपानि सिचाई, भौतिक निर्माण हाम्रा प्राथमिकतामा छन् । जनताको पहिलो माग पनि बाटो नै हुने गरेको छ । बाटोघाटो निर्माण प्राथमिकतामा छ भन्दैमा हामि यसैमा सिमित छैनौं समग्र समुदायको क्षमता बिकास, सिप बिकास, पछाडी पारिएका बर्गलाई मुलधारमा ल्याउने कुरा होस् की धार्मिक, पर्यटनको बिकास होस् सबै क्षेत्रमा बिकास भईरहेको छ । जनचेतना मुलक कार्यक्रम, शुसासनका बिषयमा पनि बिभिन्न कृयाकलापहरु सञ्चालन भईरहेका छन् ।
गुणस्तरी शिक्षा र स्वास्थ्य प्रदान गर्नका लागि के कस्ता कामहरु भइरहेका छन् ?
शिक्षामा पनि बिभिन्न काम भईरहेका छन् । हामिले गरिरहेको काम भनेको कम्तिमा पनि एउटा वडामा एउटा नमुना बिद्यालय बनाउने अभियानमा छौं । यसको लागि हामिले भौतिक निर्माण, शिक्षकको क्षमता बिकास गरी बालबालिकाहरुलाई मन्टेश्वरी बिधिवाट अध्यायन गराईने ब्यवस्थाको शुरुवात गरेका छौं । कतिपय बिद्यालयमा हामिले प्राबिधिक बिषयको अध्यायन भईरहेको छ । जोरायलमा रहेको क्याम्पसको शैक्षिक अवस्था सुधारको लागि पनि काम भईरहेको छ । स्वास्थ्यका बिषयमा कुरा गर्दा बिभिन्न जनचेतना मुलक कार्यक्रम, सरस्वतीनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सुधार लगायत गर्भवती महिलाले घरमै सुत्केरी हुन नपरोस भनेर बिभिन्न वडाका बिभिन्न स्थानमा बर्थिङ सेन्टर निर्माण गरेका छौं ।
तपाईको गाउँपालिकावाट कामका लागि धेरै जसो युवाहरु भारत लगायतका तेस्रो मुलुकमा गएर जोखिमयुक्त काम गर्न बाध्य छन् । रोजगारी सृजना कृषि, उद्योग धन्दा विकासको लागि गाउँपालिकाले कस्ता खाले नीति अबलम्बन गरेर काम गरिरहेको छ ?
कामका लागि भारत लगायत तेस्रो मुलुक जाने परम्परा सुदूरपश्चिम प्रदेशका सबै जसो स्थानीयतहहरुमा छ । हामिले युवाहरुलाई स्थानीय स्तरमा नै स्वरोजगार बनाउनका लागि अध्यक्ष कृषि कार्यक्रम ल्याएका छौं, यस बाहेक पनि एक गाउँ एक बिशेष उत्पादन लगायतका कामका लागि लागिरहेका छौं । यस क्षेत्रमा उत्पादन हुने जोरायलको बास्मती चालम प्रख्यात छ, बास्मती चामल प्रबद्र्धनका लागि गाउँपालिवाट अनुदानका कृयाकलापहरु सञ्चालनमा छन् । सुखी नेपालीको नारा मात्रै दिएर हुदैन प्रदेश र संघिय सरकारवाट पनि युवालाई स्वरोजगार बनाउने किसिमका कामहरु हुनु पर्यो । प्रदेशवाट पनि भौतिक निर्माणका योजनाहरु मात्र आउने गरेका छन् । प्रदेश र संघवाट पनि यस क्षेत्रको कृषि, पर्यटन, पशुपालन, युवा स्वरोजगारका कृयाकलापहरु सञ्चालन गरेर अरव र ईन्डिया मा गएर जोखिम युक्त काम गर्ने युवाहरुलाई रोक्ने निति आउनु पर्यो । स्थानीयतह, प्रदेश र संघले यस बिषयमा गर्ने कामको योजना नै बनाएर लाग्नु पर्ने देखिन्छ ।
जोरायल क्षेत्र कृषि फलफुल उत्पादनका लागि जिल्लामा नै चिनिएको क्षेत्र हो तर यस क्षेत्रको उत्पादनवाट कृषकहरुले फाईदा लिईरहेको देखिदैन यो बिषयमा तपाईले के गरिरहनु भएको छ ।
गाउँपालिका स्तरमा परम्परागत कृषि प्रणालिलाई आधुनिक र ब्यवसायिककरण तर्फ लैजानको लागि हामिले बिभिन्न कृयाकलापहरु सञ्चालन गरिरहेका छौं । बिशेष गरि सम्बन्धीत क्षेत्रको उत्पादनलाई मध्यनजर गर्दै पकेट क्षेत्रको रुपमा बिकास गरिरहेका छौं । जस्तो की गाउँपालिकाको वडा नंं १ र २ लाई तरकारी पकेट क्षेत्र वडा नं.३ र ४ लाई बास्मती पकेट क्षेत्र, वडा नं. ५ र ६ ट्राउट माछा, बाख्रा र महको पकेट क्षेत्रको रुपमा बिकास गरिरहेका छौं । यस क्षेत्रमा उत्पादन हुने सबै जसो कृषि उत्पादनको ब्यवसायिकरणका लागि योजनाबद्ध तरिकाले काम गरिरहेका छौं ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । तपाईको गाउँपालिका धेरै पर्यटकीय महत्वका क्षेत्रहरु रहेका छन् । पर्यटन प्रबद्र्धनमा के कस्ता कृयाकलापहरु गरिरहनु भएको छ ?
नेपाल सरकारले भब्य रुपमा मनाउन गईरहेको भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जोरायल गाउँपालिकाले पनि बिभिन्न कृयाकलापहरु सञ्चालनमा ल्याएको छ । जोरायल क्षेत्रमा पर्ने छहारा झरना, छतिवन ताल, भिमदत्त पन्त काटिएको स्थान सम्म पुग्ने बाटो निर्माण, पाँच पाण्डवहरु बनवास गएको समयमा बास बसेको स्थान, महाभारत लेकको प्रचार प्रसार प्रबद्र्धन गर्ने कार्य गरिरहेका छौं । यस क्षेत्रमा मनाईने बिभिन्न जाड पर्व मेलालाई प्रबद्र्धन गर्ने किसिमका काम गरिरहेका छौं ।
काम गर्ने सन्दर्भमा प्रदेश सरकारसंग के कति समन्वय भइरहेको छ ?
समन्वय त ठिकै छ । हामि तल बस्ने मान्छेले माग्ने कुरा हो । बिशेष गरी गाउँसभाले प्राथमिकतामा राखेका योजना भन्दा फरक योजनाहरु गाउँपालिकामा आईरहेका छन् । अव हामिले प्राथमिकता राखेका योजनाहरुलाई प्रदेश र संघले ध्यान दिनु पर्छ भन्ने कुरा राखेका छौं । यस क्षेत्रमा युवा रोजगारी, कृषि उत्पादनको बिकास, शिक्षा स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने किसिमका काम प्रदेश सरकारले गर्नु पर्दछ भनेर माग हाम्रो हो । अर्को कुरा कतिपय बिषयमा प्रदेश सरकारले कानुन निर्माण अझै नगरिसकेका कारण हामिलाई पनि कानुन निर्माणमा समस्या भईरहेको छ । संघ र प्रदेश भन्दा स्थानीयत तहको खर्च प्रतिशत बढी छ । संघ र प्रदेशको खर्च प्रतिशत बढाउनका लागि पनि स्थानीय तहले प्रभावकारी रुपमा समन्वय गर्नु पर्ने देखिन्छ ।