जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ ।निगमले गत भदौदेखि मंसिरको अन्तिमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड ३ लाख रुपैयाँ गुमाएको हो । कार्यकारी अध्यक्षका रूपमा निगम भित्रिनेबित्तिकै खरेलले व्यावसायिक योजनाविनै नारिताको सट्टा ओसाका उडान गर्ने गर्ने निर्णय गरेका थिए ।
वाइडबडी जहाज खरिद गर्दा निगमले बनाएको व्यावसायिक योजनामा नारिता उडान गर्ने उल्लेख थियो । तर, विगतमा नेपाल एयरलाइन्सले उडान गरेको इतिहास हुनुबाहेक कुनै पनि हिसाबले ओसाका उडान उपयुक्त थिएन । तर, सञ्चालक समितिमा समेत यो विषय नलगी एकल रूपमा ओसाका उडान सुरु गराएका थिए ।
नारिता विमानस्थलमा उडान गर्न अरूले कुर्छन्, निगमद्वारा पाइसकेको अनुमति रोक्न पत्राचार
संसारको व्यस्तमध्येको एक जापानको नारिता विमानस्थलमा उडान गर्न अन्य वायुसेवा कम्पनीले लामो समय कुर्ने हुन्छ । नेपाल एयरलाइन्सले पनि अनुमति मागेको करिब डेढ वर्षपछि मात्र अनुमति प्राप्त गरेको थियो । तर, नारिता उडान गर्ने विषयमा जापानसँग अन्तिम सम्झौता गर्न नेपाली टोली जापान जाने भनेर तय गरिएको मितिभन्दा दुई दिनअगाडि २९ भदौ ०७५ मा निगमका अध्यक्ष बनेका खरेलले तत्कालै त्यहाँको उडानसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिदिएका थिए ।
त्यति मात्रै होइन, उनले नारिता उडान गर्ने आफ्नो कुनै योजना नरहेको भन्दै गत माघको अन्तिम साता जापानको सिभिल एभिएसन ब्युरोलाई पत्राचार गरे । त्यसपछि खरेलले ओसाका उडानको प्रक्रिया थाले, जहाँ धेरै नेपाली बस्दैनन् र पर्यटक पनि त्यति आउँदैनन् । त्यहीँबाट १२ भदौ ०७६ देखि उडान थालेका हुन् । सबैभन्दा धेरै नेपाली टोकियो र त्यसआसपास बस्छन् । नेपाल आउने जापानी पर्यटकहरू पनि धेरैजसो टोकियो क्षेत्रबाटै आउँछन् । त्यसैले पहिले नारिता विमानस्थल रोजिएको थियो ।
सबै सिट बिक्री गर्दा पनि ३ करोड मात्र आम्दानी हुने
काठमाडौं–ओसाका उडानमा ५ सय ४८ सिट उपयोग हुँदा दुईतर्फी उडानमा ३ करोड १ लाख रुपैयाँ आम्दनी हुने थियो । निगमले उडान सुरु गरेको समयमा सातामा तीन उडान सुरु गरे पनि घाटा बढ्दै गएपछि हाल सातामा दुई उडान मात्रै गर्ने गरेको छ । हाल निगमको ओसाका उडानमा ४५ प्रतिशत मात्रै अकुपेन्सी छ । nayapatrikadaily.com बाट
निगमले भदौ १२ देखि उडान सुरु गरेको ओसाकामा भदौ महिनामा ७ वटा दुईतर्फी उडान गरेको थियो । त्यस्तै गरी आसोजमा १०, कात्तिकमा ६ र मंसिरमा ९ उडान गरेको थियो । दसैँ र तिहारमा केही अकुपेन्सी बढेको थियो । सो समयमा निगमका अध्यक्ष मदन खरेलले पत्रकार सम्मेलन गरेर ‘ब्रेक इभेन’मा (न नाफा र घाटाको स्थिति) जान लागेको बताएका थिए । तर, त्यो एक महिना पनि टिक्न सकेन ।
भदौमा १८ प्रतिशत, असोजमा ५७ प्रतिशत, कात्तिकमा ५७ प्रतिशत र मंसिरमा पुनः घटेर ४५ प्रतिशतमा अकुपेन्सी झरेको छ । ‘पुसको तथ्यांक नआए पनि अकुपेन्सी ४० प्रतिशत मात्रै होला,’ निगम स्रोतले भन्यो, ‘ओसाका उडान बन्द गर्नुको विकल्प छैन ।’
सञ्चालक समितिबाट स्पष्टीकरण, प्रधानमन्त्रीसमेत असन्तुष्ट
ओसाका उडान किन गरेको भन्दै सञ्चालक समितिको बैठकले गत साता कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरणसमेत सोधेको थियो । पर्यटनमन्त्री योगेश भट्टराईले मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नारिताको सट्टा किन ओसाका उडान गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए । तर, खरेलले गत महिना पत्रकार सम्मेलन गरेर ओसाका उडानमा घाटा रकम घट्दै गएको दाबी गरेका थिए ।
निगमले हाल काठमाडौं–ओसाकाको दुईतर्फी भाडा ५५ हजार रुपैयाँ तोकेको छ । निगमले २ सय ७४ सिट क्षमताको एयरबस ३३० मार्फत उडान गरिरहेको छ । दुईतर्फी सिट ५ सय ४८ रहेको भए पनि खर्च मात्रै उठाउनका लागि दुईतर्फ ३ सय ३ सिट अकुपेन्सी हुनुपर्नेछ ।
निगमको अर्थ विभागले उपलब्ध गराएको विवरणअनुसार जापानको ओसाका दुईतर्फी उडानमा निगमले औसत २ सय ४७ सिट मात्रै बेच्न सकेको उल्लेख छ, जसबाट औसत १ करोड ३५ लाख ८५ हजार रुपैयाँ आम्दानी हुन्छ । तर, दुईतर्फी ओसाका उडानको खर्च १ करोढ ६६ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं–ओसाकामा दुईतर्फी उडान गर्दा ९७ टन तेल खर्च हुन्छ, यसको लागत १ करोड ७ लाख २५ हजार रुपैयाँ छ । ल्यान्डिङ, ग्राउन्ड ह्यान्डलिङ, चालक दलका सदस्यलाई हुने खर्च ५० लाखभन्दा बढी पुग्छ । त्यस्तै, एक चालक दलको ४ दिनको होटेलको खर्च ५ लाख ६० हजार हुन्छ । खाना खर्च ४ लाख रुपैयाँभन्दा बढी पर्छ । यस हिसाबले एउटा उडानको खर्च १ करोड ६६ लाख रुपैयाँ पुग्छ ।
‘नयाँ गन्तव्यमा उडान गर्दा सुरुमा घाटा हुनु स्वाभाविक हो, यो संसारभर सबै एयरलाइन्समा हुन्छ, ओसाकामा पनि भएको हो । तर, बाहिर हल्ला गरिएजस्तो ठूलो घाटा छैन,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने । नयाँ गन्तव्यका रूपमा निगमले जापानको नारिता र चीनको ग्वान्जाओ उडान गर्न लागेको पनि प्रवक्ता चन्दले बताए ।
ओसाका नेपालको धनगढीजस्तै हो भने नारिता काठमाडौंजस्तै
सुगतरत्न कंसाकार,पूर्वमहाप्रबन्धक नेपाल वायुसेवा निगम
आर्थिक र प्राविधिक हिसाबले निगमलाई जापानको ओसाकाभन्दा नारिता उडान गर्दा फाइदा हुने देखियो । त्यसैका आधारमा ओसाका उडान गर्ने निर्णय गरिएको थियो । ओसाका नेपालको धनगढीजस्तै हो, नारिता काठमाडौंजस्तो हो । त्यसकारण दुई गन्तव्यको तुलना नै हँुदैन । जापानमा ५६ हजार मात्रै नेपाली रहेका छन् । त्यसो हुँदा हामीले जापानी पर्यटक ल्याउने गरी जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेर जानुपर्ने हो । त्यहीअनुसार जिएसएको प्रक्रियासमेत सुरु गरेका थियौँ । तर, पछि सबै प्रक्रिया रद्द गरियो । जिएसएसँग समूह–समूहका पर्यटक ल्याउने गरी सम्झौता गरेर जानुपर्छ । ओसाका घाटामा जानुको कारण जिएसए पनि हो ।
ओसाका बन्द गरी नारिता सुरु गर्ने
ओसाका उडान थालेको ६ महिना ननाघ्दै र नारिताको उडान खारेज गरेको एक वर्षपछि फेरि खरेलले नारिता उडाउने योजना बनाएका छन् । स्रोतअनुसार ओसाका उडान बन्द गरी फागुन १९ देखि नारिता उडान थालिनेछ । ‘निगम व्यवस्थापनले औपचारिक घोषणा नगरे तापनि मार्चका लागि ओसाका उडान तालिका पठाएको छैन,’ स्रोतले भन्यो । तीन महिनाअगाडि नै तालिका पठाउनुपर्ने प्रावधान छ । निगमले नारिता उडानको तालिका भने अप्रेसन विभागलाई पठाएको छ । ‘अब नारिता र ग्वान्जाओ पनि उडान गर्ने तयारी रहेकाले जहाज नपुगेको अवस्थामा मात्रै ओसाका उडान रोक्न सकिनेछ,’ प्रवक्ता चन्दले भने ।
निगमले सन् १९९४ देखि सन् २००७ सम्म साताको दुई दिन जापानको ओसाका उडान गरेको थियो । निगमले त्यसवेला काठमाडौंबाट सांघाई हुँदै ओसाका उडान गथ्र्यो । विगतमा निगमले बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत (हाल ग्राउन्डेड) ओसाका उडान गरेको थियो ।