मंसिर १४ गते हुने उपनिर्वाचनमा १६ वटा दल थपिएका छन् । आयोगका अनुसार प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय तहमा कूल १०१ दलले भाग लिँदैछन् । प्रतिनिधि सभा र प्रदेश सभामा ९५ दलले र स्थानीय तहमा ७८ वटा दल चुनावी मैदानमा छन् । ती मध्ये १६ वटा नयाँ दल छन् । जसमा एकीकरण भएर आएका ठूला पार्टीदेखि नामै नसुनेका पार्टीहरु समेत छन् ।
नयाँ दलमा रुपमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) छ । जुन तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको दल हो । नयाँ शक्ति र संघीय समाजवादी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ पार्टीका रुपमा आयोगमा दर्ता भएको छ । विवेकशील साझा विवेकशील फुटेर बनेको साझा पार्टीले पनि उपनिर्वाचनमा भाग लिँदैछ ।
अन्यमा सबै नयाँ पार्टी छन् । जसमा, सीके राउत नेतृत्वको जनमत पार्टीदेखि आमूल परिवर्तन मसिहा पार्टी सम्मका छन् ।
विखण्डनवादी समूहको नेतृत्व गर्दै मुलधारको राजनीतिमा आएका डा. राउत नेतृत्वको जनमत पार्टीले पहिलो पटक चुनावमा भाग लिन लागेको हो ।
मधेसलाई छुट्टै राज्य बनाउने भन्दै विखण्डनवादी विचार बोकेर हिडेको राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन नामक संगठनले गत फागुन २४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी पृथकतावादी आन्दोलन परित्याग गरेको घोषणा गरेको थियो ।
निर्वाचन आयोगमा जनमत पार्टी १२४ औं नम्बरमा दर्ता छ । मूल धारको राजनीतिमा आएपछि पहिलो पटक चुनावमा भाग लिन लागेको जनमत पार्टीले दुई नम्बर प्रदेशलाई नै आफ्नो मुख्य थलोका रुपमा लिएको छ । ‘दुई नम्बर प्रदेशका सात वटा जिल्लामा हुने सबै पदको चुनावका लागि उम्मेदवारी दिन्छौं’ पार्टीका केन्द्रीय सदस्य चन्दन शाहले अनलाइनखबरसँग भने ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) नेपाल लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (वी.पी) इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नयाँ दलका रुपमा आयोगमा दर्ता भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोपाल किरातीको नेतृत्वमा छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द र एमालेबीच एकीकरण भएपछि प्रचण्ड नेतृत्वको पार्टीमै रहेका किरातीले पुरानै नामबाट नयाँ दल दर्ता गरेका हुन् ।