नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले निर्माण भएका योजना दिगो हुनुपर्ने बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवरा चौतारामा रहेको भेरीखोला खानेपानी योजना उद्घाटन कार्यक्रममा बोल्दै राजदूत आन्तिनेनले भने, ‘तपाईं–हामी मिलेर धेरै योजना निर्माण गरेका छौँ । यसको निरन्तरता र दिगोपन होस् भन्ने हामी चाहन्छौँ ।’ उनले यस्तै योजनाको दिगोपनाका लागि स्थानीय तहले काम गर्ने अपेक्षा आफूले लिएको बताए ।
नेपाल र फिनल्यान्ड सरकारको ४० वर्ष पुरानो सम्बन्ध सुमधुर रहेको राजदूत आन्तिनेनले बताए । उनले थपे, ‘नेपालमा फिनल्याण्ड सरकारको सहयोगमा धेरै योजना सञ्चालन भएका छन् । फेरि पनि हुनेछन्, नेपाल संघीयतामा गएपछि अब सोही मोडेलअनुसारको योजना निर्माणमा हामी केन्द्रित छौँ ।’
खानेपानीका क्षेत्रमा फिनल्यान्ड सरकारले नेपाल सरकारलाई ठूलो सहयोग गर्र्दै आएको छ । दुवै राष्ट्रको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नेपालमा सञ्चालन गरिएको छ । भेरीखोला खानेपानी योजनाको कार्य राम्रोसँग सम्पन्न भएकोमा राजदूत आन्तिनेनले खुसी व्यक्त गरे ।
डोटी जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र सायल गाउँपालिकामा खानेपानी तथा सरसफाइका क्षेत्रमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत काम भइरहेको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहकार्यमा बनेका योजना गुणस्तरीयका साथै मजबुत बनेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
एक करोड ४६ लाख ५६ हजार तीन सय ७६ रुपैयाँको लागतमा बनेको उक्त योजनाबाट एक सय ८६ घरधुरीका एक हजार एक सय ६६ जना लाभान्वित भएको गाउँपालिका जलस्रोत अधिकृत सुनील विश्वकर्माले बताए ।
गाउँपालिका अध्यक्ष गडसिलाले बोगटान फुडसिल गाउँपालिकाका अन्य स्थानमा पनि खानेपानीको समस्या रहेको बताउँदै केही नीति परिर्वतन गरेर पनि सहयोगका लागि अनुरोध गरेका छन् ।
पाँच गाउँका एक सय ८६ घरधुरीमा ९७ धारा निर्माण भएर घर–घरमा पानी पुगेपछि स्थानीय हर्षित भएको वडा अध्यक्ष देवहादुर बमले बताए । १३ वर्षदेखि यस गाउँपालिकामा साबिकको एक गाविसबाट सुरु भएको योजना अहिले गाउँपालिकाभरि सञ्चालन गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका डेपुटी टिम लिडर नारायण वाग्लेले बताए ।
गाउँ पुग्दा राजदूत खुसी
नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेन डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुग्ने पहिलो विदेशी राजदूत बनेका छन् । आन्तिनेनलाई गाउँपालिकाले पञ्चेबाजा बजाएर, गेट निर्माण गरी फूलमालाले स्वागत गरेको थियो । भव्य स्वागत र खानेपानीको स्तरीय काम भएको देखेपछि राजदूत आन्तिनेन निकै हर्षित भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला संयोजक गणेश उपाध्यायले बताए । नया पत्रिका बाट साभार